site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
मेरा विरुद्ध घटिया प्रचार भयो 
Sarbottam CementSarbottam Cement

इटहरी भत्किन नसकेको एमालेको किल्ला हो । संविधानसभाको पहिलो निर्वाचनमा समेत तत्कालीन माओवादीले जित्न नसकेको सुनसरी क्षेत्र नम्बर दुईमा पर्ने इटहरी उपमहानगरपालिका छोटो समयमा पूर्वको व्यापारिक केन्द्रका रूपमा विकास हुँदै गरेको शहर हो । इटहरी उपमहानगरपालिकामा यो पटक पनि विगतमा झैं दलहरूले आआफ्नै जितको दाबी गर्दै आएका छन् । आफ्नो जित सुनिश्चित रहेको बताउने एमालेले स्थानीय द्वारिकलाल चौधरीलाई नगरप्रमुख (मेयर) पदमा उठाएको छ । चौधरीसँग उनका चुनावी एजेन्डा तथा इटहरीका समस्या र भविष्यका बारेमा बाह्रखरीका लागि नरेश फुयाँल नवराज विष्टले गरेको कुराकानीः 

चुनावी प्रचारका क्रममा जनताको कस्तो उत्साह पाउनुभयो ? 
हामी उमेदवारभन्दा पनि मतदाता उत्साही भएको पाएको छु । 

एमालेप्रति जनताको उत्साह कस्तो छ मतदातामा ?
अभूतपूर्व । 

यहाँका मुख्य चुनावी एजेण्डा के छन् ? 
घोषणापत्रमार्फत हामीले एजेण्डा सार्वजनिक गरेका छौं । पार्टी जिल्ला कमिटीमार्फत जिल्ला र नगरका लागि स्थानीय नगरबाट प्रतिबद्धतापत्र सार्वजनिक गरेका छौं । यो चुनावमा एमालेलाई नै किन मत हाल्ने भनेर केन्द्रीय घोषणापत्र छ । यसले राष्ट्रिय राजनीतिलाई पनि सम्बोधन गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

एमालेले केन्द्रमा राष्ट्रियता र राष्ट्रवादको मुद्दालाई अगाडि सारेको छ । स्थानीय तहको यो निर्वाचनमा पनि एमालेका उमेदवारले यसलाई प्राथमिकतामा राखेको पाइयो । स्थानीयस्तरमा त दैनिक जनजीविकाका विषयले प्राथमिकता पाउनुपर्ने थियो नि, हैन र ?
राष्ट्रियता भनेको कुनै दल र नेता विशेषको मात्रै सरोकारको विषय होइन । कुनै एक व्यक्ति वा पार्टीले केन्द्रमा यसको वकालत गरेर मात्रै हाम्रो राष्ट्रियता र राष्ट्रवादको संरक्षण तथा संवर्धन हुँदैन । प्रत्येक नेपाली राष्ट्रियता, अखण्डता, एकता र सार्वभौमिकताप्रति सचेत हुनपर्छ । त्यसका लागि हामीले आम जनतालाई सुसूचित गराउनु पर्छ । यो गौण विषय होइन । त्यसैले यो विषयलाई अगाडि बढाउनु स्वाभाविकै हो । 

इटहरी उपमहानगरपालिकाका मुख्य समस्या केके हुन् ? 
२० वर्षदेखि यसले जनप्रतिनिधि पाएको छैन । कर्मचारीले चलाए । सीमा जोडिएका हासपोसा, खनार, एकम्बा र पकली जोडेर उपमहानगरमा मिसाइयो । तर त्यहाँका जनताले उपमहानगरवासीले पाउने सुविधा पाएका छैनन् । बाटो हिलो छ, पुल कल्भर्ट छैन । ग्रावेल सडकलाई कालोपत्रे गर्नुपर्नेछ । शिक्षाको अवस्था राम्रो छैन । दुई पटक हासपोसाको दुई कार्यकालको अध्यक्ष हुँ म । गाउँको छोरो हुँ । शिशमहलमा बस्ने मान्छे होइन । मोही किसानको छोरो हुँ म । त्यस कारण दूरदराजका समस्या मलाई थाहा छ । साबिकका गाउँमा कलेज छैनन् । इटहरीमा जनता कलेजमात्रै छ । मेडिकल, इन्जिनियरिंगको पढाइ हुँदैन । अस्पताल छैनन् । त्यसैले धेरै काम गर्नुपर्छ । भूगोलका हिसाबले यो जति वृहत् छ त्यति नै काम पनि धेरै गर्नुपर्छ । 

Global Ime bank

एजेण्डाका हिसाबमा कसलाई आफ्नो मुख्य प्रतिस्पर्धी ठान्नुहुन्छ ?
कागजमा सुन्दर एजेण्डा त अरूले पनि ल्याउन सक्लान् । मैले अरूको घोषणापत्र हेरेको छैन । तर, उहाँहरूले कतै बोलेको सुनेको छु । स्वाभाविक रूपमा बहुदलीय व्यवस्थामा आफ्नो विचार राख्न पाइन्छ । यो लोकतन्त्रको सुन्दर पक्ष पनि हो । हामी यसलाई स्वागत पनि गर्छौं तर त्यसो भइरहेको छैन । हाम्रा विरुद्ध अत्यन्तै घटिया प्रचार गरिरहेका छन् । 

घटिया प्रचार भनेको कस्तो ?
एमालेलाई हिजो मधेसविरोधी, महिलाविरोधी, दलितविरोधी भनेर भन्थे । आज एमालेलाई रातारात यो पहाडेविरोधी बाहुनविरोधी भनिरहेका छन् । यसरी तल्लोस्तरको घटिया प्रचार गरिएको छ । 

किन गरियो त यस्तो प्रचार, कारण के हो ? 
म नेकपा एमालेका तर्फबाट जिल्ला कमिटी अध्यक्ष हुँ । म यहाँको आदिवासी जनजाति, थारू मोही किसानको छोरो उमेदवार छु । त्यसैले मलाई लक्षित गरेर घटिया प्रचार गर्ने काम भइरहेको छ । 
हामीमा कुनै जाति, सम्प्रदाय र धर्मप्रति पूर्वाग्रह छैन । रिसइबी साँध्नु छैन । नेपाल बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधता भएको देश हो । म तराई मधेसमा जन्मिएँ । म मोही किसान भएर गरिबका रूपमा जन्मिएँ । कोही गरिब परिवारमा जन्मियो भने त्यो के उसको दोष हो र ? 

इटहरीमा एमालेले आफ्नो प्रतिस्पर्धी कसलाई देखेको छ ?
मतका हिसाबले हिजो पनि कांग्रेसले प्रतिस्पर्धा गरेको हो । अहिले पनि हाम्रो प्रतिस्पर्धा नेपाली कांग्रेससँगै हुन्छ । 

एमालेले इटहरी उपमहानगरमा चुनाव जित्ने आधार केके हुन् ?
दोस्रो संविधानसभा निर्वाचनमा रामधुनीका केही वडाबाहेक यो २ नम्बर क्षेत्रमा बस्ने इटहरीका जनताले दिएको मत पाएर एमालेका रेवतीरमण भण्डारीले भारी मतान्तरले जित्नु भएको हो । यो पुरानो जनमत होइन । यहाँ हाम्रो संगठन राम्रो छ । हाम्रा नेता कार्यकर्ताको सामाजिक संघसंस्थामा राम्रो सहभागिता छ, जनताको काम गरेका छन् । म यहीँको रैथाने हुँ । २० वर्षदेखि म जिल्ला कमिटीको सदस्य, सचिव र उपाध्यक्ष हुँदै अध्यक्ष छु । म यहाँको संगठक पनि हो । मलाई यहाँको प्रत्येक भूगोल थाहा छ । यहाँका प्रत्येक गाउँबस्तीमा मैले हिँडेका पाइलाका डोब अझै देख्न सकिन्छ । 
मैले नेतृत्व गरेको हासपोसा त्यस्तो गाउँ हो जहाँ पहिलोपटक गाउँको सडक कालोपत्रे भएको थियो । अहिले इटहरीको चोकभन्दा कम छैनन्, हासपोसका प्रत्येक गल्ली । त्यो मेरो नेतृत्वमा भएको हो । यहाँको ढुंगामाटोसँग म परिचित छु । 

चार वर्षअगाडिकै जनमत कायम छ भन्न कसरी सकिन्छ र ? यो त स्थानीय निकायको निर्वाचन हो नि, पार्टीभन्दा व्यक्ति, भूगोल हेरिन्छ, हैन ?
व्यक्ति हेरियो भने पनि अरू उमेदवार मभन्दा के हिसाबले अब्बल छन् र ? म के हिसाबले कमजोर छु र ? मैले एउटा नारा पनि सुनेको थिएँ । हाम्रालाई भन्दा राम्रालाई रोजौं । अनि म के हिसाबले नराम्रो छु ? भन्नुपर्यो नि । 

