काठमाडौं । चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिने निजी मेडिकल कलेज र सरकारबीच सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा छलफल चलिरहेको छ ।
शिक्षा मन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकमा सरकार र मेडिकल कलेजका प्रशासनबीच वार्ता चलिरहेको हो ।
छलफलमा कलेज प्रशासनले लिएको अतिरिक्त शुल्कबारे लगभग कुरा मिलिसकेको तर कलेजको छात्रावासका लागि भने सहमति हुन बाँकी रहेको बताइएको छ । छलफल भने अझै जारी छ ।
पीडित विद्यार्थीहरूले अतिरिक्त शुल्कविरुद्ध आन्दोलन गरेपछि केही दिनदेखि निजी मेडिकल कलेजहरू बन्द छन् । केही महिनादेखि केएमसी लगायतका कलेजले विद्यार्थीहरूबाट चर्को शुल्क उठाएको भन्दै विद्यार्थीहरू आन्दोलनमा उत्रिएका हुन् ।
शिक्षामन्त्री पौडेलले बढी शुल्क लिने कलेजलाई कार्बाही गर्ने चेतावनी दिँदै आएका छन् । तर, विद्यार्थीको समस्याको समाधान भने अझै हुन सकेको छैन ।
वार्तामा मेडिकल शिक्षा व्यवसायी सुनिल शर्मासहित, चिकित्सा शिक्षा आयोगका पदाधिकारी, त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा अध्ययन संस्थानका पदाधिकारी, काठमाडौँ विश्वविद्यालयका डिन, काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरू, विद्यार्थी र अभिभावकका प्रतिनिधि सहभागी छन् ।