site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
विश्वविद्यालय, बौद्धिक चोरी र रोकथाम

त्रिभुवन विश्वविद्यालयले अनुसन्धानमा मौलिकता कायम गर्ने उद्देश्यले केन्द्रीय पुस्तकालयमार्फत संचालन हुने व्यवस्था मिलाएर हालै 'टर्नइटइन' नामक सफ्टवयेर प्रयोगमा ल्याएको छ । यसको प्रयोगले बौद्धिक चोरी नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । तर, यस प्रकारको सफ्टवयेर प्रयोगमा केही चुनौती पनि जोडिएर आएका छन् । यस लेखमा विश्वविद्यालयको अनुसन्धानका विविध पक्ष, बौद्धिक चोरी र त्यसको रोकथामको प्रयासमा देखिएका थप जटिलताको संक्षिप्त चर्चा गर्ने जमर्को गरिएको छ । साथै, सूचना प्रविधिको प्रयोगबाट आउन सक्ने थप जटिलतालाई व्यवस्थापन गर्नुपर्ने संकेत पनि गरिएको छ ।

बौद्धिक चोरी अर्थात 'प्लेजियारिज्म' भनेको सृजनात्मक, समीक्षात्मक वा अनुसन्धानबाट कुनै लेखक वा अनुसन्धान कर्ताले त्यसको भाव वा शब्दलाई कुनै पनि अभिलेखीकरण नगरीकन नक्कल गर्नु हो । यस्तो कार्यलाई प्राज्ञिक बेइमानी भनिन्छ ।

विश्वविद्यालयको मूल मर्म समीक्षात्मक, मौलिक चिन्तनको संस्कृति निर्माण गर्नु हो भने यसले मौलिक चिन्तनको संस्कृतिलाई समूल रूपमा नष्ट गर्छ । त्यस्तै कुनै अन्य व्यक्तिको बौद्धिक सम्पत्तिलाई आफ्नो भनेर दाबी गरेर ज्ञानको परम्परामा रहेका विद्वान्हरूप्रति अनादरको परम्परा स्थापित गर्छ । 

अनुसन्धानको कार्यमा लागिरहँदा पूर्वकार्यहरूको बृहद् समीक्षा आवश्यक हुन्छ । त्यस्तो अवस्थामा अनुसन्धानकर्तालाई आफूले पढेका सामग्रीमा रहेका केही विचार वा वाक्यांशहरू मन पर्न सक्छ । त्यस्तो सामग्रीलाई आफ्नो लेखनमा प्रयोग गर्ने इच्छा स्वभाविकरूपमा नै लाग्न सक्छ । विधिपूर्वक विविध स्रोतबीच सफल संवाद गरेर नै अनुसन्धान सफल संश्लेषणको सिँढी चढ्छ र विश्लेषणको गहिराइमा पुग्छ । कतिपय अवस्थामा विधिको पालना हुन नसक्दा पनि बौद्धिक चोरीको कित्तामा अनुसन्धान उभिने डर हुन्छ ।

हरेक अनुसन्धानले पूर्व कार्यहरूको समीक्षामार्फत अध्ययनको रिक्ततालाई अनुभूत गराउँछ । प्रकारान्तरले भन्नुपर्दा अनुसन्धानका लागि बाँकी क्षेत्रको मापन गर्न सहयोग गर्छ । यस्तो प्रक्रियामा अनुसन्धानकर्ताले विभिन्न स्रोतबाट विचारलाई एकीकृत गरेर संश्लेषण गर्छ । यस्ता विचारलाई एकै ठाँउमा ल्याउँदा आफूले प्रयोग गरेका स्रोतको राम्ररी अभिलेखीकरण गर्ने, प्रत्यक्ष वा अप्रत्यक्षरूपमा लिइएका शब्द वा विचारलाई पृष्ठ संख्यासहित उल्लेख गर्ने अभ्यास सबैभन्दा सुरूको नोट संकलनको चरणदेखि नै गर्ने हो भने बौद्धिक चोरीको सिकार हुनु पर्दैन । 

त्यस्तै तथ्यांक प्रशोधन र विश्लेषणको चरणमा आफ्ना प्राथमिक तथ्यहरूमाथि काम गर्ने अनुसन्धानकर्ताहरू त जोगिने धेरै ठूलो संभावना रहन्छ तर पाठहरूको विश्लेषण गर्ने र विभिन्न कृतिका परिच्छेद, अनुच्छेदहरूलाई विश्लेषणका लागि साभार गर्नुपर्ने साहित्य, इतिहास, संस्कृतिजस्ता मानविकीका विषयहरूमा अनुसन्धानकर्ता अझै धेरै चनाखो हुनु पर्छ । यस्तो अवस्थामा कुन कृतिको कुन पृष्ठबाट त्यो निश्चित पाठ्यांश लिइएको हो भन्ने कुरा नोट संकलनको चरणमा नै ध्यानमा राख्न सकियो भने यस्तो दोषबाट मुक्त रहन सकिन्छ । त्यससँग सम्बन्धित विज्ञबीच संवाद गरेर त्यसका स्पष्ट मानकहरू तयार गर्नु हालको अवस्थामा अत्यन्त आवश्यक छ ।

हालैका दिनमा बौद्धिक चोरीको मात्रा पत्ता लगाउन सफ्टवेयरको प्रयोग हुन थालेको छ । नेपालमा पनि त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयले टर्नइटइनभन्ने सफ्टवयेरमार्फत यो सेवा सुरू गरेको छ । हामीले यो सफ्टवयेरका बारेमा केही मूलभूत कुराहरू बुझ्नु जरूरी हुन्छ । आफ्नो डाटाबेसमा उपलब्ध सम्पूर्ण दस्ताबेजहरूमा प्रविष्ट रहेका शब्दहरू के, कति मिलेका छन् भनेर परीक्षण गर्ने यस्ता सफ्टवेयरले देखाउने नतिजा भनेको बौद्धिक चोरीको अन्तिम निर्णय होइन भनेर बुझ्नु सबैभन्दा जरूरी हुन्छ । सारमा भन्ने हो भने यी सफ्टवेयरले समानता परिसूचक वा 'सिमिलारिटी इन्डेक्स' मात्र दिन्छन् । यस्ता समानता परिसूचक भनेको बौद्धिक चोरी हुन पनि सक्छ, नहुन पनि सक्छ । तर, यही अंकलाई प्राज्ञिक बेइमानी हो भनेर ठोकुवा गर्नु हुँदैन ।

टर्नइटइनजस्ता सफ्टवयेरहरूले निकालेको समानता परिसूचकलाई सो प्रविधिमा दीक्षित सम्बन्धित विषय विज्ञ समूहले परीक्षण गरेरमात्र कुनै विषयमा बौद्धिक चोरीको अपराध भएको छ वा छैन भनेर यकिन गर्नुपर्छ । कुनै पनि विषयमा कति प्रतिशतलाई यस प्रकारको दोष मान्ने हो भन्ने कुराको निर्क्योल पनि सोही विधाका विशेषज्ञहरूले छलफलबाट निर्धारण गर्नुपर्छ । उदाहरणका लागि कुनै पनि लेखमा त्यसको सार वाक्य वा लेख सारांशको केही अंश कतै मिल्न गएको छ भने त्यस्तो लेखको समानता परिसूचक एकदमै न्यून हुँदा पनि त्यो लेख अस्वीकृत हुनुपर्छ । संश्लेषणात्मक कार्य गर्दा अन्य कृतिहरूबाट लिइएका अंशहरू धेरै हुन सक्छन् । त्यस्तो अवस्थामा ती अंशहरूको अभिलेखीकरण राम्ररी भएको छ वा छैन भनेर सबैभन्दा पहिला परीक्षण हुनुपर्छ । कुनै व्यक्तिले संलग्न गरेको छ पंक्तिको एउटा खण्ड कुनै लेखकको किताबबाट हो भनेर सफ्टवेयरले देखाएको छ र उक्त व्यक्तिले सो किताबको लेखक र त्यसको पृष्ठ संख्या उल्लेख गरेको छ भने यो समानताले त्यो खण्ड आधिकारिक भएको पुष्टि गर्छ । त्यस्तो अनुसन्धानकर्ता बौद्धिक चोरीको सिकार हुँदैन । हो, यही अर्थमा हामीले टर्नइटइन जस्ता सफ्टवयरहरूको स्वभावको बारेमा बुझ्नुपर्छ ।

प्राथमिक तथ्यहरू संकलन गरेर कसैले अनुसन्धान गरेको छ र त्यस्तो अनुसन्धानको विश्लेषण खण्डमा भएको भाषा अन्य कुनै पूर्व कार्यमा भेटियो भने त्यस्तो समानताको मात्रा न्यून भए तापनि त्यसलाई अस्वीकृत गर्नुपर्ने हुन्छ । सफ्टवयेरले यान्त्रिक विश्लेषण गर्न सक्छ । सफ्टवेयरले आफ्नो स्मरणमा भएको तथ्यको आधारमा नतिजा प्रशोधन गर्न सक्छ । तर विवेकको प्रयोग गरेर यसले इमानको प्रश्नलाई संबोधन गर्न भने सक्दैन । यसै कारण हामी सफ्टवयेरको प्रयोगमा सबैभन्दा बढी चनाखो हुनुपर्छ ।

डिजिटल युगमा प्रविधिको क्षेत्रमा विकास भएका विधिहरूको उपयोग गर्दा त्यसलाई नै असावधानीपूर्वक कोही, कसैमाथि अन्याय गर्ने साधनको रूपमा प्रयोग गर्नु हुन्न । यसको अर्थ यही बहानामा चलिआएको प्राज्ञिक बेइमानीको संस्कृतिलाई यथावत रहन दिनुपर्छ भन्ने पनि होइन । 

अब प्रश्न उठ्छ, यसको हल के त ? हामीले प्राज्ञिक संचार र लेखनमा ध्यान दियौँ भने भूलवश हुने यस्ता दोषहरूबाट मुक्ति पाउन सक्छौँ । पहिलो कुरा त हामीले आफ्नो विषयका लागि तोकिएको लेखन पद्धति र अनुसन्धानलाई प्रस्तुत गर्ने शैलीलाई राम्ररी पालना गर्नुपर्छ । यसले गर्दा धेरैजसो समस्या आफैँ हल हुन्छन् । भाषाका विभागले सामान्यतः एमएलए प्रयोग गर्छन् भने अन्य विभागहरूमा एपीए प्रयोग हुन्छ । तर, यसलाई हामीले सर्वमान्य नियम भने मान्नु हुँदैन । यी पद्धतिको अवलम्बन विभागीय सुविधाअनुसार हुन्छ । त्यसैले सम्बन्धित विभागमा नै सम्पर्क गर्नु बेस हुन्छ । 

त्यस्तै आफूले अध्ययन गर्ने विषय, क्षेत्रप्रतिको इमानदारी नै सबैभन्दा महत्त्वपूर्ण हुन आउँछ । अनुसन्धानको नतिजाको बारेमा हामी जहिले पनि बहस गर्न सक्छौँ तर अनुसन्धानकर्ताको नियत सधैँ ज्ञानप्रति इमानयुक्त रहनुपर्छ । सामान्यरूपमा आफ्नो मस्तिष्कको फललाई मात्र आफ्नो हो भन्ने नौतिक चेतनाको विकास भएको हुनुपर्छ । उपाधिको मोहमा जुनसुकै किसिमको हद पार गर्ने आचरणभन्दा माथि उठ्न सक्नु नै सबैभन्दा ठूलो चुनौती हो ।

मानिसहरूले पद, प्रतिष्ठा र अर्थ उपार्जनका लागि शोधपत्र खरीद–विक्री गर्ने संस्कृति विश्वव्यापी रूपमा रहेको देख्न पाइन्छ ।

तर, हाम्रोजस्तो आधुनिक शिक्षा पद्धति तुलनात्मक रूपमा नयाँ भएको देशमा यस्तो अभ्यास अझै चुनौतीको रूपमा देखापरेको छ । किनभने यस्तो अभ्यासले शिक्षाको आदर्शमाथि प्रहार गर्छ । मौलिक चिन्तनको विकास र अभ्यास हरेक व्यक्तिमा संभव छ भनेर आधुनिक शिक्षा पद्धतिले मान्छ तर बौद्धिक चोरीले गर्दा मानिस अर्धदीक्षित भएर विश्वविद्यालयबाट निस्कन्छ ।

हो, यही अर्धदीक्षित जनशक्तिले नै समाजमा गलत मानक कायम गर्छ । समाजका अवयवहरूको भित्री तन्तुलाई बेकामे सिद्ध गरिदिन्छ र मानिसको विश्वास शिक्षाबाट उठाइदिन्छ । समाजको आन्तरिक ऊर्जा स्खलन गर्ने यस्तो वर्गलाई निस्तेज गर्न पनि बौद्धिक चोरीलाई हतोत्साही बनाउनु परेको छ ।

परन्तु, यान्त्रिक बाटोबाट मात्र हिँड्दा हामीले समानता परिसूचकलाई बौद्धिक चोरी मान्यौँ भने त्यसले यसको मूल भावलाई झनै ऒझेलमा पार्ने खतरा बढ्छ । सफ्टवेयरले दिने समानता परिसूचकलाई एउटा तथ्य मानेर विषयगतरूपमा हामीले त्यसलाई व्याख्या गर्न यन्त्रको तरिकामा प्रशिक्षित र विधाको मर्ममा दीक्षित विज्ञबाट हुन सकेमा प्राज्ञिक इमानको संस्कृतिलाई नयाँ उचाइमा पुऱ्याउन सकिनेछ ।
 

प्रकाशित मिति: बुधबार, मंसिर २९, २०७८  ०८:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
सरकारले तत्काल सम्बोधन गरोस् !
सरकारले तत्काल सम्बोधन गरोस् !
Hamro patroHamro patro