काठमाडौं । स्थानीय चुनाव सार्नका लागि सत्ता गठबन्धनका नेताहरु छलफल गरिहेका छन् भन्ने आरोप लगाउँदै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावी देश दौडाहामा निस्किइसकेका थिए ।
उनले वैशाखको ९ गतेसम्म पनि प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव सार्ने विषयमा आफूलाई प्रस्ताव पठाएको मतदानकै दिनमा खुलासा गरेका थिए ।
तर त्यसलाई सत्ता गठबन्धनले जवाफ दिइसकेको छ ।
सत्ता गठबन्धनलाई ‘ठगबन्धन’ नाम दिँदै ओली आफ्नो पार्टी पहिलो बन्ने आफ्नो दाबीमा जनतालाई ढुक्क पार्ने प्रयासमा थिए ।
यतिसम्म कि ओलीले पार्टी प्रवेश गर्नेको ओइरो लागेको कारण आफूले समय मिलाउन नसकेको भनेर पोलिटब्यूरो बैठकलाई सम्बोधन गर्दै भनेका थिए ।
चुनावी अभियानका क्रममा सबैजसो चुनावी सभामा ओली आफैं पुगे । पार्टीका बाँकी नेता फुर्सदिलाजस्ता थिए ।
ओलीले पार्टीका वरिष्ठ नेताहरुलाई फुर्सदिलो बनाउँदै एकै दिनमा छ वटासम्म सभालाई सम्बोधन गर्न भ्याए । उनले एमालेसँग लड्ने तागत र आँट कुनै पनि दलको नभएको भन्दै बाँकी सबै दल एक हुँदा पनि एमाले पहिलो हुने भनाईलाई देशभर सुनाए ।
वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको अधिकांश नजिता सार्वजनिक भइसकेको छ । ओलीको देश दौडाहा र उनका दाबी चुनावी नजिताले उल्टो सावित गरिदिएको छ । किनभने ओली चुनावी सभा गर्न पुगेका अधिकांश पालिका एमालेले हारेको छ । ओलीले ‘अरु पार्टीका त उमेदवार नै छैनन्’ भनेका ठाउँमा नै एमालेका उमेदवारहरु पराजित भएका छन् ।
ओलीले पार्टी प्रवेश कार्यक्रमलाई निकै प्राथमिकता दिएका थिए । उनले चुनाव लक्षित सभा निकै अघिबाटै थालेका थिए । वैशाख १८ गते एताका सभालाई मात्र हेर्ने हो भने पनि उनले थुप्रै पालिका पुगेर चुनावी कार्यक्रम गरेका थिए । उनको सभामा उपस्थिति पनि राम्रै देखिने गरेका थियो ।
कहिले कहाँ पुगे ओली ? यस्तो रह्यो चुनावी नतिजा
चुनावी सभाका क्रममा ओलीले वैशाख १८ गते मकवानपुरको हेटौंडामा आयोजित सभालाई सम्बोधन गरेका थिए । श्रमिक दिवसका अवसरमा जिफन्टद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न ओली त्यहाँ पुगेका थिए । उनले जनतामै नभएका पार्टीहरुको गठबन्धनको अर्थ नहुने भन्दै एमाले धेरै मतसहित जित्ने दाबी गरेको हेटौंडा उपमहानगरपालिका एमालेले हारेको छ । हेटौंडा उपमहानगरपालिका गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीले जितेको छ ।
हेटौंडा महानगरपालिकाको मेयरमा एकीकृत समाजवादी पार्टीका मीनाकुमारी लामा निर्वाचित भइन् । त्यहाँ मेयर पदमा एमालेका उमेदवार अनन्तप्रसाद पौडेल पराजित भए । त्यस्तै उपमेयरमा नेपाली कांग्रेसका राजेश बानियाँ विजयी भएका छन् ।
एकैदिन गृह जिल्लाका चार पालिकामा सभा : दुई पालिकामा पराजित
वैशाख २० ओलीले गृह जिल्ला झापाका चारवटा पालिकामा चुनावी सभालाई सम्बोधन गरे । सोही दिन सम्बोधन गरेकामध्ये दुईवटा पालिका एमालेले गुमाएको छ । वैशाख २० गते भद्रपुरमा भाषण गरेका ओलीको पार्टी एमालेले भद्रपुर नगरपालिका जोगाउन सकेन ।
भद्रपुरको मेयरमा कांग्रेसका गणेश पोखरेल एमालेका असारु राजवंशीलाई पराजित गर्दै निर्वाचित भइसकेका छन् । उपमेयर राप्रपाको पोल्टामा पर्यो । भद्रपुरमा राप्रपाकी राधा कार्की निर्वाचित भइन् ।
वैशाख २०मै ओलीले झापाकै हल्दिवारीमा आयोजित चुनावी सभालाई सम्बोधन गरे । हल्दीवारी एमालेलाई पराजित गर्दै राप्रपाले जितेको छ । राप्रपा अधयक्ष राजेन्द्र लिङ्गदेनको गृह पालिका हल्दिबारीको अध्यक्षमा उनै लिङ्गदेनका भाइ रविन्द्रप्रसादले एमालेका डम्बरबहादुर गिरीलाई फराकिलो मतान्तरले पराजित गरे । उपाध्यक्षमा राप्रपाकै लक्ष्मीदेवी मैनाली निर्वाचित भइन् ।
चुनावी दौडाहा अन्तर्गत ओली वैशाख २० मै झापाको मेची नगर र विर्तामोडमा संम्बोधन गर्न पुगेका थिए । मेचीनगरमा एमाले निर्वाचित भएको छ । एमालेका गोपालचन्द्र बुढाथोकी मेयर र एमालेकै मीनाकुमारी पोखरेल उपमेयरमा निर्वाचित भए । यतै विर्तामोडको नतिजा पनि एमालेकै पक्षमा आएको छ ।
विर्तामोड नगरपालिकामा एमालेबाट पवित्रादेवी महतारा मेयरमा निर्वाचित हुँदा एमालेकै नगेन्द्रप्रसाद संग्रौला उपमेयरमा निर्वाचित भएका छन् ।
माइ नगरपालिकामा एमालेको जित
वैशाख २१ गते ओलीले इलामको माइ नगरपालिकाको दानबारीमा आयोजित सभामा भाषण गरेका थिए । माइ नगरपालिकाको मेयर र उपमेयर एमालेले नै जितेको छ । मेयरमा एमालेका खम्बासी लिम्बु र उपमेयरमा एमालेकै हिमा भण्डारी निर्वाचित भएका छन् ।
बर्दगोरीयाको मेयर, बेलौरीमा उपमेयर
वैशाख २२ गते ओली कैलालीको बर्दगोरीयामा चुनावी सभालाई सम्बोधन गर्न पुगेका थिए । एमालेले बर्दगोरिया गाउँपालिका पनि जितेको छ ।
बर्दगोरीया गाउँपालिका अध्यक्षमा एमालेका कर्णबहादुर कुँवर निर्वाचित भए । उपाध्यक्षमा माओवादीका गणेशराज गिरीले जितेका छन् ।
त्यसैगरी ओली चुनावी सभालाई सम्बोधन गर्न सुदूरपश्चिमको राजधानी धनगढीमा पनि पुगेका थिए । धनगढी उपमहानगरपालिकामा एमाले तेस्रो भएको छ । धनगढीको मेयरमा स्वतन्त्र उमेदवारी दिएका गोपाल हमाल निर्वाचित भएका छन् भने उपमेयर एमालेले जितेको छ । एमालेकी कन्दकलाकुमारी राना उपमेयर निर्वाचित भइन् । एमाले अध्यक्ष ओली कन्चनपुरको बेलौरीको सभामासमेत पुगेका थिए ।
बेलौरी नगरपालिका उपमेयरमा मात्र एमाले निर्वाचित भयो । कञ्चनपुरमा माओवादी केन्द्रले जितेको एक्लो पालिका बेलौरी बन्यो । बेलौरीको मेयरमा माओवादीका पोतिलाल चौधरी र उपमेयरमा एमालेका जोगराम चौधरी निर्वाचित भए ।
रौतहटको गौर र चन्द्रपुरमा पराजित
वैशाख २३ गते ओलीले रौतहटको गौरमा आयोजित चुनावी सभालाई सम्बोधन गरे । गौर नगरपालिकाको मेयर र उपमेयर दुवैमा एमाले पराजित भएको छ । यहाँ नेकपा एकीकृत समाजवादीका शम्भु साह र उपमेयरमा नेकपा एसकै शैलकुमारी साह निर्वाचित भएका छन् । यहाँ एमालेले पाएको मत एकदमै न्यून छ ।
सोही दिन ओली रौतहतकै चन्द्रनिगाहपुरमा आयोजित सभालाई पनि सम्बोधन गरे । त्यहाँ पनि एमाले पराजित भएको छ ।
चन्द्रनिगाहपुर नगरपालिकाको मेयरमा कांग्रेसका सञ्जयकुमार काफ्ले निर्वाचित हुँदा उपमेयरमा पनि कांग्रेसकै जयमालाकुमारी चौधरी निर्वाचित भएकी छन् । यहाँ एमाले मेयरमा दोस्रो र उपमेयरमा तेस्रो निकटतम प्रतिद्वन्द्वी बनेको छ ।
इटहरी र धरान गुम्यो, विराटनगरमा पनि पराजित
वैशाख २४ गते ओली प्रदेश नम्बर–१ अन्तर्गतका दुईवटा उपमहानगर र एक महानगरको सभामा पुगेका थिए ।
सुनसरीको इटहरीमा आयोजित चुनावी सभामा सहभागी बने । अघिल्लो पटक इटहरी उपहानगरपालिका जितेको एमालेले यसपटक गुमाउन पुग्यो ।
इटहरीमा गठबन्धनको तर्फबाट कांग्रेसका हेमकर्ण पौडेलले एमालेका यामकुमार चुङ्गवाङ सुब्बालाई ५ हजार १८ मतान्तरले पराजित गर्र्दै मेयरमा बने । उप्रमुखमा भने एमाले निर्वाचित भएको छ । एमालेकी संगीताकुमारी चौधरी फराकिलो मतान्तरले निर्वाचित भएकी छन् ।
वैशाख २४ गते नै ओलीले सुनसरीको अर्को उपमहानगरपालिका धरानमा चुनावी सभा गरे । धरान उपमहानगरपालिका पनि एमालेले गुमाएको छ । त्यहाँ स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ निर्वाचित भएका छन् ।
२०७४ को निर्वाचनमा एमालेले धरान उपमहानगरपालिका जितेको थियो । मेयरमा निर्वाचित तारा सुब्बाको निधनपछि भएको उपनिर्वाचनबाट कांग्रेसका किशोर राई निर्वाचित भएका थिए ।
अहिले स्वतन्त्रबाट राई मेयर निर्वाचित हुँदा उपमेयरमा माओवादीका अइन्द्रविक्रम बेघा निर्वाचित भए । यहाँ एमालेले तेस्रो मत पाएको छ ।
वैशाख २४ गते नै ओलीले मोरङको विराटनगर महानरपालिकामा चुनावी सभा गरे । अघिल्लै चुनावमा एमालेले गुमाएको विराटनगर महानगरपालिकामा यसपटक पनि कांग्रेस निर्वाचित भयो । एमालेले उपप्रमुखमा चित्त बुझाएको छ ।
मेयरमा निर्वाचित कांग्रेसका नागेश कोइरालाले ३० हजार १७० मत ल्याउँदा एमालेका उमेदवार सागरकुमार थापा २१ हजार ४५५ मत पाएर पारजित भए । उपप्रमुखमा निर्वाचित एमालेकी शिल्पा कार्कीले २५ हजार ६८० मत ल्याइन् ।
वैशाख २४ कै राति ओली विराट चोकमा आयोजित कार्यक्रममा सहभागी भएका थिए ।
सुन्दरहरैंचा नगपालिकाकाका लागि उनले गरेको सभाबाट भने एमालेलाई लाभ मिलेको छ । सुन्दरहरैचामा मेयर, उपमेयर दुवै एमालेले जितेको छ । मेयरमा एमालेका केदाप्रसाद गुरागार्इं र उपमेयरमा अकली चौधरी निर्वाचित भइन् ।
बुटबलमा जोगिएन विरासत
वैशाख २५ गते ओली रुपन्देहीको बुटवलमा पुगे । बुटवलमा ओलीले पार्टीका उमेदवार विगतमा जस्तै यसपटक पनि निर्वाचित हुने दाबी गरेका थिए । तर, बुटवल उपमहानगरपालिकामा एमालेले अघिल्लो निर्वाचनको नतिजा जोगाउन सकेन । एमालेलाई मतले दोस्रो र खुम्चिएको हैसियतमा राखिदियो ।
बुटवलमा ३० वर्षपछि कांग्रेस निर्वाचित हुँदा मेयर बन्ने अवसर खेलराज पाण्डेले पाएका छन् । मेयरमा निर्वाचित भएका कांग्रेसका खेलराज पाण्डेले एमालेका उमेदवार बाबुराम भट्टराईलाई सात हजार ५३१ मतले पराजित गरेका थिए । उपमेयरमा एमालेकी सावित्रादेवी अर्याल निर्वाचित भएकी छन् ।
भरतपुरमा हार दोहोरियो
बुटवलको सभा सकेर ओलीले सोही दिन चितवनको भरतपुरस्थित क्यापाचौरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्न पुगेका थिए । २५ गते कांग्रेस नेतृत्वको गठबन्धनको सभा भन्दा उनकै सभामा उत्साह देखिएको थियो । त्यहाँ उनले माओवादी अध्यक्षको छोरी मोह चकनाचुर पारिदिने बताएका थिए । तर, एमाले यसपटक पनि पराजय स्वीकार्न बाध्य भएको छ ।
भरतपुरमा माओवादी केन्द्रकी रेनु दाहाल नै दोहोरिएकी छन् । ५२ हजार २८ मत ल्याएर रेनु निर्वाचित हुँदा एमालेका विजय सुवेदीले ३९ हजार ५२८ मत मात्रै पाए । उमेयरमा कांग्रेसका चित्रसेन अधिकारी निर्वाचित भएका छन् ।
पोखरामा पनि गुम्यो विरासत
वैशाख २६ गते ओलीले काठमाडौंको कीर्तिपुरस्थित नगाँउ दोबाटोमा चुनावी सभा गरेका थिए । ओलीले सभा गरेको कीर्तिपूर नगरपालिका यसैपटक मात्र एमालेले गुमाएको छ । मेयरमा निर्वाचित कांग्रेसका राजकुमार नकर्मीले एमालेका केशरत्न बज्राचार्यलाई झन्डै ४ हजार मतन्तारले पराजित गरे ।
वैशाख २६ मै ओली चुनावी सभाका लागि कास्कीको पोखरा पुगेका थिए । तर, एमालेले पोखराको विरासत यसैपटक गुमाएको छ ।
अघिल्लोपटक पोखरामा कांग्रेस माओवादी मिल्दा सजिलै हराएको पोखरा यसपटक हार्नुप¥यो, त्यो पनि पार्टीको रुपमा मान्यता नै नदिएर संसद अवरोध गरेको एकीकृत समाजवादीका उमेदवारसँग । एमालेले पोखरामा पनि उपमेयरमा चित्त बुझाएको छ ।
पोखरामा एकीकृत समाजवादीका धनराज आचार्य मेयरमा ५८ हजार ८९३ मत ल्याएर निर्वाचित हुँदा प्रदेश सांसदबाट राजीनामा दिएर उमेदवार बनेका एमालेका कृष्ण थापा ५२ हजार ८४८ मत मात्रै पाए । पोखराको उपमेयरमा भने एमालेकी मञ्जुदेवी गुरुङ ६० हजार ५४३ मतका साथ निर्वाचित भइन् ।
ललितपुरमा फराकिलो हार
ओलीले वैशाख २६ मै ललितपुरमा आयोजित सभालाई सम्बोधन गरेका थिए । ललितपुरमा एमाले यसपटक पनि पराजित भएको छ ।
मेयरमा चिरिबाबु महर्जन दोहोरिँदा अघिल्लो पटक उनैसँग झिनो मतान्तरले पराजित भएका एमालेका हरिकृष्ण ब्यञ्जनकार यसपटक फराकिलो मतान्तरमा पराजित भए । उनीहरुको मतअन्तर १८ हजार १६२ छ । ललितपुरमा पनि एमालेले उपमेयर जितेको छ । एमालेकी एमालेकी मन्जली शाक्य बज्राचार्यले जित हासिल गरेकी छन् ।
अन्तिम दिन ६ ठाउँ सभा
वैशाख २७ अर्थात् चुनावी सभाको अन्तिम दिन ओलीको अझ धेरै दौडधुप देखियो । वैशाख २७मा ओलीले ६ वटा सभालाई सम्बोधन गरे । २७ गते मध्यरातबाट निर्वाचनको मौन अवधि सुरु हुने भएकाले उनले त्यही दिन छ वटा सभा गरेका थिए ।
ओलीले सो दिनको पहिलो सभा मोरङको मिक्लाजुङमा गरेका थिए । मिक्लाजुङ गाउँपालिकामा एमाले पराजित भयो । अध्यक्षमा एमालेका उमेदवार नरेन्द्र प्रसाद ढुंगेल कांग्रेसका बबीकुमार राईसँग पराजित भए । गाउँपालिका उपाध्यक्षमा भने दिनेश पौडेल निर्वाचित भएका छन् ।
गृह नगर पनि जोगिएन
२७ गते नै ओलीले गृहजिल्ला झापाको गौरीगंज पुगेका थिए । उनले सभा गरेको गौरीगंज गाउँपालिका अध्यक्षमा कांग्रेसका फुलवती राजवंशी निर्वाचित हुँदा उपाध्यक्षमा एमालेका पुजन न्यौपाने कुँवर निर्वाचित भएका छन् ।
वैशाख २७ गते नै ओलीले गृह नगर दमकमा भाषण गरेका थिए । तर, ओलीले आफ्नै घर रहेको पालिका दमक पनि यसपटक एमालेले गुमाएको छ । दमक नगरपालिकाको मेयरमा राप्रपाका राम थापा निर्वाचित हुँदा एमालेकी गीताकुमारी पौडेल अधिकारी पराजित भइन् । उपमेयरमा कांग्रेसकी रेगिना भट्टराई निर्वाचित भइन् ।
ओलीले सोही दिन चुनावी सभा गरेको झापाको कमल नगरपालिकाको मेयरमा कांग्रेसका हुकुमसिंह राई निर्वाचित भए । उपमेयरमा एमालेकी प्रमिला न्यौपाने निर्वाचित भएकी छन् ।
वैशाख २७ गते नै ओलीले गौरादहमा पनि चुनावीसभा गरेका थिए । गौरादहमा भने एमाले निर्वाचित भएको छ । गौरादहको मेयरमा एमालेका छत्रपति सुवेदी र उपमेयरमा एमालेकै जलवर्षा राजवंशी निर्वाचित भए ।
अन्तिम चुनावी सभा : उपमेयर पक्का
एमालेले काठमाडौंको भृकुटीमण्डपबाट चुनावीसभाको मैजारो गरेको थियो । अन्तिम चुनावी सभा गरेको काठमाडौं महानगरपालिकाको मेयरमा भने एमाले पराजित हुने लगभग निश्चित भएको छ । काठमाडौं महानगरमा ओलीले उत्कृष्ट भन्दै प्रस्तुत गरेका मेयर उमेदवार केशव स्थापित तेस्रो भएका छन् । स्वतन्त्र उमेदवार बालेन शाह निर्वाचित भएका छन् । एमालेले अघिल्लोपटकको विरासत यहाँ पनि गुमाउने पक्का भएको छ ।
अघिल्लो निर्वाचनमा काठमाडौंमा मेयरमा एमाले र उपमेयर कांग्रेस निर्वाचित भएका थिए । यसपटक एमालेले उपमेयर भने सुरक्षित गरेको छ । एमालेकी सुनिता डंगोल गठबन्धनका उमेदवार रामेश्वर श्रेष्ठको भन्दा फराकिलो मतान्तरले विजयी भएकी छन् ।
सबै तस्बिर : ओलीको सचिवालयबाट