काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले मन्त्रिपरिषद्बाट उपरथी दर्जामा पदोन्नति भएका तीन सहायक रथीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।
जेठ २३ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी दिपककुमार बानियाँ, सहायक रथी होमनाथ दवाडी र सहायक रथी यामप्रसाद ढकालले दर्ज्यानी चिह्न पाएका हुन् ।
प्रधानसेनापति शर्माले बुधबार जंगी अड्डामा आयोजित कार्यक्रममा उनीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
पदोन्नति भएका उपरथीहरू बानियाँ नेपाली सैनिक वार कलेजका शिक्षाध्यक्ष, दवाडी निरीक्षणाधिकृत विभागका विभागीय प्रमुख र ढकाल युद्ध–मद्दती तथा युद्ध–सेवा मद्दती विभागका विभागीय प्रमुखमा नियुक्ति भएका छन् ।
कार्यक्रममा मन्त्रिपरिषद्को सोही निर्णयबमोजिम नै सहायक रथी दर्जामा पदोन्नती भएका दुईजना महासेनानीहरूलाई प्रधानसेनापति शर्माले सहायक रथी दर्जाको दर्ज्यानी चिह्न समेत प्रदान गरे ।