काठमाडौं । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई कारबाहीको सिफारिस गरिएको छ । पार्टीको अनुशासन आयोगले कारबाही सिफारिस गरेको हो ।
यही जेठ १८ गते बसेको अनुशासन आयोगको सचिवालय बैठकले भुसाललाई कारबाहीका लागि केन्द्रीय कमिटीसमक्ष सिफारिस गरेको छ । केही दिनअघि एउटा टेलिभिजनमा प्रशारित अन्तर्वार्ताका क्रममा भुसालले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेको भन्दै कारबाही सिफारिस गरिएको बताइएको छ ।
"हिमालय टेलिभिजनमा एकजना स्थायी कमिटी सदस्यले दिएको अन्तर्वार्ताको विषय गम्भीर छ । त्यो बारेमा हामीले केन्द्रीय कमिटीमा लेखेर पठाएको हो," अनुशासन आयोगका अध्यक्ष केशव बडालले बाह्रखरीसित भने । विधानबमोजिम कारबाही सिफारिस गरिएको उनले जानकारी दिए ।
उनले सबै सदस्य पार्टीको नीति, नियम र विधानको परिधिभित्र रहनुपर्ने बताए । पार्टी बाहिरका मञ्चहरूमा नीति, नेतृत्वको आलोचना र असन्तुष्टिहरू राख्न नमिल्ने उनको भनाइ छ । पार्टीमा रहँदा आफ्ना त्यस किसिमका विषयहरू कमिटीमा भन्नुपर्ने उनले उल्लेख गरे ।
पार्टीको हित, नीति, सिद्धान्तविपरीत जाने जो कोही कारबाहीको घेरामा पर्ने उनले बताए । कारबाहीबारे केन्द्रीय कमिटीले निर्णय गर्ने गर्छ ।