काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) आज पनि संसद्मा टेबल नहुने भएको छ ।
संघीय संसद् सचिवालयले सार्वजनिक गरेको आजको बैठकको कार्यसूचीमा एमसीसी समावेश छैन ।
प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलहरूबीच सहमति नजुटेपछि एमसीसी टेबल नहुने भएको हो । आज नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको शंकर हलमा कार्यव्यवस्थाको बैठक बसेको थियो ।
आजको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) सहभागी भएन ।
अहिले केही बेरमा प्रतिनिधिसभाको बैठक बस्दै छ । एमालेले संसद् अवरोध पनि जारी राख्ने जनाएको छ ।
कार्यव्यवस्था परामर्श समितिको बैठकअघि बसेको सत्ता गठबन्धनमा आबद्ध पाँच दलका नेताहरूको बैठकमा आज एमसीसी टेबल नगर्ने सहमति भएको बताइएको छ ।
सत्ता गठबन्धनमा एमसीसीबारे सहमति जुटाउन सकस परेको छ । एमालेले त्यसबारेमा पहिले गठबन्धन प्रस्ट हुनुपर्नेमा जोड दिँदै आएको छ ।