मकवानपुर । जिल्ला अदालत मकवानपुरले हेटौँडाका तेस्रोलिङ्गी अजिता भुजेलको हत्या गरेको आरोपमा पाँच जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
उक्त अदालतले अजिताको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका हेटौँडा–४ बस्ने २४ वर्षीय आशिष बल, हेटौँडा–१४ बस्ने २१ वर्षीय हम्चर भन्ने बुद्ध लामा, हेटौँडा–९ बस्ने १८ वर्षीय भापु भन्ने सिमोन परियार र हेटौँडा–४ का घनटाउके भनिने सुशील थापामगर र सोनम गोलेलाई पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको हो ।
आज जिल्ला न्यायाधीश कमलराज विष्टको एकल इजलाशलले उक्त आदेश दिएको हो । गत माघ ४ गते बिहान हेटौँडा–५ क्याम्पाडाँडामा भुजेलको शव फेला परेको थियो । मृत फेला पर्नुभएकी भुजेललाई रकम लेनदेनको विवादको कारण आरोपीतले तारले घाँटी च्यापेर हत्या गरेको प्रहरीसँग साविती बयान दिएका थिए ।
यसैगरी जिल्ला अदालतले हेटौँडा–११ बस्ने २१ वर्षीया एलिशा पाख्रिनलाई हत्याको आरोपमा रु एक लाख धरौटीमा लिई रिहा गर्न आदेश दिएको थियो । तर एलिशाले तत्काल रु एक लाख धरौटी बुझाउन नसकेपछि उनलाई चितवन जिल्ला कारागारमा थुनामा राख्न चलान गरिएको जिल्ला अदालतका श्रेष्तेदार केशवराज कौशिकले बताए । - रासस