काठमाडौं । बिस्केट जात्राको अवसरमा शुक्रबार भक्तपुरको मध्यपुरथिमिका स्थानीयवासीले सिन्दुर खेलेर सुथः सिया जात्रा मनाएका छन् । मध्यपुरथिमिको टोल टोलबाट विभिन्न देवताको मूर्तिलाई खटमा विराजमान गराई खट बोकेर सिन्दुर खेल्दै यो जात्रा मनाइएको हो ।
थिमिमा मात्र मनाइने यो जात्रामा एकअर्कामा सिन्दुर दलेर धिमे लगायतका स्थानीय बाजामा नाच्दै चिराग बालेर खट बोकी बालकुमारीमा ३२ खट ल्याएर मनाउने परम्परा छ । बिहानै बालकुमारी र कालिका अर्थात् बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालेको थियो । बिहीबारदेखि विष्णुवीर र दक्षिण बाराहीको खटसमेत मन्दिरमा राखिएको थियो ।
बिहानै सिद्धिकालीको खट ल्याएर आफ्ना गणसहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरु भएको थियो ।