काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा आईजीपी नियुक्तिलगत्तै केन्द्रीय सुरक्षा समितिको बैठक राखेका छन् ।
बिहान नेपाल प्रहरीका नवनियुक्त आईजीपी धिरजप्रताप सिंह र सशस्त्र प्रहरीका आईजीपी राजु अर्याललाई दर्ज्यानी चिह्न प्रदान गरेपछि उनले दिउँसो केन्द्रीय सुरक्षा समितिकाे बैठक राखेका हुन् ।
बैठकमा विशेषगरी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको सुरक्षा प्रबन्धका सन्दर्भमा अहिलेसम्म भएका कामको समीक्षा भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकार दिए । उनकाअनुसार बैठकमा निर्वाचनको प्रचार प्रसारका क्रममा हुन सक्ने घटनालाई मध्यनजर गर्दै कसरी घटना घट्न नदिने र घटना घटिहालेमा समन्वयात्मक हिसाबले कसरी सामान्यीकरण गर्ने भन्ने विषयमा छलफल भएको छ ।
बैठकमा गृहमन्त्री खाँणले अहिलेसम्म निर्वाचन सुरक्षाका लागि भए गरेका काम प्रशंसायोग्य रहेको भन्दै स्थानीय निर्वाचन शान्तिपूर्ण तरिकाले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मिलाउनु पर्ने सुरक्षा प्रबन्धमा कुनै कसर बाँकी नराख्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका थिए ।
“सरकारको मुख्य ध्येय शान्तिपूर्ण तरिकाले स्वच्छ, निष्पक्ष र धाँधलीरहित तरिकाले स्थानीय तह निर्वाचन सम्पन्न गर्नु हो,” गृहमन्त्री खाँणले भनेका थिए, “अहिलेसम्म तपाईंहरूले मिलाएको सुरक्षा प्रबन्ध प्रशंसायोग्य छ । अब अझ राम्रो सुरक्षा प्रबन्धमा मिलाउनु होला ।”