site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
ओन्सेनमा निर्वस्त्र ! 
Sarbottam CementSarbottam Cement

नङ्ग्याउने भए जापानवासी नेपाली मित्रहरूले भन्ने कुराको छनक पाइसकेको थिएँ । प्रकाश पौडेल ‘माइला’ र लोकनाथ वस्तीले जापानी भाषामा ‘ओन्सेन’ भनिने प्राकृतिक रूपमा निस्किने तातोपानीको नुहाउने घरअगाडि पुर्याएपछि मचाहिँ मानसिक रूपमा नाङ्गिन तयार भइसकेको थिएँ ।

नेपालबाट आएका केही मित्रहरू त्यसबारेमा अनभिज्ञ थिए । वास्तवमा ओन्सेनमा नुहाउन जाँदा लुगा लगाएर प्रवेश गर्न पाइँदैन भन्ने कुरा मलाई थाहा थियो । ओन्सेनका बारेमा थाहा पाएकाले त्यहाँ अनिवार्य रूपमा नाङ्गिनुपर्दछ भनेर बुझिहाल्छन् ।

हामीलाई अनौठो लाग्ने तर सामूहिक रूपमा नाङ्गै नुहाउने त्यो परम्परा जापानी संस्कृतिको एउटा अङ्ग हो । जापानीहरू सार्वजनिक ओन्सेनमा मात्र होइन, बाबुआमा र छोराछोरीहरू प्राइभेट रुम भएको ओन्सेनमा गएर सामूहिक रूपमै नाङ्गै नुहाउँछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

एघार वर्षसम्मकी छोरीलाई बाबुले ओन्सेनमा लगेर नाङ्गै नुहाउन पाउने जापानी कानुन छ । बुझ्ने उमेरका छोराछोरीका अगाडि मचाहिँ नाङ्गिने कल्पना पनि गर्न सक्दिनँ ।

ओन्सेनको मुख्यद्वारबाट भित्र प्रवेश गरेपछि जुत्ता खोल्यौँ । जापानी परम्परामा घरमा मात्र होइन, अरू ठाउँमा पनि जुत्ता भित्र लैजाने चलन छैन । यस्तो नियम अधिकांश कार्यालयमा लागु हुन्छ ।

Global Ime bank

त्यसैको सिको गर्दै टोकियोमा अवस्थित नेपाली दूतावासमा ‘जुत्ता बाहिर’ भनेर सूचना टाँगेको देखेको थिएँ । त्यहाँचाहिँ जुत्ता खोलेर कार्यालयभित्र प्रवेश गर्ने कागजी नियम मात्र रहेछ ! दूतावासका कर्मचारीले नै जुत्ता पड्काउँदै तलमाथि गरेपछि अरू कसले पो नियम पालाना गर्लान् र ! त्यो सायद जापानीहरूलाई देखाउन मात्र थियो कि ?

जापानमा जुत्तालाई परै राखे पनि युरोपमा भने जुत्तालाई बेडरुमसम्मै पुर्याउन हिचकिचाउँदैनन् ।

हामी ‘चेन्जिङ रुममा’ पुगिसकेका थियौँ । चेन्जिङ रुम भने पनि त्यो खुला हलजस्तो थियो । त्यहाँ पुग्दा केही साथीहरू लाजले रातोपिरो भइसकेका थिए ।

खासमा त्यस वरपरका दृश्य उनीहरूले हेर्न सकेनन् । लज्जावती झारझैँ लजाए । लहरै राखिएका सयौँ लकरका अगाडि कोही नाङ्गै थिए, कोही नाङ्गिदै थिए । त्यो विचित्रको दृश्य देख्दा हाम्रा साथीहरूमा लाजको तरङ्ग फैलिएर तिनका मस्तिष्क झन्झनाइरहेको थियो ।

लाजले काज चल्दैनथ्यो । हाम्रै लागि लोकनाथले नाङ्गै नुहाउन, नाङ्गै तातोपानीमा डुबुल्की लगाउन, नाङ्गै तातो ढुङ्गामाथि उत्तानो परेर सुत्नका लागि मनग्गे पैसा तिरिसकेका थिए ।

नङ्ग्याएर अतिथि सत्कार गर्ने जापानी परम्परा त हुँदै होइन । तर, उनले हामीलाई यसरी नै स्वागत गर्न चाहे । मैले त्यसलाई सहर्ष स्वीकार गर्दै धन्यवाद दिएको थिएँ ।

ओन्सेनको पहिलो अनुभव लिन जाँदा म उत्पातै खुसी भएको थिएँ । जीवनमा हरेक कुराको अनुभव गर्नुपर्दछ भनेरै म हौसिएको थिएँ ।

लुगा खोलेर नाङ्गिने आँट कसैले गरिहालेका थिएनन् । कसले पहिले लुगा खोल्ला र त्यसपछि आफू खोलुँला भनेर केही साथीहरूले पर्खिरहेको देखेँ ।

लन्डनमा सोनाबाथ र स्पा जाँदा त्यसरी नै चेन्जिङ रुममा लुगा खोलेको र सावर लिने ठाउँमा लहरै राखिएका सावरमा अरूका अगाडि नाङ्गै भएको अनुभव भएकोले होला, मलाई खासै अप्ठ्यारो लागेन । म लुगा खोल्न थालेँ ।

‘लाज मानेर हुँदैन, फटाफट लुगा खोलौँ ।’ लाजको पर्दा उघार्दै लोकनाथ बोले ।

प्रकाश र लोकनाथ हाम्रा अगाडि नाङ्गै उभिएर लजालु साथीहरूलाई नाङ्गिन हिम्मत प्रदान गरिरहेका थिए ।

हामी सबै नाङ्गिएर लकरमा लुगा राख्दै थियौँ । छेउमा केही जापानीहरू पनि थिए । तिनीहरू हामीलाई पुलुक्क–पुलुक्क हेर्दै थिए । सायद हामीले लाज मानेको देखेर उनीहरूलाई झन् लाज लाग्यो होला !

जापानीहरू जिम, सार्वजनिक स्वीमिङ पुल र स्नानगृहमा अरूका अगाडि लुगा खोल्दै सहज रूपमै नाङ्गिने गर्दछन् । त्यो उनीहरूका लागि सामान्य कुरा हो । तर, त्यस्ता कार्य हामीलाई सरमछाडा, गतिछाडा र अश्लील लाग्न सक्छ ।

हाम्रो शरीरमा एक धरो कपडा बाँकी थिएन । नुहाउने स्थानतिर जाने तयारी गर्दागर्दै सरसफाइ गर्ने अधबैँसे उमेरकी जापानी महिला भुइँ पुछ्दै हामी भएतिर आइन् । केही साथी आत्तिए । केही साथीहरूका लागि त्यो कल्पनै गर्न नसकिने दृश्य थियो । लजालु साथीहरू धर्मसंकटमा परे ।

जापानमा यसरी कामदार महिला नाङ्गा पुरुष भएको ठाउँमा सहजै जान्छन् । त्यहाँ जान अप्ठ्यारो मान्दैनन् । जसरी डाक्टरले महिला वा पुरुषका यौनाङ्ग जाँच गर्नु उनीहरूको ड्युटी भएजस्तै जापानीहरू पनि त्यसलाई कामभन्दा अर्को नजरले बिलकुलै हेर्दैनन् । त्यो उनीहरूको कामप्रतिको जिम्मेवारीबोध हो ।

ओन्सेनमा त्यहाँको नियमानुसार उनीहरूले नै उपलब्ध गराएको एउटा हातेरुमालजत्रो मुख पुछ्ने कपडा मात्र लैजान पाइन्छ । त्यसले राम्ररी लाज छोप्न पनि पुग्दैन ।

त्यही हातेरुमाल लिएर अगि बढ्यौँ । केही साथीहरू त्यस रुमालले लाज छोप्दै हिँडिरहेका थिए । त्यो देखेर लोकनाथलाई झोक चलेछ । सायद उनलाई लाग्यो होला नाङ्गै हुनुपर्ने ओन्सेनमा हाम्रा साथीले नेपालीकै बेइज्जतै गरे ।

‘किन छोप्नुपर्यो ! यसरी छोप्नुलाई जापानीहरू राम्रो मान्दैनन् ।’ लोकनाथ बोले ।

लोकनाथले त्यति बोलेपछि ती मित्रहरूले रुमाल हटाएर हातमा बोके । वास्तवमा ओन्सेनमा कट्टु लगाउने वा रुमालले छोपछाप गर्न खोजे त्यस व्यक्तिको यौनाङ्ग छेउछाउमा चोटपटक लागेको वा कुनै घाउखटिरा आएको ठानेर शङ्काको नजरले हेर्ने गर्दछन् । त्यस्ता व्यक्ति ओन्सेनमा प्रवेश गर्न पाउँदैनन् ।

हाम्रो समूहमा त्यस्ता रोगी कोही पनि थिएनन् । बरु तिनलाई लाजको सङ्क्रमणले गाँजेको थियो । त्यो सङ्क्रमण लोकनाथको एक संवादले औषधिको काम गर्यो र चट्टै निको पनि भयो ।

ओन्सेनको तातोपानीमा नाङ्गै पसेर मज्जाले गफ लडाउने र नयाँ मित्र बनाउने थलोको रूपमा जापानीहरूमाझ लोकप्रिय छ । ओन्सेनका बारेमा मलाई मनपर्ने जापानी भाषाको ‘हादाको नो चुकिआइ’ भन्ने एउटा वाक्य छ । यसको अनुवाद हुन्छ ‘नग्न–सम्बन्ध’ वा ‘नग्न–मित्रता’ ।

नग्न–मित्रताभित्र ठूलो दर्शन लुकेको पाएको छु । ओन्सेनमा लुगा मात्र होइन, गरगहना पनि खोल्नुपर्दछ । त्यसपछि मात्र प्रवेश गर्न पाइन्छ । वास्तवमा लुगा, गहना, पैसा, कार, घर आदि मानिसमा विभाजन ल्याउने भौतिक वस्तु हुन् । मानिसबीचका लक्ष्मणरेखा हुन् । ती सबै रवाफ र अहम्का खोल हुन् । ती सबै उतारेपश्चात् धनी, गरिब, व्यापारी, हाकिम, कारिन्दा, मजदुर सबै बराबर हुन्छन् ।

उनीहरू फगत एउटा नाङ्गो मान्छे हुन्छन् । नाङ्गिएपछि सबैको स्तर र वर्ग एउटै हुन्छ । यसरी ओन्सेनमा वर्गहीन समाज खडा हुन्छ । उनीहरूको एउटा मात्र पहिचान र वर्ग हुन्छ, ‘नाङ्गो’ मान्छे ! ती नाङ्गा मान्छेलाई मचाहिँ सर्वहारा भन्छु ।

यथार्थमा, त्यसरी नाङ्गिएपछि आफूले आफैँलाई चिनिन्छ । त्यसले सच्चा मानव हुन बाध्य पार्दछ । त्यसपछि समानस्तरको मित्रता कायम हुन्छ ।

