काठमाडौं । उपत्यका नगरपालिका मेयर फोरमले उपत्यका प्रवेश गर्ने नाकाहरुमा कडाइ गर्न सरकारलाई आग्रह गरेको छ ।
काठमाडौं उपत्यकामा संक्रमणको दर बढिरहेको उल्लेख गर्दै फोरमले नाकामा कडाइ गर्न सरकारलाई आग्रह गरेको हो । कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) का संयोजकसमेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई भेटेर फोरमले नाकामा कडाइ गर्न, अनाधिकृत रुपमा प्रवेश गर्ने र गराउनेलाई कारबाही गर्न आग्रह गरेको हो ।
फोरमका अध्यक्षसमेत रहनु भएका काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले लकडाउन खुकुलो भएपछि संक्रमितको संख्या बढिरहेको उल्लेख गर्दै चाहिनेभन्दा बढी मान्छेहरु भित्रिएकाले विगतमा जस्तै नाकाहरुमा कडाइ गर्नुपर्ने बताए । फोरमले ज्येष्ठ नागरिकहरुको सामाजिक सुरक्षा भत्ताका लागि नयाँ नाम दर्ता र नवीकरण गर्ने मिति साउन मसान्तसम्म रहेकामा त्यसलाई बढाउन पनि आग्रह गरिएको उनले बताए ।
मध्यपुर ठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले तेस्रो मुलुकबाट आउनेहरुका लागि संघीय सरकारले एकीकृत रुपमा क्वारेन्टिन व्यवस्थापन गर्नुपर्ने बताए । समुदायस्तरमा कोरोना फैलिएकोले जात्रा पर्वहरु स्थगित गरिएजस्तै सरकारको पक्ष वा विपक्षमा हुने जुलुस, अनशनजस्ता कुराहरु प्रतिवन्ध गर्नुपर्ने माग गरिएको उनले बताए । मास्क नलगाउनेलाई कारबाही गर्नुपर्ने, पीसीआर परीक्षणको सट्टा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको क्षमता अभिवृद्धिमा खर्च गर्ने र गुणस्तरीय क्वारेन्टिन व्यवथापनका लागि ध्यान दिनुपर्ने सुझाव सीसीएमसीलाई दिइएको उनले बताए ।
फोरमले सार्वजनिक यातायात निषेध गरी निजी सवारीसाधनमा जोर-बिजोर प्रणाली लागु गर्न पनि सरकारलाई आग्रह गरेको छ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पोखरेलले फोरमले दिएका सुझावलाई सीसीएमसीमा निर्णय गरी अगाडि बढाउने प्रतिबद्धता जनाए ।
सरकारले लकडाउन खुकुलो गरेपछि अहिले उपत्यका भित्रिनेको संख्या बढिरहेको छ । पछिल्लो केही दिनयता उपत्यकामा संक्रमितको संख्या पनि बढिरहेको छ । स्थानीय तहको अनुमतिविना उपत्यका प्रवेश निषेध गरिए पनि नागरिकहरु लुकिछिपी उपत्यका भित्रिरहेका छन् ।