site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
कान्समा नेपाली सर्ट फिल्म ‘लोरी’ लाई अवार्ड 

काठमाडौं । विश्व चर्चित फिल्म फेस्टिभलमध्ये एक कान्स फिल्म फेस्टिभलमा नेपाली सर्ट फिल्मले पनि अवार्ड जित्न सफल बनेको छ । हालै सम्पन्न कान्स फिल्म फेस्टिभल २०२२ मा निर्देशक अभिनाश विक्रम शाहको ‘लोरी : मेलनकोली अफ माई मदर्स ललाबाइज’ ले ‘स्पेसल मेन्सन सर्ट फिल्म अफ द इयर’ को अवार्ड प्राप्त गर्न सफल बनेको हो । 

शनिबार (२८ मे) मा भएको ७५औं कान्सको समापन समारोह (क्लोजिङ सेरेमनी)मा लोरीलाई उक्त अवार्ड प्रदान गरिएको हो । अवार्ड लिनका लागि निर्देशक शाह स्वयंम् उपस्थित भएका थिए । ‘लोरी’ एउटी आमाले आफ्नी १२ वर्षकी छोरीलाई लोरी सुनाउँदै सुताउन खोज्छिन् । तर, जब छोरी आफ्नो निन्द्राबाट ब्युँझिन्छिन् सत्य केही भयावह हुन्छ । यसको स्क्रिप्ट स्वयंम् शाहले नै लेखेका हुन् । 

फिल्मका मुख्य पात्र अंकिता यादव, प्रीति झा र सुजिता शाह हुन् ।  कान्स फिल्म फेस्टिभलका विभिन्न विधामध्ये ‘सर्ट फिल्म पाल्म डी’ओर’ विधामा शाहको फिल्म छनोटमा परेको थियो । १४० देशबाट तीन हजार ५०७ वटा चलचित्रले सहभागिता जनाएकोमा नौ देशका नौ फिल्म मात्रै छनोटमा परेका हुन् । यस विधाको मुख्य अवार्ड चिनियाँ निर्देशक जियानिङ चेनको निर्देशन रहेको ‘द वाटर मर्मस’ ले जित्न सफल बनेको हो । 

यी दुवै निर्देशकले आ–आफ्नो अवार्ड लिएपछि सँगै ‘फोटोकल’ फोटो पनि खिचाएका छन् ।  शाहको ‘लोरी’ १४ मिनेट लामो छ । स्क्रिप्ट राइटिङको पनि खुबी भएका उनको फिल्म मेकिङको यात्रा करिब एक दशक पुगेको छ । नेपाली चलचित्र ‘चौखत’ले कान्समा स्क्रिनको मौका पाइसके पनि मुख्य प्रतियोगिताको विधामा पर्ने पहिलो चलचित्र भने शाहको ‘लोरी ः मेलनकोली अफ माई मर्दस ललाबाइज’ नै हो ।

यही वर्षको कान्समा पहिलोपटक नेपाली कलाकारले पनि रेड कार्पेटमा वाक गरेका हुन् । नेपालको प्रतिनिधित्व गर्दै अभिनेत्री सुरक्षा पन्त आफ्नो अन्तर्राष्ट्रिय चलचित्र ‘द एट माउन्टेन्स’ को तर्फबाट कान्समा सहभागी भएकी हुन् । 

प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९  १४:०४
प्रतिक्रिया दिनुहोस्