मोवाइलमा एसपिएनक्रिकइन्फो एप्सबाट नेपाल र क्यानडाबीच भएको आईसीसी डिभिजन दुईको खेल हेर्दै थिएँ । करिब एक साता अघिको त्यो महाभीडन्त, पीडा हर्षको आँधीबेहरी ल्याउने भिडन्त ! नेपाल र क्यानडाबीचको खेलको नतिजा आउनुभन्दा केही मिनेटको क्षण पीडादायी थियो । प्रायः खेल मनोरञ्जन तथा आनन्दको लागि हेरिने गरिन्छ तर यो ठीक विपरीत थियो ।
विन्डहक स्थित वान्डरस क्रिकेट मैदानमा क्यानडाका सुरुआती ब्याट्सम्यान श्रीमान्थाको शतकीय पारीसँगै नेपालले १९५ रनको लक्ष्य पाएको थियो । नेपालको ब्याटिङको अवस्था हर्र्दा यो लक्ष्य पछ्रयाउन नेपाललाई हम्मेहम्मे पर्ने देखिन्थ्यो । साथै, नेपाली क्रिकेटले विश्व परिवेशमा पाएको उपमा ‘अविश्वसनीय टिम’ले साकाररूप भने आशा जागेको थियो । सुरुबाटै खराब खेलेको नेपालको पहिलो विकेटको रूपमा उपकप्तान ज्ञानेन्द्र मल्ललाई सस्तैमा गुमाएसँगै भिरबाट ढुँगा खसेझैँ लगातार विकेट झर्दै थियो । भिरबाट खसेको ढुँगाले खोचमा निकालेको डरलाग्दो आवाजभन्दा कैयौं गुणा बढी कर्कश आवाज बुधवारको त्यो साँझ सुनेजस्तो लाग्थ्यो । फलस्वरूप, एकै क्षण पनि अत्यासबाट उम्किन सकिएको थिएन ।
नेपाली टिमको अन्तिम विकेटको रूपमा करण र सन्दीप थिए । सायद, त्यो ४९ ओभर मलगायत कैयौं नेपाली क्रिकेट प्रेमीका लागि अविस्मरणीय हुनेछ । अन्तिम ओभरमा नेपाललाई ८ रन आवश्यक हुदाँ सेसिल परवेजको सुरुआती ४ बलमा करणले कुनै रन जोड्न नसक्दा पूर्णरूपमा स्तब्ध हुदै पराजय स्वीकार गर्ने मानसिकता बन्दै भएको अनुभव गरेको थिएँ । खेलको हरहिसाबबाहेक अन्य कुरामा पटक्कै ध्यान गएको थिएन । क्याल्कुलेटरमा हिसाब गर्न त नेपालको नवौं विकेटको रूपमा वसन्त रेग्मी पेबलियन फर्कदाबाटै छोडेको थिएँ । परियोजनाका कामले झोलाको कापकापबाट हेरिरहेका थिए । बोलाइरहेका थिए । मेरा कान भने अरू केही सुन्नसक्ने स्थितिमै थिएनन् । म क्रिकेटको नसाबाट अझ भनौँ त्यो पीडादायी रोमाञ्चक खेलबाट निस्कने अवस्थामै थिइन ।
त्यसै बेला, भैरहवाबाट एकजना भाइको फोन आयो । छिटो तर छोटो बोल्ने मन बनाएर फोन उठाएँ । भाइले भने, “दाई, यहाँ नेट स्लो भयो । नेपालको गेम अपडेट नै भएन । नेपालले जित्यो कि हार्यो ? यतिमात्रै बताइदिनु ।” मैले भाइलाई फ्याट्टै एकै सासमा भने, “जित्यो, जित्यो ।” त्यतिबेला करण केसीले परवेजको पाचौँ बलमा छक्का कभरको दिशामा प्रहार गरेका थिए । अनि के चाहियो, एकाएक जितका खुसी तिनलाई सम्हाल्न संसारमा कसैको तागतले नसक्नेजस्तै गरेर उम्लिए । नामिवियाको वान्डरस क्रिकेट मैदानमा तोपरुपी ब्याटबाट निकालेको छक्काको आवाज नेपालभर घरघरमा मनमनमा गुन्जिएको थियो । लाग्छ, सुपरसोनिक जहाजको गतिभन्दा कैयौं गुणा धेरै गति नेपालको जितको थियो । अन्तिम ओभरको अन्तिम बलमा निस्केको एक रनले पौने तीन करोड नेपालीको मनभरी विजयको रातो रङ्ग पोतेको थियो । रातको चिसो मौसमसंँगै सिंगो नेपाल जरुक्क उठेको थियो । उक्त रनपछि आँखामा खुसीको उपहार स्वरूप त्याग, तपस्या, अभ्यास र अथक मिहेनतले बनेका आसु ल्यापटपभर पोखिएका थिए ।
डिभिजन २, नेपालको लागि अत्यन्तै महत्वपूर्ण थियो । भनिन्छ, महको अमृत स्वादको अनुभूति गरेकाहरू चिनीको गुलियोमा भुल्दैनन् । नेपाललाई ठीक यस्तै भएको थियो । जसरी पनि अन्तिम दुईमा पर्नुथियो । नेपालको खेल सुरु हुदाँबाट नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका पत्रिका र लेखक, विश्लेषक तथा जानकारलाई पछ्याइरहेको थिएँ । विशेषतः कान्तिपुरका विनोद पाण्डेय, बाह्रखरीका सरोज तामाङ, पिटर डि पेन्ना, सुवास हुमागाई, पल राड्ली, दिल्ली डेयर डेभिल्स, आइसीसी आदिलाई निकै पछ्याएको थिएँ । नेपाली पत्रपत्रिकामा नेपाली क्रिकेटको बारेमा कति धेरै लेखिएका थिए भने डिभिजन १ मा प्रवेश गरेको त्यो अपार एवं अदभूत् क्षणमा समाचारको मुख्य शीर्षक के होला भन्ने कौतुहलमा त्यो रात बितेको थियो ।
जितपछि त नेपाल क्रिकेट टिमलाई बधाईको मुसलधारे बर्षा नै भएको थियो । समर्थकदेखि प्रधानमन्त्री, मन्त्री, खेलप्रेमीमात्र नभई अन्तर्राष्ट्रिय क्रिकेट टिमको बधाईको ओइरोमा रमाइरहेको थियो । नेपाली क्रिकेटले दिएको खुसीको सीमा कसैले कोर्न सकेको थिएनन् । सीमाहीन खुसी खेलाडीले सम्पूर्ण नेपाली तथा नेपाल क्रिकेट सर्मथकलाई दिएका थिए । अब त पक्कै पनि खेलाडी, समर्थकले निरन्तर मिहेनतको अर्थ बुझेका छन् । डिभिजन १ को खेलमा पनि नेपालले सनसनीपूर्ण जित प्राप्त गरोस् । शुभकामना ।
sartunge.chandra45@gmail.com