site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
गुट जताततै काँग्रेस कतै न कतै

मंसिर महिनाको कठ्याङ्ग्रिने जाडोमा हिमाल, पहाड, तराई जताततै अत्यधिक चिसो महसुस भइरहेको छ । दिनप्रतिदिन जनजीवन कष्टकर बन्दै गइरहेको छ तर नेपाली कांगे्रसको महाधिवेशनलाई भने जाडोले छोएको छैन । यस अधिवेशनमा एउटा फरक दृश्य देखिएको छ । 

सबैजसा नेता, कार्यकर्ता राजनीतिमा आफ्नो बर्चस्व स्थापित गर्न आफैँ नाङ्गिन र सहकर्मी तथा सहयात्रीलाई पनि मौका पाएसम्म नङ्ग्याउन तयार देखिन्छन् । यसको प्रमुख कारण भने एउटै देखिन्छ – त्यो हो दलभित्र व्यक्तिगत हैकम तथा पारिवारिक विरासत स्थापित गर्नु । 

आश्चर्य, नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत वडादेखि केन्द्रसम्म सम्पन्न गरिने आठमध्ये सातौं तहको निर्वाचन सकिँदासम्म पार्टीको नाम कहीँ कतै आएन । पार्टीको नाम त उमेदवारका पर्चा र पम्प्लेटहरूमा मात्र देखिन्थ्यो ! प्राप्त जानकारीलाई आधार मान्ने हो भने केन्द्रीय महाधिवेशनमा पनि अग्र भागमा दल हुनेछैन गुट नै हुनेछ । केन्द्रमा पनि सिधै निर्वाचनको कार्यक्रम अघि बढाइने कांग्रेसको आधिकारिक तहबाट पटक पटक सम्प्रेषण जो भइसकेको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

आफू पनि प्रत्यक्ष सहभागी भएर महाधिवेशनलाई नजिकबाट नियाल्दा यो अधिवेशन कांग्रेसभित्रका सबै विचार समूहको प्रतिनिधित्व गराउँदै वैचारिक मन्थन गर्ने, नेतृत्व चयन गर्ने र राष्ट्रिय विषयहरुमा आफ्नो दृष्टिकोण प्रस्तुत गर्ने थलोभन्दा पनि दुई प्रतिद्वन्द्वी समूहको सत्ता, शक्ति र धनको आडमा हैसियत प्रदर्शन गर्ने लडाईँको मैदानजस्तो देखियोे । 

यस लडाइँमा कार्यकर्ताहरू निरीह देखिन्थे । मानौ उनीहरूसँग आफ्नो समूहको नेतृत्वकर्ताको पक्षबाट लड्ने र उनीहरुको आदेश पालना गर्नेबाहेक विचार सम्प्रेषित गर्ने, नेतृत्वलाई प्रश्न गर्ने र स्वतन्त्र अभिव्यक्ति दिने कुनै अधिकार छैन । उनीहरूको संलग्नता दलको सुदृढीकरण र नेतृत्व विकासका लागि नभई उनीहरूलाई क्रियाशील सदस्यता प्रदान गर्नेदेखि विभिन्न तहमा निर्वाचित गराइदिने र उनीहरूका सानातिना व्यक्तिगत आवश्यकता परिपूर्ति गरिदिने सीमित व्यक्तिको स्वार्थपूर्तिका लागिमात्र भएको देख्न सकिन्थ्यो । उनीहरू आफ्नो समूह र त्यसको नेतृत्वलाई इमानदारीपूर्वक मतदान गर्नमात्रै दलको सदस्य बनाइएका थिए । 

Royal Enfield Island Ad

यो क्रम केन्द्रीय तहमा मात्र सीमित देखिँदैन । तल्लोभन्दा तल्लो तहमा समेत केन्द्रीय नेताहरूले आफ्नो प्रभुत्व स्थापित गर्न गुटलाई मलजल गरेको देखिन्छ । किनभने दल शक्तिशाली भए नेतृत्वले पनि दलको नीति, कार्यक्रम, विधानको पालना गर्नुपर्ने हुन्छ । दलको नेतृत्व जतिबेला पनि फेरिन सक्छ । तर, दलभन्दा आफू शक्तिशाली भए भने सधैँ नेतृत्वमा रहिरहन पाइन्छ ।

अर्को पक्षले सजिलै चुनौती दिन सक्दैन । आवश्यक परे दलका नीति कार्यक्रम, विधिविधान सबै आफ्नो स्वार्थ अनुकूल हुनेगरी फेर्न सकिन्छ । गुट बलियो बनाउन सके दलभित्र मात्र होइन राष्ट्रिय राजनीतिमा समेत कसैले मन नपराउँदा पनि एकछत्र राज गर्न सकिन्छ भन्ने नेपाली राजनीतिमा स्थापित मान्यताले अचेल कांग्रेसमा पनि बलियै जरा गाडिसकेको देखिन्छ ।

