जेरुसलेम । इजरायलमा बन्चरो र छुरा प्रहार गरी तीनजनाको हत्या भएको छ । उनीहरूको हत्या गरेको आरोपमा दुईजना संदिग्ध प्यालेस्टाइनी खोजी गरिरहेको त्यहाँको प्रहरीले जनाएको छ ।
अति कट्टर यहुदीहरूको बाक्लो बसोबास रहेको एलाड सहरमा बिहीबार राति यो घटना घटेको हो । यस आक्रमणमा घाइते भएका अरु सातमध्ये दुईजनाको स्थिति चिन्ताजनक रहेको बताइएको छ ।
गत मार्चको उत्तरार्ध यता इजरायलमा प्यालेस्टाइनी वा इजरायली अरबहरूबाट हुँदै आएका भयानक आक्रमणको यो पछिल्लो घटना हो ।
घटनालगत्तै इजरायली सुरक्षाकर्मीहरूले पश्चिमी क्षेत्रका थुप्रै स्थानमा छापा मारेका छन् । इजरायली प्रहरीले एलाडको आक्रमणमा संलग्न प्यालेस्टाइनीहरू उत्तरी पश्चिम किनारको जेनिन जिल्लाबाट आएको बताएको छ ।
यसैसाता वार्षिक स्मृति र स्वाधीनता दिवस मनाउन लागेकाले इजरायलले सुरक्षालाई व्यवस्थालाई मध्यनजर गर्दै मंगलबारदेखि नै पश्चिम किनारका प्रवेश द्वारहरु बन्द गरेको थियो ।
स्वाधीनता दिवस मनाउन मानिसहरू परिवार सहित एलाडस्थित एउटा पार्क र मूल सडकमा भेला भइरहेका बेला आक्रमण भएको हो । दुवै व्यक्तिले ‘अल्लाह अकबर’ भनेर चिच्याउँदै आक्रमण गरेका थिए । मारिनेमा एकजना ३५ र दुईजना ४० वर्षीय पुरुष रहेका छन् । उनीहरूको शुक्रबार सामूहिक अन्त्येष्टि गरिएको छ ।
इजरायली प्रधानमन्त्री नाफ्टाली बेन्नेटले हत्यारालाई पक्रेर कारबाही गरिने बताएका छन् ।