
काठमाडौं । व्यवसायी दुर्गा प्रसाईँले मार्सी बियर ल्याउन लागेका छन् । टाइगर ब्रुअरीको निश्चित सेयर लिएर उनले मार्सी ब्रान्डको बियर बजारमा ल्याउन लागेको जनाएका छन् ।
बाह्रखरीसँग कुरा गर्दै उनले भने, “टाइगर ब्रुअरी हामीले किनेका हौं, अब दसैं तिहारपछि मार्सी ब्रान्डको बियर बजारमा ल्याउँछौं । वार्षिक १० अर्बरुपैयाँ राज्यलाई कर तिर्ने योजना पनि बनाएको छु । मैले दुईजना अध्यक्षलाई घरमा बोलाएर मार्सी चामलको खाना खुवाएपछि मलाई धेरैले जिस्क्याए, उडाए त्यसैले पनि मलाई यसमा लगानी गर्न उत्साही बनायो ।”
उनले भने, “अहिले ६ अर्बरुपैयाँ लगानी गर्ने तयारी हुँदैछ । आगोले पोलेको घाउ निको बनाउन आगोले नै सेक्नुपर्ने रहेछ भनेर मार्सी बियर बजारमा ल्याउन लागेको हुँ ।” टाइगर ब्रुअरीका तेजेन्द्र खड्काले पनि प्रसाइँ र आफु सँगै अघि बढ्न खोजेको बताए । “हो, उहाँले हाम्रो कम्पनीमा लगानी गर्नुभएको छ, हामी सँगसँगै अघि बढ्छौं,” उनले भने ।