हाम्रो समूहका साथीहरूलाई विचार गरेर हेरेँ । अघिसम्म हामी बेलायत, जापान र नेपाल बस्नेहरू लुगा, गहना, पद, पैसा र उमेरका आधारमा उचनिच थियौँ ।

हामीसँग ७५ वर्षका वरिष्ठ साहित्यकार प्रा. डा. रामकुमार पाँडे र प्रकाशका सहोदर दाजु डीएसपी किरण पौडेल पनि थिए । कोही पत्रकार, कोही साहित्यकार त कोही कलाकार थियौं । तर, नाङ्गिएपछि फगत नाङ्गा नेपाली मात्र भएका थियौँ । बराबरी हैसियतका साथी भयौँ ।

मेरो विचारमा नाङ्गिनु अश्लीलता होइन । नाङ्गो शरीर अनावश्यक रूपमा हल्लाउनुचाहिँ अश्लीलता हो । नेपालीमा एउटा भनाइ छ, ‘जन्मदा नाङ्गै र मरेपछि पनि नाङ्गै ।’ मृत्युपश्चात् शरीरका सबै लुगा र गहना खोलेर नाङ्गै दाहसंस्कार गर्ने हाम्रो वैदिक परम्परा छ ।

हामी नेपाली अनावश्यक रूपमा नाङ्गोपनलाई अश्लीलतासँग जोडेर हेर्ने गर्दछौँ । जहाँसुकै नाङ्गिनु पो छाडा र अश्लील हो । लुगाभित्रको शरीरमा के र कस्ता अङ्ग छन् भन्ने कसलाई थाहा छैन र !

लुगाले ढाकेको शरीरको अङ्गका बारेमा कुरा गर्न थालियो भने पो अश्लील ! नाङ्गो शरीरका अङ्गका बारेमा कुरै नगरी नुहाउन थाले कसरी अश्लील हुन्छ ? मेरो मनले हाम्रो पुरातनवादी सोचउपर तीव्र प्रहार गर्न थाल्यो ।

हामी शिवलिङ्गको पूजा गर्दछौँ । शिवरात्रीको दिन पशुपतिमा देखिने नाङ्गा बाबालाई दर्शन गर्ने कार्यलाई श्लील नै मानेका छौँ । मन्दिरका टुँडालमा सम्भोगरत अवस्थाका मूर्तिहरूलाई सहज रूपमा दर्शन गर्दछौँ । धर्मग्रन्थका यौनसँग जोडिएका कैयौँ कथा र उपकथा हामी लाज नमानी पढिरहेका हुन्छौँ । परिवारको साथमा मात्र होइन, सार्वजानिक रूपमै सुनिरहेका छौँ ।

ती कार्य हामीलाई अश्लील र छाडा लाग्दैनन् । अनावश्यक रूपमा अश्लीलताको तरबार हाम्रो शिरमाथि कसले झुन्ड्यायो हँ ? मेरो मनले विद्रोही आवाज निकाल्यो ।

जापानीहरू यौनका बारेमा अलिक उदार हुन् कि जस्तो पनि लाग्छ । नत्र किन लिङ्ग जात्राको आयोजना गर्थे होलान् र ? त्यो परम्परा अहिलेसम्म चलिरहेको थाहा पाउँदा उदेक मान्छु ।

जापानको कावासाकीमा अवस्थित सिन्तो धर्मावलम्बीहरूको धार्मिकस्थल कानायामाबाट वर्षमा एक दिन लिङ्ग प्रदर्शनी गर्ने जात्राको आयोजना हुन्छ । हरेक वर्ष अप्रिल महिनाको पहिलो आइतबार उक्त स्थानबाट खटमा विशाल लिङ्ग राखेर नगर परिक्रमा गराइन्छ । त्यो खट बोक्ने महिलापुरुष दुवै हुन्छन् । त्यस वरपर मेला लाग्दछ । त्यहाँ लिङ्ग आकारका चकलेट, आइसक्रिमलगायत विभिन्न सामानहरू बिक्री गरिन्छ । त्यस दृश्यले काठमाडौँमा लाग्ने जात्राहरूको स्मरण गराउँछ ।               

सत्रौँ शताब्दीमा त्यस धार्मिकस्थलमा यौनकर्मीहरू यौनरोग नलागोस् भनेर दर्शन गर्न जान्थे । तर, अहिलेका यौनकर्मी त्यहाँ नगएर डाक्टरकहाँ जाने गर्दछन् । जापानजस्तो आधुनिक र शिक्षित देशमा अहिलेसम्म पनि उक्त परम्परा कायम राखिएको थाहा पाउँदा रमाइलो मानेँ ।

आजभोलि त्यसलाई यौनरोगसम्बन्धी चेतना जगाउने, सन्तान जन्माउन दम्पतीहरूलाई प्रेरणा दिने र समलिङ्गीहरूको अधिकारप्राप्तिको अभियानका रूपमा उक्त जात्रालाई निरन्तरता दिँदै आएका छन् । त्यस्तो परम्परा भएका जापानीहरूमा लाज भन्ने वस्तु नभएको हो कि ! मनमा तर्क गर्दछु ।

हामी सामूहिक स्नानगृहको ठूलो हलभित्र पुगिसकेका थियौँ । त्यहाँ तातो र चिसोपानी आउने पचासौँ सावरहरू थिए । हरेक सावरका अगाडि प्लास्टिकका बाल्टी, पानी खन्याउने जग र बस्नका लागि प्लास्टिकका स्टुल थिए । कपालका लागि सेम्पो, कन्डिस्नर, बडी सेम्पो अगाडि राखिएका थिए ।

नाङ्गा मानिसहरू कोही बकेटबाट पानी खन्याएर त कोही सिधै सावरबाट नुहाइरहेका थिए । केही साथीहरू त्यहाँका नाङ्गा शरीर देखेर छटपटिए । कहिले नदेखेको दृश्य देखेर लाजले पानीपानी भए । केहीको त पसिनै छुटे !

नाङ्गो भएर नाङ्गा मानिसको भिडमा पुगेको एक छिनपछि लाज भन्ने आकारहीन वस्तु वाफ बनेर उड्यो र सरमको पर्दा खुल्यो । बल्ल बोल्न थाले साथीहरू । त्यसपश्चात् लहरै बसेर नुहाउने आँट निकाले ।

तातोपानीको कुण्ड अर्थात् ओन्सेनमा साबुन र सेम्पोले शरीर नुहाएपछि मात्र पस्न पाइन्छ । सुक्खा जिउ लिएर तातोपानीको कुण्ड छुन पनि पाइँदैन । यसरी नुहाउनु भनेको शरीरको दुर्गन्ध पखाली सफा हुनु हो ।

सामूहिक रूपमा डुबुल्की लगाउने कुण्डमा सबैजना यसरी नै नुहाएर गए मात्र त्यो सफा र स्वस्थ हुन्छ । तातोपानीको कुण्ड फोहर हुन पाउँदैन । त्यहाँ कसैले घिन मान्नुपर्ने अवस्था आउँदैन ।

हामी सबै लहरै बसेर नाङ्गै नुहाउन थाल्यौँ । केही साथीहरू शरीरको छाला रातो हुन्जेल मयल मिच्दै थिए । बाहिर नुहाउँदै सबैका लाजसरम क्रमशः पखालिन थाले । खित्का छाड्दै हाँस्न थाले साथीहरू । मजाले नुहाएपछि तातोपानीको कुण्डमा जान लायक भइसकेका थियौँ ।

‘अबेर नगरौँ ।’ प्रकाशले बोले ।
तातोपानीको कुण्डतिर गोडा चाल्यौँ ।

हामी तातोपानीको कुण्डअगाडि पुगिसकेका थियौँ । त्यहाँ केही जापानीहरू पहिले नै घाँटीसम्म शरीर डुबाएर बसेका थिए । तातोपानीमा डुब्नुको अर्थ आफ्नो तनाव र अहम् पानीमा डुबाउनु त होला नि ! तातोपानीमा डुबुल्की लगाउँदा शारीरिक र मानसिक विकारहरू बाफ बनेर उड्छन् होला । यस्तै कल्पनामा डुब्न थालेँ । 

तातोपानीमा नुहाउने प्रचलन सुरु हुनाको एउटा रोचक कथा रहेछ । जापानी मिथकानुसार एकजना सिकारीले निसाना लगाएको जनावर घाइते भएछ । त्यसलाई पक्रिन पछ्याउँदै जानेहरूले निकै पर पुगेर तातोपानीको कुण्डमा प्रवेश गरेको देखेछन् ।

नजिक गएर हेर्दा त त्यहाँ अरू घाइते चराचुरुङ्गी र जनावरहरू पानीमा डुबुल्की लगाई आफ्नो उपचार गराइरहेका थिए । तातोपानीले घाउ र रोगको उपचार हुँदो रहेछ भन्ने कुरा त्यहाँ पुगेर थाहा पाएछन् ।

त्यहाँबाट गाउँ फर्केका ती सिकारीले तातोपानीको फाइदाका बारेमा गाउँलेलाई जानकारी गराए । त्यस बेलादेखि नै तातोपानीलाई उपचार गर्ने थलोका रूपमा मानिसले लिन थालेछन् ।

गाउँ र पहाडतिरका ओन्सेनमा खैरो भालु र सेतो बकुल्लाको मूर्ति देख्न पाइन्छ । तिनलाई भगवान्को सन्देशवाहकका रूपमा जापानीहरूले मान्दछन् । श्रद्धा र सम्मान गर्दछन् ।

जापान ज्वालामुखीमाथि बसेको देश हो । भूकम्प र ज्वालामुखी त्यहाँ सामान्य कुरा हुन् । जापानमा हरेक पाँच मिनेटमा स–सानो कम्पन र वर्षभरिमा मानिसहरूले थाहा पाउने करिब दुई हजारपटक भूकम्प आउँछ ।

केही ज्वालामुखी विस्फोट भएर पृथ्वीबाहिर निस्कन्छन् । कैयौँ पृथ्वीमुनि नै विस्फोट भइरहेका हुन्छन् । जसलाई हामी देख्न सक्दैनौँ । सोही ज्वालामुखी विस्फोटका कारण पृथ्वीमुनिबाट तातोपानी बाहिर आउँछ ।

त्यस्तो तातोपानीमा औषधिका असङ्ख्य गुण हुन्छन् । तातोपानीमा डुबुल्की लगाउनु भनेको ‘साइड इफेक्ट’ नहुने औषधिको झोलमा डुब्नु हो जस्तो मलाई लाग्छ । 
त्यस औषधिको झोलमा डुबेर भरपुर फाइदा उठाउने सोच मैले बनाइसकेको थिएँ  ।

जापानीहरू भन्ने गर्दछन्, ‘ओन्सेनको तातोपानीले शरीरलाई निको पार्दछ, प्रकृतिले दिमाग र हृदयलाई निको पार्दछ ।’

वास्तवमा प्रकृतिको काख, पहाड र दूरदराज गाउँमा अवस्थित ओन्सेनमा डुबुल्की लगाउँदा प्रकृतिको सामीप्यले मानिसलाई स्फूर्ति र ताजा बनाउँछ ।

