site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमसीसी रोक्न खोज्ने दललाई रामचन्द्रले भने– देश विकास गठबन्धनका नाममा बन्धक बन्न सक्दैन 
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को लामो समयसम्मको दबाबपछि प्रधानमन्त्री शेरबहादुर देउवा उच्चस्तरीय राजनीतिक समन्वय समिति बनाउन सहमत भएका थिए । प्रधानमन्त्रीले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा उक्त समिति गठन गरेका हुन् ।

यसबीचमा संयोजक पौडेलले देश असफलतातर्फ उन्मुख भएको र वर्तमान नेतृत्व पुस्ता असफल भएको भन्दै १६ बुँदे प्रस्ताव पेस गरेका थिए । उनको प्रस्तावमा संसद् र अदालतको अवरोध हटाउन नसक्नु र ठूला परियोजना कार्यान्वयनमा रहेका अवरोध हटाउन नसक्नु वर्तमान राजनीतिक नेतृत्वको मुख्य कमजोरी भएको उल्लेख थियो । 

पौडेलले सोही प्रस्ताव पेस गर्ने क्रममा प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनालहरूले एमसीसीविरुद्ध जनस्तरमा विचार निर्माण गरेको भन्दै आफूलाई एमसीसी राष्ट्रघाती छ भनेर ‘कन्भिन्स’ गर्न अन्यथा कार्यान्वयनका लागि तयार रहन आग्रह गरेका थिए ।

त्यसलगत्तै एमसीसीमा रहेका राष्ट्रहितविरुद्धका प्रावधान भए औँल्याउन र प्रतिवेदन पेस गर्न तीन सदस्यीय कार्यदल बनेको थियो । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की समेत राखेर झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ सम्मिलित कार्यदल बनाइए पनि अहिलेसम्म प्रतिवेदन बुझाइएको छैन । प्रतिवेदन नदिइएपछि प्रधानमन्त्री देउवाले गठबन्धनका नेताहरूलाई एमसीसी अनुमोदनका लागि प्रस्ताव गरेका छन् ।

त्यो प्रस्तावपछि गठबन्धनमा ‘खैलाबैला’ नै मच्चिएको छ । एमसीसीमा असहमति जनाउँदै प्रचण्डले त्यसविरुद्ध माहोल बनाउने प्रयास गरेका छन् । तर, उनको प्रयासले सार्थकता पाउन सकेको छैन ।

पौडेललाई ‘कन्भिन्स’ गर्ने प्रयास गरेका प्रचण्ड आफ्नो प्रयासमा सफल हुन सकेनन् । “प्रचण्डजीको पनि फोन आएको थियो । उहाँले ‘एमसीसी पास गर्नलाई अहिले अलि अप्ठेरो छ । यसमा सुधार आवश्यक छ, नत्र थप अप्ठेरो आउन सक्छ । एमसीसीले हाम्रो गठन्धनलाई असर गर्न लाग्यो, के गर्ने हो ?’ भनेर भन्नुभयो,” पौडेलले भने, “मैले गठबन्धनका नाममा मुलुकको विकासलाई बन्धक पार्नु त भएन नि, देशै बेच्ने होइन र त्यसका लागि तयार हुने कोही पनि नेपाली हुँदैन, हैन, देशलाई घाटा नै हुन्छ भन्ने हो भने ठोस रूपमा आउनुपर्‍यो भनेको छु । उन्नतिका बाटोमा कति थरी भाँजाहरू छन्, राष्ट्रिय आत्मविश्वासको कमी देख्छु मैले भनेर प्रचण्डजीलाई पनि भनेको थिएँ । नारायणकाजीलाई पनि त्यही भनेको हुँ ।”

उनले आफू गठबन्धन चलोस् भन्ने पक्षमा रहे पनि गठबन्धनले देशलाई घाटा हुन नहुने पक्षमा उभिएको बताए । “गठबन्धन भत्कियोस् भन्ने म पनि चाहन्नँ । तर, यो देशलाई ठप्प राखेर विकासको गतिलाई रोकेर बस्नुपर्‍यो भने केका लागि गठबन्धन ?,” उनले बाह्रखरीसित भने, “कमजोरी छन् सम्झौतामा भने सुधार गर्न सकिन्छ । अनुमोदन नगर्न पनि सकिन्छ । तर, यहाँको राजनीतिक दुनो सोझ्याउन सहयोग सम्झौतामा अवरोध गर्न मिल्दैन ।”

प्रचण्डको प्रस्तावमा अहिले एमसीसी अघि नबढाउनकै लागि नारायणकाजीले पनि पौडेललाई सहमत गराउने प्रयास गरेका थिए । श्रेष्ठले त बुधबार दिउँसो पौडेललाई ‘एमसीसीका विषयमा कहाँ कमी छन् बताउँछु’ भनेर भेटेका थिए । भेटमा राखेका तर्कलाई पनि पौडेलले ‘कन्भिन्सिङ’ नभएको जवाफ दिएका छन् ।

“तपाईंले दिएका तर्कबाट म कन्भिन्स हुन सकिनँ, नारायणकाजीजी । यो नेपाल राष्ट्रलाई नै केही समस्या आउने म देख्दिनँ । कुनै स्वार्थमा लागेर विकास योजनालाई प्रभावित पारेर अन्तर्राष्ट्रिय बजारमा हाम्रो बिजुली लाने कुरालाई अवरोध नगर्नुस् भनेको छु,” पौडेलले भने ।

उनले आर्थिक सूचक समेत कमजोर अस्थामा पुगिसकेको भन्दै विकास प्रभावित गरे देश थप कमजोर बन्ने अवस्था रहेको भन्दै उल्टो श्रेष्ठलाई कन्भिन्स गर्ने प्रयास गरेका थिए ।

“भुक्तानी सन्तुलनको समस्या आइरहेको छ, वैदेशिक मुद्रा आर्जनको समस्या आइरहेको छ,” पौडेलले भनेका थिए, “हाम्रो निर्यात केही छैन । बिजुली निर्यातका लागि पूर्वाधार रोक्ने कुरा राष्ट्रहितमा हुँदैन ।”

उनले श्रेष्ठलाई कार्यदलबाट छिटो प्रतिवेदन बुझाउन आग्रह पनि गरेका थिए । “कार्यदल बनेको छ, कार्यदलको रिपार्ट आएको छैन । तपाईंहरू रिपोर्ट नल्याउने अनि अन्य क्षेत्रबाट लबिङ गरेर हुन्छ ?,” पौडेलले प्रश्न गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, माघ २१, २०७८  १०:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro