काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले जापानले समृद्धिका लागि हासिल गरेको ज्ञान, सीप र अनुभव नेपालका लागि उपयोगी हुने बताएका छन् । नेपाल जाइका अलमनाई एशोसिएशनले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री खड्काले जापानमा गएका नेपालीले हासिल गरेका ज्ञान, सीप र अनुभव नेपालले उपयोग गरेर अघि बढनुपर्ने पनि बताए ।
उनले भने, “जापानले हामीलाई अप्ठ्यारो परेको बेलामा चाहे भूकम्पको बेलामा होस्, चाहे कोभिडको बेलामा होस्, धेरै ठूलो मानवीय सेवा उपलब्ध गराएको छ । यसका लागि पनि म जापान सरकारलाई नेपाली जनता र नेपाल सरकारको तर्फबाट हार्दिक हार्दिक धन्यवाद दिन्छु ।”
उनले जापान गएका नेपालीको ज्ञान, सीप र अनुभव उपयोग गर्नु पर्ने बताए । मन्त्री खड्काले जापानले नेपाललाई विनासर्त सहयोग गर्दै आएको पनि स्मरण गरे । नेपालको विकास साझेदारीमा जापान सरकारको सबैभन्दा ठूलो योगदान रहेको उनको भनाइ छ ।