कङ्क्रिटको जंगलमा बस्ने मासिनका लागि प्राकृतिक जंगल आमाको न्यानो काख हो भन्दछु म । मानिसले जस्तोसुकै आविष्कार गरे पनि प्रकृतिबिना मानव जातिको कल्पना पनि गर्न सकिँदैन । प्रकृति नाश भएमा मानव जाति डायोनोसोरजस्तै लोप भएर जानेछन् ।

अचानक मानिसलाई डायोनोसोरसँग तुलना गर्न पुगेछु । डायोनोसोरको इतिहास सम्झँदा कतै मानव जाति पनि लोप हुने त होइनन् भनेर पिर पो लाग्यो ।

सरहमा भएका कतिपय ओन्सेनमा तातोपानी टाढाटाढाबाट पाइपमार्फत वा ट्याङ्करबाट ढुवानी गरेर ल्याइन्छ । त्यसरी ल्याइएका पानीमा पनि पूरै प्राकृतिक खनिज तत्व रहेको हुन्छ । सरकारले त्यस्ता ओन्सेनको नियमित जाँच गरेर कडिकडाउ गर्दो रहेछ ।

ओन्सेनको गुणस्तर कायम राख्न बनाइएको ‘ओन्सेनहौ’ भन्ने जापानी कानुन छ । त्यस कानुनानुसार पानीको निश्चित तापक्रम, आवश्यक खनिजपदार्थको उपब्धता र त्यसको सरसफाइ भए नभएको कडाइका साथ जाँचिन्छ । सो नियम थाहा पाउँदा मेरो मन दौडेर नेपाल पुग्यो । नेपालको अर्धसरकारी संस्थाले पिउने पानीमा खान नहुने पदार्थ पठाउँदा न कुनै जाँच पडताल गरिन्छ न त कुनै कारबाही ! तर, जापानी सरकारले नुहाउने पानीमा गरेको कडिकडाउ देख्दा नेपाल सरकार किन कानमा तेल हालेर सुतेको हँ ? प्रश्न सोध्न मन लाग्यो ।

पिल्टे भुँडी भएका हामी नेपाली क्रमशः तातोपानीको कुण्डमा प्रवेश गर्न थाल्यौँ । त्यहाँ केही बोल्दै गरेका र केही आँखा चिम्म गरेर ध्यानमा बसेजस्ता जापानीहरू थिए । सितिमिति कसैको चासो नगर्ने, छेउबाट कोही हिँड्यो भने पनि खासै नजर नलगाउने जापानीहरू हामीलाई पुलुक्क–पुलुक्क हेर्न थाले ।

त्यसरी हेर्नुको कारण हामी सातजनाको समूहमा थियौँं । जापानीका अगाडि विदेशी थियौँ । त्यसमा पनि हामी नेपालीहरू अलिक ठूलो स्वरले बोलिरहेका थियौँ । सायद तिनलाई गाईले डुबुल्की लगाइरहेको ठाउँमा भैँसी आहालमा बस्न लागेजस्तो लाग्यो होला ! यस्तै अन्य विविध कारणले सायद तिनीहरूको ध्यान भङ्ग भयो होला भनेर अनुमान गरेँ ।

जापानको ओन्सेन भनेको नेपालको चिया पसलजस्तै गफ गर्ने थलो हो । गाउँतिर अझै पनि ओन्सेनको तातोपानीमा डुबेर आफ्नो टोल र समुदायका लागि छलफल गर्ने गर्दछन् । गाउँको विकास योजनाका लागि खेस्रा बनाउँछन् । कुन पार्टीलाई भोट दिने भनेर छलफल चलाउँछन् ।

सामाजिक अगुवाहरू जम्मा भएर छलफल गर्ने मिटिङ प्वाइन्ट भनौँ या बैठकस्थलमा हामी प्रवेश गरिसकेका थियौँ । हामी न त आमन्त्रित सदस्य थियौँ न त कार्यसमितिका सदस्य ! हामीलाई देख्नेबित्तिकै केही जापानीहरू मिटिङ छाडेर उठे । त्यसपछि हामी नेपालीहरूको मिटिङ सुरु भयो ।

प्राकृतिक खनिज र लवणयुक्त रनक्क तातेको पानीमा मेरो जिउले सन्चो मान्यो । घाँटीसम्म शरीर डुबाएर आनन्द लिन थालेँ । शरीरले क्रमशः आराम महसुस गर्न थाल्यो । थकाइ बिर्सिएँ । दशतिर दौडिरहेको मन एकाग्र हुन थाल्यो ।

जापानीहरूको सिको गर्दै अघि साथमा ल्याएको रुमाल टाउकोमाथि राखेँ । केही साथीहरूले त्यसलाई तातोपानीको कुण्डको डिलमा राखे । ओन्सेनको नियमानुसार ती रुमालले मुखसम्म पुछ्न पाइन्छ । तर, तातोपानीमा डुबाउन, धुन र निचोर्न पाइँदैन । 
म एक छिन आँखा चिम्म गरेर बसेँ र कान खुल्ला छाडिदिएँ ।

साँझ झमक्क परेको बेला हामी ओन्सेनको तातोपानीमाथि तैरिरहेका थियौँ । जति विस्तारै बोल्ने प्रयास गरे पनि हाम्रो स्वर ठूलो भइहाल्थ्यो । हाम्रो हल्लाले हो या डुबुल्की लगाउने धीत मरेकोले हो, त्यहाँ रहेका छिटफुट जापानीहरू पनि निस्केर गए ।

अन्ततः त्यो कुण्ड हामी नेपालीको कब्जामा भयो । एउटा युद्धै जितेजस्तो गरी हाम्रो स्वर उचालिन थाल्यो । हाम्रै कारणले ओन्सेनको तातोपानीमा लहर चल्न थाल्यो । मानौँ, हामी तातोपानीमा डुबुल्की लगाउन होइन, गफिन गएका हौँ । मानौँ, हामी नेपाली साहित्यको अन्तर्राष्ट्रिय विकासका लागि ठूलठूला योजना बनाइरहेका छौँ !

हामी योकोसुकाको प्रसिद्ध ओन्सेनमा आनन्द लिइरहेका थियौँ । सुन्दर ठाउँमा अवस्थितिका कारण त्यो निकै प्रसिद्ध रहेछ । वास्तवमा उक्त ओन्सेन प्रशान्त महासागरको ‘टोकियो वे’ किनारामा थियो ।

तातोपानीमा डुबुल्की लगाउँदै आँखै अगाडिको महासागरको चिसो पानीमा आँखा बिछ्याउन पाउनुको बेग्लै आनन्द थियो । त्यहाँको दृश्यमा मन रमायो । मेरा आँखा प्रशान्त महासागर र शरीर ओन्सेनको तातोपानीमा तैरिरहेको थियो । विचारहरू बाफ बनेर उडिरहेका थिए ।

ओन्सेन र टोकियो वे किनाराका बीच एउटा बाटो लमतन्न परेर कतै गइरहेको थियो । त्यो बाटो कता जान्थ्यो मलाई थाहा थिएन । तर, त्यो निकै चल्तीको सडक थियो । झलल बत्ती बालेर दोहोरीलता गाडीहरू दौडिरहेका थिए । त्यो दृश्य देख्दा मेरो मन जापान–बेलायत–नेपाल दौडिरह्यो ।

प्रशान्त महासागर र ओन्सेनका बीचमा रहेको बाटोको किनारामा ठूलाठूला ‘पाल्म ट्री’ थिए । तिनले मेरो मनलाई एकै छिन उष्ण प्रदेशमा पुर्याए ।

तातोपानीमा डुबिरहेको शरीर रनक्क तातिसकेको थियो । गर्मी स्थानमा फस्टाउने पाल्म ट्री देख्दा मेरा आँखाबाट उष्णता प्रवेश गरेर शरीरमा तातो थप्यो । ओन्सनको मजा भनेकै शरीर तताउनु हो । तातोपानीमा तताइरहेँ आफूलाई बेस्सरी ।

साथीहरूका गफतिर कान र टोकियो वेको पानीमा आँखा लगाएको थिएँ । मेरा नयन प्रशान्त महासागरको पानीमा निकै तैरिन थाले । धीत मरुन्जेल पारिपट्टिको टोकियो र योकोहामा सहरको झिलिमिली हेरिरहेँ ।

जापानको आधुनिकता, सम्पन्नता र विकास मेरा आँखमा ‘स्लाइड सो’जस्तै आइरहे ।

त्यहाँको परिदृश्य हेर्दा त्यो ओन्सेन पर्यटकलाई आकर्षित गर्ने हिसाबले सञ्चालनमा ल्याइएजस्तो लाग्यो । वास्तवमा जापानमा ओन्सेन एउटा राम्रो पर्यटन उद्योगको रूपमा स्थापित भएको छ । आन्तरिक र बाह्य पर्यटक ओन्सेनको आनन्द र फाइदा लिन जाने गर्दछन् ।

जापानभरमा प्राकृतिक रूपमा रहेका ओन्सेन तीन हजारभन्दा बढी छन् भनेर मेरा जापानी मित्र नाओकी हिकोसाकाले भनेका थिए । बाह्रै मास चल्ने ओन्सेन जापानी संस्कृतिको अङ्ग मात्र नभएर अर्थतन्त्रको मेरुदण्ड पनि रहेछ । नेपाली भएर जापानी अर्थतन्त्रमा अलिकति भए पनि योगदान पो गर्यौँ कि क्या हो भन्दै लोकनाथलाई एक छिन जिस्क्याएँ ।    

‘कतिन्जेल बस्ने हो तातोपानीमा ?’ जिउ तात्दै गएपछि छेउमा रहेका विजयराज आचार्यले मलाई सोधे ।
‘धीत मरुन्जेल ।’ मैले भनेँ ।

वास्तवमा तातोपानीमा डुबेर बसिरहँदा शरीरले नै पुग्यो भनेर जनाउ दिन्छ । र, बाहिरिन मन लाग्छ ।

हाम्रो शरीरमा जनाउ घण्टी कसैको बजिसकेको थियो होला । कसैको बज्न बाँकी नै थियो । प्रकाशले अब जाऔँ भनेपछि हामी तातोपानीको कुण्डबाट बाहिर निस्कियौँ ।    
फेरि सावरमा खल्ल नुहाएर ‘स्टिम रुम’तिर लाग्यौँ ।

तातोबाफले भरिएको स्टिम रुममा बस्नाले छाला राम्रो हुने, मुटुमा रक्तसञ्चार राम्रो हुने, मुटु स्वस्थ हुने र उच्च रक्तचाप घटाउन मद्दत गर्दछ । स्टिम रुम औषधि बराबर भएपछि त्यहाँ बसेर भरपुर फाइदा लिने विचार गरेँ ।

त्यस स्टिम रुमको बस्ने स्थानले सिनेमा हलको झझल्को दिलायो । सबैभन्दा पछाडि अग्लो र क्रमशः अगाडितिर होचो हुँदै गएको ठाउँमा बस्ने सिट राखिएको थियो । अगाडि राखिएको टीभीमा जापानी भाषामा कुनै कार्यक्रम आइरहेको थियो । त्यहाँको दृश्यले स–सानो सिनेमा हलमा कुनै सिनेमा हेरेजस्तो अनुभूति भयो ।

