काठमाडौं । काठमाडौं उपत्यकामा कार्यरत ट्राफिक प्रहरीले डिउटीको समयमा अनिवार्य रूपमा डायरी र कलम साथमा बोक्नुपर्ने भएको छ ।
ट्राफिक प्रहरीले सडक सुरक्षा, ट्राफिक व्यवस्थापन, शान्ति सुरक्षाका लागि डिउटीमा खटिदाँ हुने घटनाहरू तथा अन्य विवरणहरू सम्झेर नसक्ने, तत्काल भुल्न सक्ने भएकाले कार्यालय प्रयोजनमा काम लाग्ने विवरणहरूको सुरक्षित र उत्तरदायी अभिलेखीकरण गर्ने उद्देश्यले सो व्यवस्था लागु गरिएको बताइएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले उपत्यकामा कार्यरत झन्डै १६०० ट्राफिक कर्मचारीहरूलाई डायरी तथा कलम वितरण गरेका छन् ।
डिउटीको समयमा सवारी दुर्घटनाहरूको टिपोट गर्न, दुर्घटना गरेर फरार वा ट्राफिक नियम उल्लङ्घन गरेका सवारी साधनको नम्बर टिपोट गर्न, विभिन्न घटनाहरूको टिपोट गर्ने प्रयोजनका लागि डायरी र कलम दिएको जोशीले बताए ।