
मस्को । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले मंगलबारको सम्बोधनमा पश्चिमा राष्ट्रहरूलाई चेतावनी दिँदै रुसलाई एक्लो पार्ने सबै प्रयास असफल हुने र यसलाई कसैले रोक्न नसक्ने बताएका छन् । उनले यसमा सोभियत अन्तरिक्ष कार्यक्रमको उदाहरण दिँदै रुस आफैँले कठिन परिस्थितिमा रहँदासमेत उल्लेखनीय उपलब्धि हासिल गरेको बताएका हुन् ।
युक्रेन युद्धका कारण रुसमाथि अमेरिका र युरोपले लगाएका प्रतिबन्धपछि रुसले अब कहिल्यै पनि पश्चिममाथि निर्भर नरहने स्पष्ट पारेको छ ।
पुटिनले भनेका छन्, “त्यसबेला पनि सबैतिरबाट प्रतिबन्ध लगाइएको थियो, पूर्ण रूपमा एक्लो पारिएको थियो तर सोभियत युनियनले अन्तरिक्ष मिसनमा पहिलो सफलता हासिल गरेर देखायो । यसमा हामी आफैँ एक्लो हुन चाहेका होइनौँ । वास्तवमा अहिलेको आधुनिक दुनियाँमा पूर्ण रूपमा कसैलाई एक्लो पार्न असम्भव छ । विशेषगरी रुस जस्तो विशाल मुलुकलाई ।”