पूर्वाञ्चलका सबै मेयरको साझा मुद्दा बनेको छ, आफ्नो जिल्लामा प्रादेशिक राजधानी बनाउने । इटहरीमा के कारण प्रादेशिक राजधानी बनाउन सकिने अवस्था छ ? 
राजनीतिमा यस्ता कुराहरू हुन्छन् । हाम्रो पार्टीको एक नम्बर प्रदेश संगठनको प्रथम बैठक धनकुटाको पाख्रिबासमा थियो । धनकुटाका साथीहरूले पनि यो प्रदेशको राजधानी धनकुटा बनाउन लबिंग गरेका हुन् । मोरंगले विराटनगरका लागि लबिंग गर्यो । मेरो नेतृत्वमा हामीले इटहरी लबिंग गर्यौ । हामी सफल भयौं यसका लागि । इटहरीमा राख्नुपर्छ भन्नेमा । यसको पनि सिम्बोलिक अर्थ छ । यसका लागि भौतिक पूर्वाधार निर्माणमा जोड दिनुपर्छ । छोटो समयमा इटहरीको जुन हिसाबले विकास भइरहेको छ, यो हेर्दा छोटो समयमा हामी प्रादेशिक राजधानीका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न सक्छौं । 

स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधार राम्रो छैन भनेर तपार्इँ आफैं भनिरहनु भएको छ । अनि कसरी धान्न सक्छ इटहरीले प्रदेशको राजधानी ? 
रोम शहर एकै दिनमा बनेको हो ?  भियाना शहर एक रातमा बनेको हो ? वासिंगटन डिसी रातारात बनेको हो ? क्वालालम्पुर रातारात बनेको हो ? हैन । समय लाग्छ । यसका लागि हामी प्रयत्नशील छौं । 

यहाँलाई नै किन मतदान गर्ने ? 
इटहरी विशाल सम्भावना बोकेको उपमहानगरपालिको हो । उत्तरमा चारकोसे झाडी छ । यहाँबाट विभिन्न नदीनाला बग्छन् जसले यहाँको भूमिलाई सिञ्चित गरेका छन् । इटहरी उदीयमान शहर हो । त्यसैले हामी इटहरी मन्थन गर्छौं । इटहरी मन्थन गर्दा विष निस्कियो भने हामी निर्वाचित जनप्रतिनिधिले पिउँछौं, अमृत निस्कियो भने जनतालाई बाँड्छौं । त्यसैले म इटहरीवासीलाई भन्छु, सच्चा सेवकका रूपमा सेवा गर्ने मौका दिनुस् । 

तपार्इँ निर्वाचित हुनुभयो भने ५ वर्षपछिको इटहरी कस्तो हुनेछ ?
तपार्इँ कुनै देश घुम्न जानुभयो भने तपार्इँलाई कुनै विदेशीेले ह्वेर आर यु फ्रम भनेर सोध्छन् । तपाईँले आइ एम फ्रम इटहरी भन्नु हुनेछ । त्यो विदेशीले कस्तो छ इटहरी भनेर प्रश्न गर्दा त्यो बेला तपार्इँले आफूसँग भएको ल्यापटप खोलेर देखाउनुहुनेछ– सुन्दर, सभ्य, समृद्ध र मनमोहक इटहरी । त्यो देखेर ती मान्छेले तपार्इँलाई ‘ओहो, तपाईँ त्यस्तो शहर बासिन्दा ?’ भनेर स्यालुट हान्नेछन् । म इटहरीका बासिन्दालाई विश्वले स्यालुट हान्ने बनाउन लागिपर्छु । 

तराई केन्द्रित दल राजपाले चुनाव बहिष्कार गर्नुलाई तपार्इँ के भन्नुहुन्छ ? यसको असर सुनसरीमा पर्छ कि पर्दैन ? 
यहाँ राजपा छँदै छैन । जो छँदै छैन, त्यसको के अर्थ हुन्छ ? म नोमिनेसनमा आएको बेला मेरो घरमा कोही थिएन । मान्छे कोही नभएको बेला कालो झण्डा गाडेर गएछन् । कोही नभएको बेला गाडेको झण्डाको के अर्थ हुन्छ । कुनै प्रभाव पर्दैन । राजपाका कार्यकर्ताले नै स्वतन्त्रबाट उमेदवारी दिएका छन् । सर्वेन्द्रनाथ शुक्लाको निर्वाचन क्षेत्रमा थुप्रै राजपाका कार्यकर्ताले उमेदवारी दिएका छन् । त्यसकारण यो तथाकथित आफूलाई मधेसको मसिहा भन्ने राजपा पार्टीका नेताहरूको यो अनावश्यक जिद्दीमात्रै हो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ९, २०७४  १२:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement