काठमाडौं । वाग्मती प्रदेशका नवनियुक्त तीन मन्त्री र तीन राज्यमन्त्रीले पद र गोपनीयताको शपथ लिएका छन् । नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख यादवचन्द्र शर्मा र नवनियुक्त राज्यमन्त्रीलाई मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले शपथ गराए ।
मुख्यमन्त्री पाण्डेले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम तीन मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका थिए । भूमि व्यवस्था सहकारीमन्त्रीमा बलराम पौडेल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीमा मिलनबाबु श्रेष्ठ र संस्कृति तथा पर्यटनमन्त्रीमा दिपेन्द्र श्रेष्ठले शपथ लिएका हुन् ।
भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा, उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री रजनी अमात्य र स्वास्थ्य राज्यमन्त्री कल्पना नेपालीले पनि शपथ लिएका हुन् ।
राज्यमन्त्रीमा सन्त प्रजा मनोनीत भएसँगै पहिलोपटक संसद्मा चेपाङ जातिको प्रतिनिधित्व भएको छ । यसअघि मकवानपुरकै गोविन्द चेपाङ संविधानसभा सदस्य थिए । मकवानपुर चितवनलगायत जिल्लामा चेपाङ जातिको बसोबास रहेको छ ।
वाग्मती प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १४ वटै मन्त्रालयमा मन्त्री नियुक्त भएका छन् । अन्य चार जना राज्यमन्त्री नियुक्त भएका हुन् । प्रदेश मन्त्री र राज्यमन्त्रीको कूल सङ्ख्या १८ पुगेको छ । रासस