काठमाडौं । कम्तिमा पनि दुई सातादेखि काठमाडौं महानगरपालिकासहित आसपासका क्षेत्रको फोहोर उठ्न सकेको छैन । कतिपय स्थानमा चुनावदेखि नै फोहोर नउठेको स्थानीय बताउँछन् ।
काठमाडौंसहित १८ वटा नगरपालिकाको फोहोर फाल्ने ठाउँ नुवाकोट सिसडोलका स्थानीयले यसअघि सरकारले गरेको सम्झौता पूर्ण कार्यान्वयन नभएको भन्दै अवरोध गरेपछि काठमाडौंको फोहोर उठ्न नसकेको हो ।
फोहोरमैला व्यवस्थापनका लागि आधुनिक उद्योगको स्थापना गरिने, सो उद्योगको नजिक भएका बस्तीहरूलाई तीन चार हजार मिटर पर सारेर जग्गा अधिग्रहण गर्ने, अधिग्रहण गरिएको जग्गाभन्दा बाहिर स्वास्थ्यचौकी, खानेपानीलगायतका भौतिक पूर्वाधार विकास गर्ने, पूर्वाधारका काम र फोहोरको आधुनिक उद्योगमा स्थानीयलाई कर्मचारीका रूपमा राख्नुपर्ने सम्झौता गरिएको थियो ।
उक्त सम्झौतामा सरकारले पटक–पटक मन्त्रिपरिषद्बाट कार्यान्वयनका लागि निर्णय गरेको छ । सोही निर्णयहरू कार्यान्वयनका लागि विभागीय मन्त्रालय र विभागमा परिपत्र गरेको थियो । तर अहिलेसम्म पनि काम नभएको भन्दै स्थानीयले अवरोध गरेपछि फोहोर काठमाडौंका सडक छेउमै थुप्रिएको हो ।
बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिका श्रीराम ढुंगानाले आफूहरुको नयाँ माग केही पनि नभएको, पूराना सम्झौता कार्यान्वयनमात्रै भएको बताएँछन् ।
उनले सम्झौता कार्यान्वयनमा सरकार उदासिन भएकाले आफूहरु बाध्य भएर संघर्षमा उत्रिनुपरेको बताउँछन् । अहिले काठमाडौंको सडकछेउमा फोहोर थुप्रिँदा यात्रु तथा सर्वसाधारणलाई निकै कठिनाई परेको छ ।
“केही स्थानमा अलि धेरैदिन भयो होला, तर ९ दिनदेखि पूर्णरुपमा फोहोर उठ्न सकेको छैन,”काठमाडौं महानगरपालिका वातावरण व्यवस्था विभागकी प्रमुख सरिता राईले बाह्रखरीसँग कुरा गर्दै भनिन्, “मेयरले पहल जारी राख्नुभएको छ । वार्ता पनि भइरहेको छ ।”
बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिका संयोजक ढुंगानाले भने, “हामीले ठूला आकांक्षाहरू राखेका छैनौँ । उपत्यकाबासीलाई निकास दिने सहयोग गर्ने भनेर अहिलेसम्म लैजान दिएका थियौँ । विकराल अवस्था आइसकेको छ । सरकारलाई नयाँ मेयरलाई असफल बनाउने तरिकाले लागि परेका होइनौँ । काठमाडौंका नयाँ मेयर भिजनसहितको ऊर्जामा आउनुभएको छ । उहाँले काम गर्नुहोला भन्ने आशा छ ।”
फोहोरको दीर्घकालीन समाधानका लागि सरकार उदासिन छ । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) दौडधुपमा छन् ।
बालेनले महानगरको पहिलो नगरकार्यपालिका बैठकमा पहिलो प्राथमिकतामा राख्दै फोहोर व्यवस्थापन कार्यदल गठन गर्ने प्रस्ताव अघि बढाएका थिए ।
त्यसपछि उनले प्रधानमन्त्री शेरबहादुर देउवा, सहरी विकास मन्त्री रामकुमारी झाँक्रीलगायतलाई भेट गरिसकेका छन् भने आफैं पनि दुईपल्टसम्म फोहोर व्यवस्थापन गरिने क्षेत्रमा पुगेर स्थानीयसँग छलफल गरेका छन् ।