काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरीको मोटरसाइकल चलाएको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोटको तादी गाउँपालिका वडा नम्बर–६ का २८ वर्षीय अनिल तामाङ रहेका छन् । सादा पोसाकमा खटिएको ट्राफिक प्रहरीको टोलीले शुक्रबार बालाजु, बाइसधारास्थित सडकखन्डबाट उनलाई नियन्त्रणमा लिएको हो ।
वास्तविक नम्बर प्लेट परिवर्तन गरी मोटरसाइकल चलाइरहेको अवस्थामा मोटरसाइकलसहित पक्राउ गरेको ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।
काठमाडौंको रामकोटस्थित सडकखन्डबाट बा६३प २६६ नम्बरको रातो रङको पल्सर मोटरसाइकल हराएको भनी महाशाखामा निवेदन परेको थियो ।
पक्राउ परेका तामाङलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी वृत्त स्वयम्भू पठाइएको महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए ।
प्रतीकात्मक तस्बिर ।