
विराटनगर । विराटनगरको अवधनारायण मेमोरियल क्लिनिक तोडफोड भएको छ । लापरबाहीका कारण बिरामीको मृत्यु भएको आरोप लगाउँदै आफन्तले क्लिनिक तोडफोड गरेका हुन् ।
मोरङको बेलबारी नगरपालिका ८ की ३२ वर्षीया सजना राईको उपचारका क्रममा लापरबाही भई मृत्युको भन्दै आफन्तले क्लिनिक तोडफोड गरेका हुन् । उनको पित्तथैलीमा बसेको पत्थरीको शल्यक्रिया गरिएको थियो । राईको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार मृत्यु भएको हो । तर, आफन्तले भने अवधनारायण क्लिनिकमा भर्ना गराई अप्रेसन गर्दा लापरबाहीले मृत्यु भएको आरोप लगाएका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी लोकदर्शन थापाले घटनामा संलग्न भएका तीन जनलाई नियन्त्रणमा लिइएको बताएका छन् ।
प्रहरीका अनुसार राईलाई गत पुस २८ गते विराटनगर ७ स्थित अवधनारायण मेमोरियल क्लिनिकमा भर्ना गरिएको थियो । त्यही दिन अप्रेसन भएको थियो । तर, अक्सिजनसहितको आईसीयू आवश्यक भएपछि २९ गते धरान रेफर गरिएको थियो । बुबा होमबहादुर राईले लापरबाहीकै कारण छोरीको मृत्यु भएकाले शव नबुझ्ने बताएका छन् ।
