अनौठो लाग्छ नेपालका राजनीतिक दलहरुको मोलतोल (बार्गेनिङ)को भावभंगीमा देख्दा । एक चरण थियो स्थानीय तहको चुनावमा सौदाबाजीको जसलाई गठबन्धन परिभाषित गरियो । त्यो पनि देखियो । स्थानीय तहमा पाएको प्रतिफल परिणाम आआफ्नै कमाइ भनियो । गुमेको हैसियतलाई गठबन्धनको बेइमानी कर्तुत करार गरिएको छ ।
यस मामलामा सबैभन्दा हैसियत पिँधमा रहेको नवगठित नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को टिप्पणी सारै टिठ लाग्दो छ । यस दलको नेपाली राजनीतिमा हैसियत के हो ? अझै स्थापित भएको छैन तर यसका नेताको धाकधक्कु सुन्दा लाग्छ रथमुनि घिसारिएको प्राणी आफैँले रथ तानेको भ्रममा छ । गठबन्धनको कृपा हुन्थेन भने एकीकृत समाजवादीको छायाछवि बिरलै देखिने थियो ।
राजनीतिक दलहरु हालै सम्पन्न स्थानीय तहको चुनाव परिणामाको समीक्षा गर्दैछन् । समाचारके छ भने यस्तो समीक्षासँगै सन्निकट संघ र प्रदेशको चुनावी रणनीतिमा दलहरु जुटेका छन् । नेपाली कांग्रेस होस् वा नेकपा (एमाले) अथवा नेकपा (माओवादी केन्द्र) र अरु सबै समीक्षाको गुड्डी हाँक्दैछन् र आगामी चुनावको भित्री तानाबाना बुन्दैछन् रे !
सत्तारुढ गठबन्धन संघ र प्रदेशको चुनावमा सँगै जाने रे । राजनीतिक समीकरण र गठबन्धनको स्वरुप फेर्न केही तत्त्व लागेका छन् रे । तिनीहरुबीच बैठकहरुको सिलसिला जारी छ रे । त्यस्ता बैठक ‘वाम गठबन्धन’ बनाउन सक्रिय छ रे । भनिन्छ, कतैको इसारा र प्रेरणामा ती भोज बैठक जारी छन् रे ।
सरकारको नेतृत्व गर्दै रहेको नेपाली कांग्रेस यस मामलामा वा गठबन्धन बनाउने र बिगार्नेमा त्यति सक्रिय देखिएको वा सुनिएको छैन । चुपचाप छ । यसको अर्थ ऊ निस्क्रिय भन्ने होइन । संयमित चाहिँ हो कि ? कांग्रेसको संयम ठीक हो । कम्युनिस्टको परम्परागत रमिताको निरन्तरता पनि त सबैले हेर्नुछ ।
रमिता गर्ने र रमितामा रमाउने जनता पाएसम्म यस्तो रमिता नेपाली राजनीतिको चिरन्तन अभिशाप हुने नै भयो । अहिलेको धाकधक्कु गठबन्धन इमानदार भएन रे । त्यो पनि को भन्दा नेपाली कांग्रेस रे । यस्तो आरोप लगाउनेले आफ्नै इमानको प्रतिसमीक्षा गरेको छ ? त्यस्तो लाग्दैन र सार्वजनिक टिप्पणीमा त्यो आत्मसमीक्षा पनि कतै भेटिँदैन । बढी भए घात, अन्तर्घातको दोषारोपण मात्र ।
अर्कोलाई दोषारोपित गरेर आपूm पानीमाथिको ओभानो देखिन खोज्ने नेपाली राजनीतिको पुरानो रोग हो । यस्तो रोगलाई प्रश्रय दिने हामी नेपाली नै हौँ । जो चिया पसल र चौतारी वा कुनै जमघटमा सबैलाई अर्ति दिन माहिर छौँ तर त्यही अर्ति आपूmले पालना गर्न असक्षम हुन्छौँ ।
अर्ति सुन्दासुन्दा टुकुचामा ढल लेदो मिसिएको कालो पानी कति बग्यो होला ? मन्त्री भन्छन् – यस्तो हुनु पर्यो, उस्तो हुनुपर्छ । तर ऊ भन्दैन त्यो कसले गर्ने हो ? वा गर्नुपर्छ । स्वयं काम गर्ने दायित्वमा बसेको मन्त्रीले कसलाई भनेको होला निर्लज्ज यस्तो र उस्तो उपदेश । त्यही काम गरे भयो नि । मन्त्री भएको पनि त त्यस्तै दायित्व निर्वाह गर्न होला ?
