
काठमाडौं । साउथ सुपरस्टार धनुष र उनकी श्रीमती ऐश्वर्या रजनीकान्तले १८ वर्षको वैवाहिक सम्बन्धमा पूर्णविराम लगाउने निर्णय लिएका छन् । अभिनेताले सोमबार ट्विटरमार्फत आफूहरूले सम्बन्धविच्छेदको निर्णय लिएको घोषणा गरेका हुन् ।
साउथकै सुपरस्टार रजनीकान्तकी जेठी छोरी ऐश्वर्या र धनुषको सन् २००४ नोभेम्बर १८ मा विवाह भएको थियो । उनीहरूका दुई छोरा लिन्गा र यात्रा छन् ।
ट्विटरमार्फत विज्ञप्ति जारी गर्दै धनुषले लेखेका छन्, “साथी, जोडी, अभिभावक र शुभचिन्तकको रूपमा १८ वर्षको साथ । यो यात्रा वृद्धि, समझदारी, समायोजन र अनुकूलनको हो । आज हामी हाम्रो बाटो अलग भएको ठाउँमा उभिएका छौँ । ऐश्वर्या र मैले एक जोडीको रूपमा अलग हुने र राम्रोका लागि जोडीको रूपमा नभएर एक अलग–अलग व्यक्तिको रूपमा एकार्कालाई बुझ्न समय लिन निर्णय गरेका छौँ ।”
साथै, धनुषले आफूहरूको निर्णयलाई सम्मान गरिदिन र यसका लागि आवश्यक गोपनीयता कायम गरिदिन प्रशंसकहरूसँग आग्रह पनि गरेका छन् ।
ऐश्वर्याले पनि सोही स्टेटमेन्ट आफ्नो इन्स्टाग्राममा सेयर गरेकी छन् । ऐश्वर्या पनि चलचित्र क्षेत्रमा नै आबद्ध छिन् । उनी फिल्ममेकर र पाश्र्वगायिका हुन् । द इकोनोमिकटाइम्सबाट ।