site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
हिउँदको दोस्रो वर्षा : सोमबार र मंगलबार यी स्थानमा पर्नेछ पानी
फाइल तस्बिर ।

काठमाडौं । यो वर्षको हिउँदको दोस्रो वर्षा आउँदो सोमबार र मंगलबार हुने सम्भावना छ । सोमबार राति र मंगलबार देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावले देशको पश्चिम भूभागमा सोमबार दिउँसोदेखि बदली (आकाशमा बादल) हुने महाशाखाका मौसमविद् शान्ति कँडेलले बताइन् । “सोमबार दिउँसोदेखि नै बादल र सोमबार राति र मंगलबार वर्षा र हिमपातको सम्भावना छ,” उनले बाह्रखरीसित भनिन् ।

उनका अनुसार, सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना छ । यी प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा हिमपातको पनि सम्भावना छ ।

“वर्षा भनेर त्यस्तो ठूलो होइन, हल्का वर्षाको सम्भावना छ,” उनले भनिन्, “हिमपात भने हल्कदेखि मध्यमसम्मको सम्भावना छ ।”

यी चार प्रदेशका पनि सबै ठाउँमा पानी नपर्ने उनले स्पष्ट पारिन् । केही स्थानमा मात्र वर्षाको सम्भावना रहेको उनले बताइन् ।

“त्यहाँ (पश्चिम भूभाग) जमिन भिज्ने पानी पर्ने सम्भावना छ,” उनले भनिन्, “हिलो भयो भन्ने खालको वर्षाचाहिँ हुन्छ ।”

बदली, वर्षा र हिमपातसँगै चिसो बढ्ने भएकाले स्वास्थ्य सतर्कता अपनाउनुपर्नेमा उनले जोड दिइन् । “घाम लाग्दैन, चिसो बढ्छ,” उनले भनिन् ।

उक्त अवधिमा वाग्मती प्रदेशका पनि केही स्थानमा वर्षा र हिमपातको सम्भावना छ । तर, पश्चिम भूभागमा जस्तो यहाँ वर्षाको धेरै सम्भावना नदेखिएको उनले जानकारी दिइन् ।

उनका अनुसार, आउँदो मंगलबार काठमाडौंमा छिटपुट वर्षाको सम्भावना छ । “काठमाडौंमा मंगलबार फाटफुट पानी पर्ने सम्भावना छ,” उनले भनिन्, “यहाँ जमिन भिज्ने गरी पर्दैन । अस्तिको जस्तो (मंसिर २३ र २४ गते हिउँदको पहिलो वर्षा) नै हुने सम्भावना छ ।”

तत्कालको अवस्थाबाट हेर्दा उक्त अवधिमा मधेस र कोसी प्रदेशमा वर्षाको सम्भावना छैन । तर, यो समग्र पूर्वानुमान हरेक दिन अध्यावधिक गर्ने गरिएको उनले बताइन् ।

पश्चिमी वायुका कारण विकसित वर्षा गराउने यो प्रणाली मंगलबारसम्म रहने सम्भावना छ । मंगलबार रातिदेखि त्यसको प्रभाव नरहने र क्रमिक रूपमा मौसम सफा हुने मौसमविद् कँडेलले जानकारी दिइन् ।

त्यसपछि फेरि वर्षा गराउने अर्को प्रणाली भित्रने सम्भावना छ ? भन्ने प्रश्नमा उनले भनिन्, “प्रणाली आउने जाने भइरहनेजस्तो सम्भावना छ । यसबारे हरेक दिन जानकारी लिइराख्दा राम्रो हुन्छ ।”

अरू केही मौसमविद्ले पनि सोमबार राति र मंगलबार वर्षाको सम्भावना औँल्याएका छन् ।

गएको मंसिर २३ र २४ गते देशका केही स्थानमा यो वर्षको हिउँदको पहिलो वर्षा भएको थियो । त्यति बेला काठमाडौंमा छिटपुटसहित पश्चिम नेपालमा हल्कादेखि मध्यमसम्म वर्षा भएको थियो ।

प्रकाशित मिति: शनिबार, पुस ६, २०८१  १९:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro