site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
शेखर–गगनलाई गुरुराजको प्रश्न : साथीहरूमाथि अन्याय भयो भन्न पनि नसक्ने कसरी भयौँ ?

काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले कांग्रेसमा न्यायको राजनीति धरापमा परेको भन्दै चिन्ता जाहेर गरेका छन् ।

विधि र पद्धति छोडेर मनी र मसल्सतर्फ राजनीति धकेलिएको भन्दै घिमिरेले आफूलाई कांग्रेसको सक्रिय राजनीतिबाटै विश्राम लिने इच्छा जागेको बताएका हुन् । 

“यो पार्टीमा मूल्य पद्धतिको अस्तित्व समाप्त भयो । अहिले टिकट वितरणमै मूल्य पद्धति ख्याल गरिएन, अवसरको वितरणसमेत न्यायोचित हुन सकेन,” घिमिरेले बाह्रखरीसँग भने, “पहुँच, पकड, पैसा र गुटगत स्वार्थलाई मात्र टिकट वितरणको आधार बनाइयो । केही राम्रै साथीहरूले अवसर पाए पनि अधिकांस पार्टीका साथीहरू अन्यायमा छन् । अवसरबाट बञ्चित भएका छन् ।” 

उनले त्यसरी अन्यायमा परेका साथीहरूका लागि बोलिदिने कांग्रेसमा कोही पनि नभएको बताए । 

“पार्टीभित्र अन्याय भयो भनेर बोलिदिने मान्छे कोही भएन,” घिमिरेले भने, “यत्रो लोकतान्त्रिक पार्टीका यति धेरै नेता भएका ठाउँमा पार्टीभित्र कसैले पनि अन्याय हुँदैछ भनेर बोलेन । पार्टीभित्र अन्याय भयो भनेर पनि कसैमा पश्चाताप छैन ।” 

स्थानीय तह निर्वाचनमा कांग्रेसका शीर्ष तहका नेताहरूले पार्टीलाई जिताउने, कार्यकर्तालाई न्याय गर्ने र उत्साह भर्नेबारे नसोचेको भन्दै नेताहरूको ध्यान आफ्नो गुट बलियो बनाउने र आर्थिक रुपमा बलियो बन्नेमा मात्र केन्द्रित भएको बताए । 

“पार्टीभित्रका यी तमाम प्रवृत्तिसामु पार्टीभित्र आफू ‘अनफिट’ भएको महसुस हुँदैछ,” घिमिरेले भने, “जुन पार्टीमा म ‘फिट’ हुन्न भन्ने लागेपछि त्यो पार्टीमा सक्रिय राजनीति सम्भव हुन्न र गर्नु हुन्न भन्ने मनमा आइरहेको छ ।” 

उनले पार्टीभित्र बस्दा आफ्ना अनुशासन र दायरा हुने भन्दै आफू स्वतन्त्र हुनका लागि पनि पार्टीको सक्रिय राजनीतिबाट विश्राम लिनु आवश्यक देखिएको बताए ।

१४औं महाधिवेशनमा शेखर कोइराला प्यानलमा प्रदेश–१को सभापतिमा उमेदवारी दिएका घिमिरे २ मतले पराजित भएपछि केन्द्रमा कोइराला प्यानललाई जिताउन सक्रिय भएका थिए ।

अहिले तपाईं शेखर–गगन समूहसँग पनि निराश हुनुभएको हो ? भन्ने प्रश्नमा घिमिरेले कांग्रेसमा अन्याय विरुद्ध कोही पनि नेता नै नदेखिएको बताए । 

“अर्को समूहसँग त मेरो पहिल्यैदेखि प्रश्न थिए । त्यो समूहबाट मेरो अपेक्षा नै थिएन,” घिमिरेले भने, “मेरो समूहकै नेताहरू पनि न्यायका पक्षमा उभिने भन्दा स्वार्थ र व्यक्तिगत गुट निर्माणका पक्षमा उभिनुभयो ।” 

उनले विराटनगरमा साना साना विषय भए पनि देशभर कांग्रेसमा गम्भीर समस्या देखिएको बताए । 

उनले समग्र राजनीति नै गलत प्रवृतितर्फ उन्मुख भएको भन्दै कांग्रेसको राजनीति पनि सुध्रने भन्दा बिग्रने बाटोमा अघि बढेको बताए । 

उनले आफूमा राजनीति सुधारका लागि कांग्रेसभित्र एउटा गतिलो समूह छ भन्ने विश्वास राखे पनि नेताहरूले त्यो विश्वास तोडेको बताए । त्यसो भए तपाईंले कांग्रेस छोड्न लाग्नुभएको हो भन्ने प्रश्नमा घिमिरेले भने, “छोड्न लागेको भन्दा अर्को चुन्न लागेको भन्ने गलत अर्थ लाग्न सक्छ । म सक्रिय राजनीतिबाट विश्राम लिन लागेको ।”

त्यस्तो विश्रामले सन्तोष दिन्छ त ? घिमिरे भन्छन्, “अहिले म कांग्रेसको नेता, ममाथि थुप्रै अंकुशहरू छन् । पार्टीमा भएपछि अनुशासन र दायराहरू पनि हुन्छन् । जब म स्वतन्त्र हुन्छु, त्यसपछि म लागेका कुरा गर्न पाउँछु । आफ्नो क्षमताको अधिकतम प्रयोग गर्न सक्छु ।”

 


 

प्रकाशित मिति: मंगलबार, वैशाख १३, २०७९  १२:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro