काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले आफ्नो आन्दोलन जारी राखेको छ ।
आइतबार पनि सर्वोच्च अदालत परिसरमा बारको अगुवाइमा कानुन व्यवसायीले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै प्रदर्शन गरे ।
प्रदर्शनपछि सञ्चारकर्मीहरूसँग बोल्दै बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले स्वतन्त्र र स्वच्छ न्यायपालिका मानवअधिकारकोे मेरुदण्ड भएकोले न्यायपालिकाभित्र विकृति, विसंगति हुन नहुने बताए । उनले न्यायपालिकाभित्र विकृति, विसंगति तथा अनियमितता, भ्रष्टाचार र बिचौलियाहरूले प्रवेश पाएको र प्रभाव बढ्दै गएका कारण न्यायपालिकाको स्वतन्त्रतामाथि गम्भीर प्रहार भएको समेत बताए ।
प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपाल बार, सर्वोच्च बारका पदाधिकारीहरूसहित कानुन व्यवसायीहरूले गएको कात्तिक १४ गतेदेखि हातमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्दै आएका छन् ।