काठमाडौं । भारतले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको १० लाख डोज खोप आज नेपाल आइपुगेको छ । एअर इन्डियाको विमानमार्फत आज खोप नेपाल आइपुगेको हो । कोभिसिल्ड खोप भारतको सिरम इन्स्टिच्युट अफ इन्डयाको उत्पादन हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एअर इन्डियाको विमानबाट कोरोनाविरुद्धको पहिलो खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाललाई हस्तान्तरण गरिएको हो ।
प्राप्त खोप टेकुस्थित स्वास्थ्य सेवा विभागमा भण्डारण गरिनेछ । स्वास्थ्य सेवा विभागबाट प्रत्येक प्रदेशको भण्डारण केन्द्रमा खोप पठाइनेछ ।
भारतमा ३ हजार जनामा गरिएको अन्तिम चरणको परीक्षणमा यो खोप ९० प्रतिशत प्रभावकारी देखिएको थियो । डिसेम्बरको दोस्रो सातासम्म सिरमले ५ करोड डोज कोभिसिल्ड खोप उत्पादन गरिसकेको छ ।
कोभिसिल्ड भारत, बेलायत, अर्जेन्टिनालगायत देशमा वितरण भइरहेको छ भने बंगलादेश, माल्दिभ्स, भुटानलगायत मुलुकमा भारतले अनुदानमा उपलब्ध गराउँदैछ ।
खोपको साइड इफेक्टस्वरूप १० जनामध्ये एक जनामा जीउ भारी हुने, हल्का टाउको दुख्ने, बान्ता हुने, रुघा लागेकोजस्तो हुनेजस्ता लक्षण देखिनसक्छ । त्यस्तै एक सयमध्ये एक जनामा भने पसिना आउने, रिंगटा लागेज्स्तो हुने र छालामा बिमिरा आउनेजस्ता समस्या देखिनसक्ने उत्पादक सिरम कम्पनीले जनाएको छ ।
सिरमले भारत सरकारलाई १० करोड डोज खोप २०० रुपैयाँ प्रतिडोज उपलब्ध गराउने प्रतवद्दता गरेको छ भने त्यसपछिको उत्पादन १ हजार प्रतिडोज बजारमा बिक्री गर्ने जनाएको छ ।
चार हप्ताको फरकमा दुईपटक लगाउनु पर्ने यो खोप नेपालमा भने पहिलोपटक आज ल्याउन लागिएको हो ।