काठमाडौं । सार्वजनिक यातायात व्यवसायीले आफैँ भाडा बढाउने चेतावनी दिएका छन् । पटक–पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै सरकारले गाडी भाडा नबढाएको भन्दै व्यवसायीले आफैँ बढाउने चेतावनी दिएका हुन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिअनुसार आफैँ भाडा बढाउने तयारी भइरहेको बताए । ‘‘सार्वजनिक यातायातको भाडादर समायोजन गर्न सरकारले पटक–पटक बेवास्ता गर्दै आएको छ । हामी आन्दोलनको तयारीमा छौँ । अब आफैँ भाडा बढाउँछौँ,” महासचिव सिटौलाले भने ।
कातिक १ देखि सरकारले सार्वजनिक सवारीसाधनको भाडादर बढाएको थियो ।
हाल पेट्रोलको मूल्य प्रतिलिटर १५५ र डिजेलको मूल्य १३८ पुगेको छ ।
व्यवसायीले सरकारलाई पेट्रोलियम पदार्थको मूल्य बढ्दा स्वतः भाडा बढ्ने र घट्दा घट्ने स्वचालित भाडादर कामय गराउन दबाब दिइरहेको छन् ।
सार्वजनिक यातायात केन्द्रीय महासंघका महासचिव भरत नेपालले स्वचालित भाडा बढाउन सरकारलाई दबाब दिइरहेको बताए । ‘‘सरकारलाई दबाब दिँदै आएका छौँ । हरेक साताजस्तो पेट्रोलियम पदार्थको मूल्य बढिरहेको छ । मूल्यवृद्धिसँगै हवाई कम्पनीलगायतले स्वचालित भाडा समायोजन गर्छन् । हामीले महँगो भाडा लिन खोजेका होइनौँ । मूल्यवृद्धिअनुसारको भाडा वृद्धि गर्न मात्रै भनेका हौँ,” उनले भने ।