काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद खगराज अधिकारीले कोभिड–१९ विरुद्धको २४ लाख डोज खोप हराएको भन्दै त्यसबारे जवाफ दिन सरकारसँग माग गरेका छन् । पूर्वस्वास्थ्यमन्त्री समेत रहेका अधिकारीले संसद्मा यथार्थ जानकारी गराउन माग गरेका हुन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकअन्तर्गत विभिन्न शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले सो खोपबारे आफूहरूले प्रधानमन्त्री शेरबहादुर देउवाको समेत ध्यानाकर्षण गराएको उल्लेख गरे ।
आफू स्वास्थ्यमन्त्री भएकै बेला एचआईभी एड्सदेखि क्यान्सरसम्मका १३९ औषधि निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको भन्दै उनले त्यसबारे भ्रम नछर्न सरकारलाई चेतावनी दिए ।
सांसद अधिकारीले गएको वर्षको तुलनामा स्वास्थ्य क्षेत्रमा सरकारले २२ प्रतिशतभन्दा बढी बजेट घटाएको भन्दै आक्रोश व्यक्त गरे ।