धेरै वर्षसम्म मलाई लागिरह्यो राजनीतिसँग म सम्बन्धै राख्दिन । राजनीति गर्नु त परको कुरा राजनीतिसम्बन्धी कुरा पनि सुन्न चाहन्न । किनभने त्यो फोहोरी चिज हो । "अलि अलि पढेलेखेकाले राजनीतिको कुरो नगरेर हुन्छ?" भन्दा म भन्थेँ - "हामी गएर राजनीति गर्ने होइन, यो हाम्रो बसको कुरो पनि होइन । अनि बेकारमा किन टाउको दुखाउने ? हाम्रो कोठे गफको के काम?" अिहले आएर मेरो यो विचारलाई नया कोणबाट हेर्दा लाग्दैछ मजस्ताहरू नजिकैको फोहोरको थुप्रोलाई औंला ठड्याएर आफू चाहिँ राम्रो/चोखो हुन चाहँदा रहेछौँ ।
करिब तीन दशकअगाडि हाम्रा नेपालको ग्रामीण भेगमा गाउँ नजिक पुगेपछि आची गनाउँथ्यो । बाटो फोहोर हुन्थ्यो । घरमा माखा निकै लाग्थे । सानोमा घरमा माखा मार्न बिख प्रयोग भएको सम्झना छ। माखाको बिख पानीमा घोलेर थालमा राखेपछि थालभरि मरेका माखा हुन्थे । तर, दिनदिनै जति मरे पनि माखा कम हुन्थेनन् । लाग्थ्यो जति मर्थे तेस्कै हाराहारीमा थपिन्थे । चर्पीको चलन थिएन । कि बारीको कुनामा, कि खोलाको आसपासमा, कि त बाटो नजिकै दिसा जाने चलन थियो । घर र आँगन त बढारकुढार गरेर सफा राख्ने चलन थियो तर घर नजिकैको बाटो फोहोर हुन्थ्यो । घर त आफ्नै भयो सफा गर्नै पर्यो तर बाटो त सबैको भयो । त्यो सफा गर्नुपर्छ भन्ने चेतना थिएन । पछि विकासको लहर आयो । सायद, झाडा पखालाबारे अध्ययन भए होलान् । अनि केही गाउँमा बोराले बारेर शौचालय बनाउन सुरुभयो । ती सफा भए । तिनको वरपर दुर्गन्ध भएन । अनि ती गाउँकाले अरू गाउँका मान्छेलाई फोहोरी भन्न थाले । आफूलाई हेपेपछि अरू गाउँकाले पनि चर्पी बनाउने अनि बाटो र घर सफा राख्न थाले । मेरो अनुभवमा, आफू बस्ने ठाउँ नै फोहोर भएपछि आफूमात्रै एक्लै सफा भन्न मिल्दैन रहेछ । हामी केही पढेलेखेकाहरूको समस्या पनि मलाई ढिलो गरी थाहा भयो । हामी फोहोर ‘सिस्टम’भित्र बस्छौँ तर फेरी आफूलाई चाहिँ सफा ठान्ने गर्छौं । सम्पत्तिले पुग्ने नेपाली बिरलै होलान् । सम्पत्तिको साथै प्रतिष्ठा पनि चाहन्छ मान्छे । दिनरात अनेक तिकडम गरेर सम्पत्ति जोडेर लाखौं तिरेर सन्ततिलाई डाक्टर बनाउन चाहन्छन् नेपालमा । इज्जत पनि भएका डाक्टर गोविन्द केसीलाई के नपुगेको थियो होला र दसौं पटक अनशन बस्नु परेको ? अनशन बस्नु कुनै पर्दाका कलाकारको कलावाजी त हैन नि ! मान्छेलाई एक छाक भोकै बस्नुपर्दा कत्रो तनाव हुन्छ ? एक रात अनिदो बस्दा कुन हालत हुन्छ ? दस दसपटक अनशन बसेर डाक्टर गोविन्द केसीले आफ्नै डिन वा उपकुलपति पाउने हुन् र ? उनको यो अनशन न आफू सत्तामा जानलाई हो न आफ्ना नातेदारलाई मन्त्री वा हाकिम बनाउन नै हो । देशमा व्याप्त प्रदूषित प्रणालीलाई सफा गर्न उनले पटकपटक आफ्नो भोक, तीर्खा, थकाइ, निन्द्रा, आराम सबैलाई सहेर प्राणकै आहुति दिनसमेत अग्रसर भइरहेका छन्। अनि हामी भन्छौँ यो मेरो सरोकारको कुरो होइन । म आफ्नो काम गर्छु, आफ्नो बाटो हिड्छु । हाम्रो चेतनाको यस स्तरमा परिवर्तन आएन र हामीले यो मौका त्यसै गुम्न दियौँ भने यो कुप्रणालीको सिकार हामी पनि अवश्य नै हुनेछौं । यस्तै अवस्था रहे अस्पतालमा ज्यान बचाउने डाक्टरको साटो डाक्टरको भेषमा ज्ञान र सीप नभएका विष दिने क्वक भेटिनेछन् । त्यतिखेर धेरै ढिलो भइसेको हुनेछ । दुर्भाग्य, यस्तो गम्भीर भविष्य सामुन्ने हुँदा पनि हामीलाई त्यसको पर्बाह छैन । हाम्रो ध्यान अर्कैतिर मोडिएको छ । प्रदेशको सीमांकनको बहसको आफ्नै गाम्भीर्य होला तर अहिले तत्काल जागरुक हुनुपर्ने विषय त डाक्टर केसीको जीवन थियो नि ! धेरैलाई परेको छ - डाक्टर केसीका माग तिनको व्यक्तिगत हठका उपज हुन्। तर, उनको हठभित्रको अभिप्राय हेर्दा हामी कति प्रदूषित प्रणालीभित्र रुमल्लिरहेका छौं भन्ने स्पष्ट हुन्छ । डाक्टर केसीको अहिलेको एउटा माग थियो वरिष्ठताका आधारमा नभएको डिनको बर्खास्ती । यो त उनीसँग पहिले गरिएको सम्झौताअनुसार थियो । पहिले उनलाई सम्झौता गराएर झुक्याइयो । सम्झौता कार्यान्वयन हुनुको सट्टा विभिन्न चलखेल गरेर बेथिति कायम राखियो । पछिल्लो समयमा भएको डिनको नियुक्ति पनि त्यसैको निरन्तरता थियो । उनको आन्दोलन अहिले पनि सम्झौतामा टुंगियो । विश्वविध्यालयमा राजनीतिक दलको भागबन्डामा नियुक्ति हुँदो रैछ । अनि हामी आफूलाई बुद्धिजीवी भनेर चोखो सम्झने ? हाम्रो त थाप्लोमै राजनीतिको बोझ छ । हामी यो फोहोरले कति रंगिएका छौं भने हामीलाई सफा भनेको नै थाहा छैन । आफ्नो काम बने भयो । कुनै टंटा गनुभन्दा आफ्नो काम गर्ने, हिँड्ने अनि हामी एकदम असल नागरिक भएको ढोँग गर्ने । लफडामा किन पर्ने आजसम्म चलेकै छ, सबैलाई भाकै छ । बरु दुई चार हजार तिरेर फोटो कापी थेसिस बुझाएर चांडो डिग्री लिने, समयमै ‘करियर’ बनाउने । शिक्षामा र शिक्षित भनाउँदामा यस्तो छ भने कसरी आउँछ नयाँ विचार? नयाँ ऊर्जा र परिवर्तन ?
हामीलाई यो प्रदूषित प्रणालीले अचेत बनाएको छ ।