विराटनगर । स्थानीय चुनाव नजिकिएपछि नेपाली कांग्रेस मोरङले जिल्लास्तरीय प्रशिक्षण आयोजना गरेको छ । पार्टी कार्यालय विराटनगरमा बुधबार आयोजित प्रशिक्षणमा केन्द्रीय नेता डा. मिनेन्द्र रिजाल र डा.डिला संग्रौला सहभागी भएका थिए ।
त्यस अवसरमा नेता रिजालले अमेरिकी सहयोग परियोजना (एमसीसी)को विषयमा जनमानसमा रहेको भ्रम चिर्न जरुरी भएको बताए । उनले भने, “नेपालीको हितका लागि आएको परियोजनाको विषयमा अनर्गल रूपमा गरिएका प्रचारलाई जनतामाझ गएर बुझाउन आवश्यक छ । यो नेपालीको हितको लागि गरिएको सम्झौता हो । कतिपयले यसलाई चुनावी मुद्दा बनाउने अभिष्टका साथ गलत प्रचार गरिरहेका छन् ।”
रिजालले नेपाली कांग्रेसका नेता कार्यकर्ता एक ढिक्का भएर चुनावी अभियानमा होमिनुपर्ने सुझाव दिए ।
“हिजो सत्तामा रहँदा तत्कालीन नेकपाका प्रधानमन्त्री र मन्त्रीहरूले आफैँले प्रस्ताव गरेको र प्रक्रिया अघि बढाएको एमसीसीका विषयमा अहिले भ्रम छर्न खोजिँदैछ,” नेता रिजालले भने, “न कुनै देशका सेना आउँछन नत कुनै उथलपुथल नै हुन्छ तर यहाँ विपक्षी दल जनतालाई गुमराह बनाउन खोज्दैछ ।”
सरकारमा रहँदा सबै ठिक, सबै आफूले मात्रै गरेको भन्ने र सत्ता बाहिर गएपछि सबै बेठिक भन्ने प्रवृतिबाट मुक्त हुनुपर्ने उनको सुझाव छ ।
कांग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौलाले चुनावी अभियानलाई तल्लो तहसम्म संचालन गर्नुपर्ने बताउँदै पार्टीका नेता तथा कार्यकर्ताबीचको एकतलाई अक्षुण राख्नुपर्ने बताइन ।
“एक कम्युनिस्ट शासकले संविधान नै मास्ने षडयन्त्र गरेको अवस्थामा देश र जनताको माग बमोजिम कांग्रेसले नेतृत्व लिनुपर्यो,” उनले भनिन्,“अब फेरि एकपटक जनताबाट जनमत लिएर देशलाई सही दिशामा लग्न र विकासलाई अघि बढाउन आवश्यक भएको छ ।”
संग्रौलाले स्थानीय चुनावका बेला कांग्रेसले नेतृत्व लिएका ठाउँहरूमा जनहित र जनताको पक्षमा गरिएका असल अनि राम्रा कामको आम कांग्रेसजनबाट प्रचार प्रसार हुनुपर्नेमा जोड दिइन् ।
नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूले केन्द्रले तोकेकासँगै स्थानीय रूपमा तय गरिएका कार्यक्रम लिएर कांग्रेस टोलटोलमा जान सुरु गरेको बताए ।
“हामी हाम्रो पार्टीको कार्यदिशा, योजना र कामहरूबारे छलफल गर्न जनतामाझ जान सुरु गरिसक्यो,” उनले भने ।