महोत्तरी । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले प्रदेश नं. २ नेपाली कांग्रेसको भोट बैंक रहेको बताएका छन् ।
जिल्लाको बर्दिवासस्थित नेपाली कांग्रेस पार्टी कार्यालयले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसले सधैँ प्रदेश नं. २ मा बढी सिट ल्याएर चुनाव जित्दै आएकाले यो प्रदेश भोट बैंकको रुपमा रहेको बताए ।
महामन्त्री कोइरालाले २ नं प्रदेशबाहेक अन्य प्रदेशमा भएको स्थानीय तहको निर्वाचनमा अन्तर्घातका कारण कांग्रेस पछि परेको तर्क गरे ।
उनले सबै वर्ग जाति र समुदायका साथै आन्दोलनरत पक्षका संविधान संशोधनलगायतका माग कांग्रेसले नै पूरा गर्ने भएकाले यस प्रदेशमा स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा आफ्नो दललाई पूर्ण बहुमतका साथ जिताउन आग्रह गरे ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्ने १५० जनालाई स्वागत गरिएको थियो । रासस