काठमडौं । नेपाली कांग्रेसले गएको स्थानीय निर्वाचनमा आफ्नो पार्टी पहिलो बनेको निष्कर्ष निकालेको छ । पार्टीको स्थानीय तह निर्वाचन अनुगमन, मूल्यांकन एवम् सुपरीवेक्षण उपसमितिले कांग्रेस ३८ लाख ३ हजार ३१ मतसहित पहिलो पार्टी बनेको प्रतिवेदन सार्वजनिक गरेको हो ।
निर्वाचन सम्पन्न ७५२ स्थानीय तहमध्ये प्रमुख/अध्यक्षतर्फ ३२९ स्थानीय तहको नेतृत्व जितेर ४४ प्रतिशत जित निकालेको प्रतिवेदनमा उल्लेख छ । यस्तै, उपप्रमुखतर्फ ३०० स्थानीय तहमा जित निकालेको कांग्रेसले ४० प्रतिशत उपप्रमुख/उपाध्यक्ष जितेको कांग्रसले बताएको छ ।
वडाध्यक्षमा पाएको मतलाई पार्टीले पाएको मतका रूपमा प्रस्तुत गरेको कांग्रेसले गठबन्धबाटभन्दा एकल चुनाव लडेको स्थानमा बढी जितेको दाबी गरेको छ ।
प्रतिवेदनमा निर्वाचन सम्पन्न भएका कुल ७५२ स्थानीय तहमा कांग्रेसले ३२९ जितेको, ६ हजार ७३३ वडामध्ये दुईहजार ६६५ अर्थात् ३९ प्रतिशत वडा, दुईहजार ६०६ महिला सदस्य, दुईहजार ५५१ दलित महिला सदस्य, पाँचहजार ३०७ खुला सदस्य गरी कुल १३ हजार ४५८ जनप्रतिनिधि जितेको उल्लेख छ ।
गठबन्धनबाट भन्दा एक्लै जितेका धेरै
प्रतिवेदनले कांग्रेसले गठबन्धनबाट भन्दा एक्लै चुनाव लडेर धेरै जितेको उल्लेख छ । गठबन्धनका कारण ६३२ स्थानीय तहमा मात्र प्रमुखको उम्मेदवारी दिन पाएको कांग्रेसले गठबन्ध गरेका स्थानमा जम्मा १२८ स्थानीय तह जितेको छ । गठबन्धन नगरेका स्थानमा २०१ स्थानीय तह कांग्रेसले जितेको प्रतिवेदनमा उल्लेख छ । यस्तै, उपप्रमुखमा गठबन्धनबाट जम्मा ८५ जितेकोमा एक्लै चुनाव लडेका स्थानबाट २१५ स्थानमा जित निकालेको कांग्रेसको प्रतिवेदनमा उल्लेख छ ।
कांग्रेसको स्थनीय तह निर्वाचन केन्द्रीय परिचालन समितिअन्तर्गत केन्द्रीय सदस्य प्रदीप पौडेल संयोजक रहेको स्थानीय तह निर्वाचन अनुगमन, मूल्यांकन तथा सुपरिवेक्षण उपसमितिले बिहीबार प्रतिवेदन सार्वजनिक गरेको हो ।
हेर्नुहोस् प्रतिवेदन :