टीभीमा आएको जापानी भाषाको कार्यक्रम हामीले केही बुझेनौँ । तर, जापानीहरूले त्यसलाई खुब ध्यान दिएर हेर्दै थिए । नाङ्गैभुतुङ्गै हामी तात्तातो बाफमा मिठामिठा गफ मिसाएर निकै बेर रम्यौँ । तातो बाफले रनक्क भएर फेरि शरीर तात्यो ।

ओन्सेनको भरपुर फाइदा उठाउन स्टिम रुममा छिरेका हामी सन्तुष्ट हुन्जेल बस्यौँ । बाफले तातेको शरीरलाई चिसो पानीको कुण्डमा डुबाउँदा धेरै फाइदा गर्दछ । त्यसो गर्दा छालामा भएका प्वालहरू खुल्दछन् । त्यस्तो कार्य चानचुने होइन ।

अन्ततः स्टिमले तताएको तातो शरीरलाई बरफजस्तो चिसो पानीमा झ्वाम्म चोपलेँ । शरीरबाट मज्जाले बाफहरू निस्किएर आकासिन थाले । वास्तवमा चिसो पानीमा डुबेर निस्केपछि शरीर तातो भएर आउँछ । त्यो मुटु कमाउने चिसो पानीलाई मैले बिर्सिहालेँ ।

म चिसो पानीमा डुबेर निस्केको केही साथीहरूलाई आश्चर्य लागेछ । तिनले कतिको चिसो छ भनेर पानीमा हात मात्र डुबाएर जाँचे । पानी जाँच्दा नै तिनका शरीर काम्न थाले । पानीमा शरीर डुबेको भए के हुन्थ्यो ! वर्षौैँदेखि तातो र चिसोबाट जोगाएको आफ्नो शरीरलाई दुःख नदिने विचार गरे साथीहरूले । चिसो जलकुण्डलाई तिलाञ्जलि दिएको घोषणा गरे ।

त्यसपश्चात् हामी शरीरमा नुन दल्ने कक्षमा पुग्यौँ । त्यहाँ केही जापानीहरू आफ्नो शरीरभरि नुन दल्दै थिए । केही नुन दलिसकेर बेन्चमा आरामसाथ बसेका थिए । मैले पनि तिनको सिको गर्दै आँखामा नपरोस् भनेर विशेष ध्यान दिँदै शरीरभरि नुन दलेँ ।

वास्तवमा नुनले छालामा भएको हानिकारक तत्व निकाल्दछ । यसरी शरीरमा नुन दल्दा छाला बुढो भएर कमजोर हुनबाट बचाउने र छालामा हुने केही रोगहरू निको पार्ने कुरामा जापानीहरू विश्वास गर्दा रहेछन् ।

करिब दश मिनेट नुन दलेका नाङ्गो शरीर लिएर त्यहीँ बसिरहेँ । विस्तारै शरीर कक्रक्क भएर आयो । सायद छालाले चाहिनेजति नुन सोसिसकेको थियो होला । त्यहाँबाट निस्केर फेरि खलल्ल नुहाएँ ।

अब ‘रक बाथ’ बाँकी छ ।’ प्रकाशले भनेँ ।           
सुन्दा पनि अनौठो लाग्ने रक बाथ अर्थात् ‘ढुङ्गा स्नान’ कसरी हुन्छ होला भनेर अनुभवीलाई सोध्न मन लागेको थियो । त्यति नाथे कुरा पनि थाहा नपाएजस्तो किन हुनु भनेर चुप लागेँ ।

माथि छाना लगाएको एउटा खुला स्थानमा हामी पुगिसकेका थियौँ । ढुङ्गा छापेको भुइँमा लहरै सुतेर जिउ सेक्ने ठाउँ रहेछ । त्यही पो रहेछ रक बाथ ।

त्यो दश–बाह्रजना लहरै सुत्न मिल्ने ठाउँ थियो । हरेकका लागि ढुङ्गाको एउटा सानो सिरानी थियो । हामी सबैजना उत्तानो परेर लहरै सुत्यौँ । विशेष प्रकारले तताइएको भुइँमा सुतेको एक छिनपछि मज्जाले शरीर सेकिन थाल्यो ।

‘सेकुवा बनाउने त होइनन् हामीलाई ?’ विजयले खुसुक्क सोधे ।
ठट्टाको रूपमा आएको उनको प्रश्नले हँसायो मलाई ।

हामी सुतेको तातो भुइँमा अटुट रूपमा मनतातो छिपछिपे पानी बगिरहेको थियो । मन्द तातो तावामा माछा सेकेजस्तो तातो ढुङ्गामा शरीर सेक्दै थियौँ ।

मेरै लागि तताएजस्तो ठिक्कको तातोमा आनन्दित भएँ । त्यहाँ सुतिरहँदा मजा पो आउन थाल्यो । कहिलै नभोगेको अद्भूत अनुभव भयो । स्वर्गीय आनन्दमा रमाएजस्तो साथीहरूले आँखा चिम्म गरेका थिए । म पनि त्यो तातो भुइँमा आँखा बन्द गरी उत्तानो परेर सुतेँ । झन्डै निदाएँ पो !

