काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट नागरिकले आफ्नो जातीय, सांस्कृतिक, अधिकार र पहिचान प्रत्याभूत गर्न पाएको बताएका छन् । बलिदानबाट प्राप्त यिनै उपलब्धिको रक्षा गर्दै देशमा राष्ट्रिय स्वाधीन अर्थतन्त्रको निर्माण गरी समृद्धिको यात्रातर्फ अगाडि बढ्नु पर्ने अहिलेको आवश्यकता भएको उनको भनाइ छ ।
“पराधीन र परनिर्भर अर्थतन्त्रले कुनै पनि देशको समृद्धि भएको विश्व इतिहास छैन । तसर्थ यसपर्वको अवसरमा शेर्पालगायत सम्पूर्ण नेपाली जनसमुदायमा राष्ट्रिय स्वाधीनताको रक्षा र सुदृढ गर्दै आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा एकजुट हुन आह्वानसहित सुस्वास्थ्य, दीर्घायू र उत्तरोत्तर प्रगतिको कामना गर्दछु,” ग्याल्बो ल्होसार पर्वको अवसरमा सुभकमाना दिँदै अध्यक्ष प्रचण्डले भनेका छन्, “यस पर्वले नेपालीमा आपसी हित र मेलमिलापको भावना जागृत गराउँदै देशको समृद्धिमा अग्रसर बन्न प्रेरणा प्राप्त होस् भन्ने कामना गर्दछु । देशका विभिन्न समुदायका आ–आफ्ना मौलिक सांस्कृतिक पहिचान छन् । समुदायहरुको मौलिक पहिचान देशका अमूल्य सम्पत्ति हुन् ।”