
काठमाडौं । यस साता ७ अर्ब ३९ करोड रुपैयाँको सेयर कारोबार भयो । यो गत साताको तुलनामा १२.९७ प्रतिशतले बढी हो । गत साता ६ अर्ब ५४ करोडको सेयर खरिद बिक्री भएको थियो । यस साता १ सय ८३ कम्पनीको २१ लाख कित्ता सेयर कारोबार भए ।
गत बिहीबारको तुलनामा सेयर बजार परिसूचक नेप्से ८ अंकले बढ्यो भने आइतबारको तुलनामा भने करिब १३ अंकले झर्यो ।
यस साता नेपाल इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी सेयर कारोबार भयो । यो कम्पनीको २७ करोड ३१ लाख रुपैयाँको सेयर खरिद बिक्री भए । कारोबार रकमका आधारमा नेपाल इन्स्योरेन्स कम्पनीलाई नेको इन्स्योरेन्स कम्पनी, सूर्यलाइफ इन्स्योरेन्स कम्पनी र गरिमा विकास बैंकले क्रमशः पच्छ्याए ।
कारोबार रकमको आधारमा उच्च १० स्थानमा पर्ने अन्य कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स, प्रभु बैंक, सिभिल बैंक, गुँरास लाइफ इन्स्योरेन्स, एनआईसी एसिया बैंक र ग्लोबल आइएमई बैंक रहे ।
यस साता प्रभु बैंक, गरिमा विकास बैंक, सानिमा बैंक र आशा लघुवित्त वित्तीय संस्थाको वोनस सेयर सूचीकृत भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
पुँजी बजारमा लगानीकर्ताको कुल सम्पत्ति बढेर १७ खर्ब १ अर्ब पुग्यो । बजारको पुँजीकरण गत साता १६ खर्ब ९० अर्ब थियो ।