जनकपुरधाम । सिरहामा एकजनाले साथीमाथि गोली प्रहार गरेका छन् । आइतबार लहान नगरपालिका–२२, बेल्ही टोलस्थित १८ वर्षीय दिलीप मुखियामाथि उनकै साथीले गोली प्रहार गरेका हुन् ।
स्थानीय रविन चौधरीको घरमा बसिरहेको बेला 'ख्यालख्यालमै' सुशान्त चौधरीले गोली चलाउँदा दिलीपलाई लागेको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका दिलीपलाई उपचारका लागि धरान पठाइएको सिरहाका प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए । ।
दिलीपमाथि गोली प्रहार गरेको आरोपमा प्रहरीले १९ वर्षीय सुशान्त र १५ वर्षीय सुरज मुखियालाई नियन्त्रणमा लिएको छ ।
दिलीपको पेटभन्दा माथिको भागमा गोली लागेको छ । प्रहरीले घटनास्थलबाट पेस्तोल एकथान, ७.६५ एमएम लेखिएको गोली ५ राउन्ड, म्यागजिन एकथान, गोलीको खोखा एकथान बरामद गरेको छ ।
यस्तै, सुशान्तको घरनजिकको बाँसबारीबाट कटुवा पेस्तोल एकथान, त्यसमा लाग्ने गोली पाँच राउन्ड, गोली फायर भएको बन्दुकमा लाग्ने गोली चार राउन्ड फेलापरेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।