काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह भन्दा आपत्ति भए स्थानीय सरकार भन्न सकिने बताएका छन् । स्थानीय सरकार लोकतन्त्रको पहिलो पाठशाला र जनताको घरदैलोको सरकार भएको भन्दै उलने शब्दमा आपत्ति जनाउन नहुने बताए ।
नेपाल नगरपालिका संघको २९औँ वार्षिकोत्सवका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले नगरपालिकाका जनप्रतिनिधिहरूलाई सेवा प्रवाहमा ध्यान दिन अनुरोध गरे ।
“नाम हैन, काम गर्ने हो । स्थानीय सरकार भन्दा चित्त बुझ्छ भने त्यो पनि भनौँला । सबै पार्टीलाई सहमतिमा ल्याएर कहाँ–कहाँ संशोधन गर्ने हो गरौँला,” उनले भने, “मुख्य कुरा भनेको सेवा प्रवाह हो । जनताको दुःख हटाउने काम गर्नुहोस् । तह शब्द हटाइदिउँला केही छैन । जनतालाई प्रत्यक्ष सहभागी गराएर विकास गर्नुहोस् । नीति निर्माण र कार्यान्वयनमा जनतालाई सहभागी गराउनुहोस् ।”
विकास निर्माण तथा सेवा प्रवाहको क्षेत्रमा महत्त्वपूर्ण अधिकार र जिम्मेवारी नगरपालिकाहरूको भएको तथा घरदैलोको सरकार भएकाले स्थानीय तहको भूमिका संवेदनशील भएको उनको भनाइ छ ।