करिब दश मिनेट निर्वस्त्र शरीर सेकाइरह्यौँ । प्रकाशले अब उठौँ भने । तर, हामी कसैलाई पनि उठ्ने मनै थिएन । समय अभावका कारण हामी उठ्यौँ । मेरोछेउमै सुतेका विजय भुसुक्कै निदाएछन् । उनलाई मैले नै उठाएँ ।

अन्तिमपटक फेरि सावरमा मजाले नुहाएपश्चात् लुगा राखेको लकर रुममा आयौँ । त्यहाँको भित्ते घडी हेरेको त हामीले एक घण्टाभन्दा बढी ओन्सेनमा बिताएछौँ । समय दौडेको पत्तै भएन ।

सफा तौलियाले जिउ पुछेर ताजा भएँ । लुगा राखेको लकरछेउमा हामी नाङ्गै पुग्दा पनि जापानी महिला भुइँ पुछिरहेकी थिइन् । सायद सबैको लाज पचिसकेको थियो ! कसैले कुनै प्रतिक्रिया जनाएनन् ।

हामीले फटाफट लुगा लगायौँ र अगाडि बढ्यौँ । हिँड्दै गर्दा थाहा लाग्यो त्यस ओन्सेनको एउटै छानामुनि धेरै सुविधा पाइँदो रहेछ ।

मसाज गर्ने कक्षछेउमा पुगेर रोकिएँ । ‘मसाज गराउनुहुन्छ ?’ एउटी जापानी युवतीले मलाई सोधिन् । 
हामीसँग समय पनि थिएन । फेरि मसाज मेरा लागि नौलो कुरा नभएकाले ‘नो थ्यांक्स’ भनेँ । उनी मुसुक्क हाँसिन् ।

ओन्सेन भएको भवनको अर्को हलभित्र रेस्टुरेन्ट पनि रहेछ । यसो चिहाएर हेरको भित्र खचाखच मानिसहरू भरिएका थिए । ओन्सेन, बडि मसाज र रेस्टुरेन्ट एउटै भवनभित्र राखेर ग्राहकलाई भरपुर सुविधा उपलब्ध गराएका थिए ।

त्यहाँ आराम, मनोरजञ्न र खानाका लागि आएकाहरूलाई उत्कृष्ट सेवा उपलब्ध गराएको देख्दा जापानीहरूको व्यापार गर्ने कला अनुकरणीय लाग्यो । जापानी ओन्सेन र व्यापारको कुरा गर्दै हामी बाहिरियौँ ।   

ल्याम्प पोस्टको उज्यालोमा सबैका अनुहार चम्किरहेको देखेँ । यसो हेरेँ, आफ्नै हातका छाला चिल्ला र चम्किला पो देखेँ । मेरो शरीरबाट तनाव र थकान हराएको थियो । शरीर चङ्गाजस्तो हलुका र मन गङ्गाजस्तो स्वच्छ भएको थियो । अद्भूत आनन्दमा रमाएका हामी गफिँदै कारपार्कतिर लम्कियौँ ।

मेरा जापानी मित्र होको किचिकावाले जापान पुगेको बेला ओन्सेनमा अवश्य जानुहोला भनेको सम्झन्छु । उनले भनेका थिए– ओन्सेनको तातोपानीमा प्राकृतिक रूपमा पाइने खनिज तत्वका कारण शरीरका लागि फाइदाजनक हुन्छ ।

नसा, जोर्नी, उच्च रक्तचाप, छालाको रोग र दुखाइको उपचारका लागि ओन्सेन उपयोगी हुने भएकाले जापानीमाझ लोकप्रिय छ । नियमित ओन्सेन जाने गरेमा त्यसले फाइदा पुर्याउँछ जस्तो मलाई पनि लागेको छ ।

सृष्टिको उषाकालमा परम्परागत जडीबुटीका बारेमा ज्ञान हुनुभन्दा अघि मानिसहरू त्यस्तै तातोपानीमा नुहाएर र तातोपानीमा बसेर शरीरमा लागेको चोटपटक र रोग निको पार्दथे ।

प्राचीनकालमा तातोपानीका यस्ता कुण्डलाई भगवान्को उपहारको रूपमा लिइन्थ्यो । समय बदलिएको छ । ओन्सेन अहिले आराम, रिचार्ज र ‘सोसियलाइज’ गर्ने स्थानका रूपमा लोकप्रिय छ ।

समय परिवर्तन भए पनि ओन्सेन अहिलेसम्म जापानी जीवन र संस्कृतिको अभिन्न अङ्गकै रूपमा रहेकाले पुर्खाको चलन छाडेका छैनन् । पैसा र स्थान हुने जापानीहरूले घरभित्रै ओन्सेन बनाएर त्यसको भरपुर फाइदा लिएका छन् । घरभित्र ओन्सेन बनाउने रहर मलाई पनि पलाएको छ । ‘ठाउँ न ठहर बूढीको रहर’ भनेजस्तै सपना देखेर मात्र भएन । मन मारेँ ।

‘कतिपय ठाउँमा महिला र पुरुष दुवैले एउटै ओन्सेन प्रयोग गर्दछन् । त्यसलाई ‘मिक्स ओन्सेन’ भनिन्छ । महिला र पुरुषहरू अनुशासित रूपमा नाङ्गानाङ्गै एकै ठाउँमा नुहाइरहेका हुन्छन् । तातोपानीको एउटै कुण्डमा डुबुल्की लगाइरहेका हुन्छन् । कसका छोराछोरी, कसका श्रीमान्श्रीमती वा कसका प्रेमीप्रेमिका मतलब हुँदैन । निःशङ्कोच गफगाफ गरिरहेका हुन्छन् ।’ हिँड्दै गर्दा प्रकाशले भने ।
‘हत्तेरिका, त्यहाँचाहिँ जानुपथ्र्याे नि !’ अश्विनीले उत्तेजित हुँदै भने ।
त्यसपछि निकै बेर हाँसो चल्यो ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २४, २०७८  ०६:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !