काठमाडौं । प्रहरी र एक सर्वसाधारणलाई धारिलो हतियार प्रहार गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको मन्थली, लिखु घर भई हाल जरंखु बस्ने २९ वर्षीय शनि तामाङ रहेका छन् ।
काठमाडौं, तारकेश्वर नगरपालिका–८, शेषमतीस्थित लामबजारनजिक सामान्य विषयमा विवाद हुँदा उनले सोही ठाउँका २९ वर्षीय सुवास तामाङलाई घारिलो हतियार खुकुरीले टाउको र घाँटीको पछाडिबाट हिर्काई घाइते बनाएका थिए ।
त्यसपछि सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त बालाजु मातहत प्रभाग धर्मस्थलीमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । सोही क्रममा उनले प्रहरीमाथि नै आक्रमण गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । दुवै घाइतेको ट्रमा सेन्टरमा उपचार गरिएको छ । रासस