काठमाडौं । रौतहटकी नेतृ तथा प्रतिनिधिसभाको विकास तथा प्रविधि समिति सभापति कल्याणी खड्काले भारतबाट नेपाल प्रवेश गर्ने नाकामै कोरोनाको पीसीआर परिक्षण गर्न माग गरेकी छन् ।
प्रतिनिधिसभा बैठकको शून्य समयमा सभापति खड्काले प्रदेश २ मा कोरोना संक्रमणले भयावह रुप लिएको र त्यसलाई रोक्न सीमामै पीसीआर परीक्षण गरी क्वारेन्टाइनमा राख्ने र संक्रमितलाई आइसोलेसनमा पठाउनुपर्नेमा माग गरेकी हुन् ।
उनले सबैभन्दा धेरै २१५ जनामा कोरोना संक्रमण देखिएको रौतहटलाई उच्च प्राथमिकतामा राख्दै तत्कालै पीसीआर परीक्षण तथा उपचारको प्रबन्ध मिलाउन पनि माग गरिन् ।
सभापति खड्काले प्रदेश २ मा यतिबेला २० हजारभन्दा बढी नागरिक क्वारेन्टाइनमा छन् भने ४७१ जनामा कोरोना संक्रमण देखिइसकेको समेत बताएकी थिइन् ।