नेपालका मन्त्रीहरुको कस्तो छटा छ भने ती कहिले कुन दल र गठबन्धनमा बाँधिन पुग्ने हुन् केही भर हुँदैन । जहाँ प्रलोभन अवसर त्यही आसन जमाउन पुग्ने चरित्रका कथित राजनीतिककर्मी भएसम्म राजनीति बदनाम भइरहनेछ । यसको उदाहरण संघ, प्रदेशको चुनावी वातावरणसँगै जोखाना हेर्ने मन्त्री र यताउता चलखेल गर्ने तिनका नेताको चरित्रले नै बुझाउँछ ।
फेरि कुरा आएको छ वाम एकताको । निर्देशित एकताको । ठीक छ वाम एकता अनौठो भएन, डराउनु पनि पर्दैन । किनभने नेपाली समाजको चरित्र र जीवन प्रणाली करिब प्रजातान्त्रिक वा स्वतन्त्रतापेक्षी भइसकेको छ । वाम एकताले अधिनायकवादी कम्युनिस्ट सत्ताको प्रयत्न गर्यो भने प्रजातान्त्रिक जनमतले तिनलाई धुलीसात गर्नेछ । अरु के भन्न पर्लौ र सदाको लागि राजतन्त्रको बिदाइ भएको सम्झिए पुग्छ ।
जब जनमत प्रजातान्त्रिक छ, संविधान लोकतान्त्रिक छ भने वाम एकताले लछारपाटो लगाउने के हो ? प्रजातन्त्रलाई मास्ने कि संविधानलाई खोस्ने ? त्यो हैसियत थियो भने प्रजातन्त्र मास्न निहत्थाको टाउको काट्नेहरु उहिल्यै अधिनायकत्व स्थापना गर्न उद्यत थिए । अन्ततः संसदीय लोकतन्त्रमा आए, खाए र पाए । भन्छन् – खाने हो, हामी संसद्मा छौ तर संसद्वादी होइनौ । पाउन, खान एकता हो भने जोसँग जहाँ पाइन्छ गठबन्धन गरे भयो नि, किन चाहियो वाम एकता ?
यस्तै ‘कथित’ नेताले धानेको गठबन्धनभित्रका दलको चलखेल अहिलेको मोलतोल हो । चाहे नेपाली कांग्रेससँग होस् वा आन्तरिक पार्टीभित्र र नेतासँग मोलतोलै मोलतोल । स्थानीय तह निर्वाचनमा कांग्रेससँग मिलेर कुस्त लाभ कुम्ल्याएका दल माओवादी केन्द्र र एकीकृत समाजवादीले संघ, प्रदेशमा धेरै स्थान हासिल गर्न कांग्रेसलाई वाम एकताको धम्की सुनाइरहेका छन् । अवसरवादीलाई सदा धान्न र धेग्न कसले पो सक्छ र ?
यही मेसोमा गड्यौला झुन्ड्याएको बल्छी थाप्ने काम प्रतिपक्षी दल नेकपा (एमाले)ले गरेको छ भने स्वाभाविक हो । प्रतिपक्षले आफू अनुकूल गर्छ नै । अस्वाभाविक चाहिँ भित्रभित्रै केही सौदाबाज चालु कम्युनिस्टलाई भोज खुवाउने, प्रलोभन दिने तर बाहिर चाहिँ अहिलेलाई वाम एकता सम्भव छैन भन्ने ढँटुवा नौटंकी हो । यस्तो ढटुवा कुरा एमालेले गर्दैछ ।
अरुको कुरा छौडौँ, समालिएनन् भने सन्निकट चुनाव अघिसम्ममा कम्युनिस्ट माओवादी केन्द्र र एकीकृत समाजवादी विखण्डित हुने सम्भावना देखिदैँछ । उछलकुद हेर्दा र कुरा सुन्दा झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले विखण्डनको नेतृत्व गर्ने लक्षण देखिएको छ । कम्युनिस्ट फुटुन् वा जुटुन् अरूको गहिरो चिन्ता, चासोको कुरा होइन । तर, यिनले बिथोलेको नेपाली राजनीति र फेरि पनि बिथोल्ने सम्भावना चाहिँ चिन्ताको विषय हो । टाउको दुःखाइ त माधव नेपाल र पुष्पकमल दाहालको हो ।
कम्युनिस्टहरुको मोलतोल, अवसरवाद र नेपाली कांग्रेसको ओतमा यिनले खाए, पाएको इतिहास कसरी लिपिबद्ध होला ? भावी पुस्ताले पढ्ला । इतिहासमा कम्युनिस्ट चरित्रको अर्को पन्ना थपिने छ – यिनले मोलतोलको लागि काँग्रेसलाई पुनः धम्काएको समय । अर्थात् २०७९ मंसीरमा गर्ने भनिएको संघ, प्रदेशको चुनावमा बढी स्थान पाउन यिनको मोलतोलको पारो यतिबेला उकालोमा छ । बाँकी चुनावी इतिहास नै पर्खनुपर्ला ।