काठमाडौं । एएफसी एसियन कप २०२३ को छनोट प्रतियोगिता अघि नेपाली राष्ट्रिय फुटबल टोलीले अफगानिस्तानविरुद्ध खेल्ने भनिएको दुई मैत्रीपूर्ण खेल रद्द भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव इन्द्रमान तुलाधरले अफगानिस्तानको टिम कतार नजाने भएकाले खेल स्थगित गर्नु परेको बताए । नेपालले जेठ ११ र १५ गते कतारको दोहामा अफगानिस्तानविरुद्ध दुई मैत्रीपूर्ण खेल खेल्ने एन्फाले जनाएको थियो । तर, अफगानिस्तानको टोली कतार जान नमिल्ने भएकाले खेल स्थगित भएको जनाइएको छ ।
‘‘टिम जेठ ११ गतेसम्म कतार जाने छ । अफगानिस्तानको टिम कतार नजाने भएका कारण मैत्रीपूर्ण खेल नहुने भएको हो,’’ एन्फाका महासचिव तुलाधरले भने, ‘‘अब अन्य टिमसँग मैत्रीपूर्ण खेलका लागि प्रयास भइरहेको छ । त्यहाँ भएका टिमहरूसँग मिलाएर मैत्रीपूर्ण खेल्ने प्रयास भइरहेको छ ।’’
कुवेतमा हुने छनोट प्रतियोगिताको समूह ‘ए’मा नेपालले इन्डोनेसिया, जोर्डन र कुवेतविरुद्ध खेल्नेछ । नेपालले पहिलो खेल यही जेठ २५ गते जोर्डनविरुद्ध, २८ गते कुवेत र ३१ गते इन्डोनेसियाविरुद्ध खेल्ने छ ।
कुवेत भ्रमणका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी जेठ ६ गते २३ सदस्सीय टोलीको घोषणा गरेका थिए । २३ सदस्यीय टोलीमा नियमित कप्तान किरण चेमजोङसहित मुख्य ११ खेलाडीलाई टिमबाहिर राखेर अल्मुताइरीले टिम घोषणा गरेका थिए ।