काठमाडौं । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिडियाले आफूविरुद्ध कु–प्रचार गरेको आरोप लगाएका छन् । आइतबार दाङको तुलसीपुरमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले प्रतिगामी शक्तिलाई परास्त गर्न गठबन्धनलाई भोट हाल्नुहोस् नभए देश दुर्घटनामा फस्न सक्छ भन्दा नकारात्मक प्रचार भएको बताए ।
“कतिपय मिडियाले मलाई भने जनतालाई धम्कायो, गठबन्धनलाई जिताएन भने देशमा दुर्घटना हुन्छ भन्यो भन्ने चर्चा पनि तपाईंहरुले सुन्नुभयो होला । अस्ति प्रधानमन्त्रीजी र हामी भरतपुरमा र काठमाडौं महानगरको सभामा जाँदा हामीले भनेको यति हो कि ठूलो प्रतिगामी षडयन्त्र लोकतन्त्रविरोधी षडयन्त्रलाई परास्त गर्ने क्रममा जन्मिएको हो,” उनले भने, “यो निर्वाचनबाट पनि त्यो षडयन्त्रलाई परास्त गर्न जरुरी छ । गठबन्धनको उमेदवारलाई जिताएर मात्र हामी प्रतिक्रान्ति र प्रतिगमनको षडयन्त्रलाई परास्त गर्न सक्छौँ भनेर मैले भनेको थिएँ । त्यो भनाइलाई छोरी जिताउनका लागि देशै भाँडमा जाओस भन्यो, दुर्घटनमा पर्छ भन्यो भनेर नकारात्मक ढंगले प्रचार गरिएको छ ।”
अध्यक्ष प्रचण्डले केन्द्रबाट गठबन्धन गरिए पनि अझैसम्म तल्लो तहलाई गठबन्धनको आवश्यक्ता र महत्व बुझाउन नसकिएको बताए । उनले तलैसम्म एकअर्काप्रति विश्वस्त हुने आवश्यक्ता महसुस नभएको उनको भनाइ छ । कार्यकर्तामा एक अर्कालाई भोट हाल्न गाह्रो हुने कल्चर भएकाले पनि जटिलता पैदा भएको उनको भनाइ छ । उनले इतिहासको आवश्यक्ता मनन गरेर कम्तिमा यो पटक दृढताका साथ गठबन्धनलाई मत दिन अनुरोध समेत गरे ।