गुट हुनु आफैँमा नराम्रो भने होइन । हरेक सङ्गठनभित्र मन मिल्ने व्यक्तिहरूबीच सहकार्य हुनु पनि स्वाभाविकै मानिन्छ । हरेक दलभित्र मनमिल्ने, व्यवहार मिल्ने र विचार मिल्ने व्यक्तिहरूबीच पारस्परिक सहयोग आदानप्रदान हुन सक्छ । तर, गुट दलभन्दा शक्तिशाली वा दलको वैकल्पिक शक्तिका रूपमा स्थापित हुनु भने बहुदलीय राजनीतिका लागि हितकर देखिँदैन । 

नेपाली राजनीतिको बिडम्बना नै मान्नुपर्छ केही व्यक्तिले गुट चलाएको हुन्छ, गुटले दल चलाएको हुन्छ र दलले देश चलाएको हुन्छ । अर्थात्, समग्र राष्ट्रिय रजनीतिको शक्तिकेन्द्र केही सीमित व्यक्तिहरूमात्र भएको देखिन्छ । यसले प्रजातन्त्रको मूलभूत मान्यता ‘जनताद्वारा जनताले जनताका लागि गरिने शासन’लाई नै चुनौती दिइरहेको छ । 

एउटा व्यक्ति र उसका आफन्त तथा परिवारका सदस्यहरूमा राज्यको शक्ति केन्द्रित भएका कारण राजतन्त्र समाप्त पार्दै गणतन्त्र स्थापित गरिएको थियो । तर, यसको ठीकविपरीत राजतन्त्रको विकल्प आफू बन्ने होडबाजी र त्यसका लागि वातावरण बनाउने काम दलबाटै भएको देख्न सकिन्छ । त्यसैले दलभित्र जुन किसिमको प्रजातान्त्रिक मूल्यमान्यतामा आधारित प्रतिस्पर्धा हुनुपर्ने थियो त्यो निषेधित हुँदै गइरहेको छ । 

दलगत राजनीतिका माध्यमबाट शासकीय भूमिकामा पुगेको नेता सबै नागरिकप्रति जबाफदेही बन्दै सबैलाई एकनासको व्यवहार गर्नुपर्नेमा ऊ आफ्नै दलका पनि अधिकांश कार्यकर्ताप्रति असहिष्णु देखिन्छ । परिणामस्वरूप सेवासुविधाको बाडफाँटको क्रममा पनि सक्षम र उत्कृष्ट व्यक्तिको खोजी हुनाको साटो आफ्नो गुटको सदस्यलाई मात्र भरणपोषण गर्ने गरेको पाइन्छ ।  छात्रवृत्तिमा विद्यार्थी विदेश पठाउँदा होस्, म्यानपावरमार्फत राम्रो ठाउँमा श्रमिक पठाउँदा होस्, राज्यका विभिन्न निकायमा नियुक्ति दिँदा होस् वा लाभका विभिन्न पद तथा अवसर प्रदान गर्दा सबैतिर गुटकै मान्छेको खोजी भएको पाइन्छ । 

यसरी हरेक कुराका लागि गुटकै मान्छेको खोजी गर्ने र आफ्नै दलका फरक मत राख्ने कार्यकर्तालाई पनि देखिनसहने नेतृत्वको प्रवृत्तिले जनमानसमा एउटा महत्त्वपूर्ण प्रश्न उब्जाएको छ – के यति संकीर्ण मानसिकता बोकेको नेतृत्वले देश र जनताको कल्याणका लागि केही गर्न सक्ला ?

सँगसँगै अरु प्रश्न पनि उठ्छन् – दलभित्र वैचारिक बहसलाई निषेध गरेर निर्वाचनलाई मात्र प्रमुखता दिनुको तात्पर्य के हो ? के नेपाली कांग्रेस वर्तमान राजनीतिक परिवेशप्रति अनभिज्ञ र उदासिन बन्न खोजेको हो ? के नेपाली कांग्रेसलाई राष्ट्रिय राजनीतिमा वैचारिक अगुवाइको आवश्यकता बोध नभएको हो ? राष्ट्रिय राजनीतिमा जुनसुकै विचार स्थापित भए पनि कांग्रेसले सत्ताप्राप्ति मात्र आफ्नो लक्ष्य बनाएको हो ? के गुटगुटबीचको लडाइँ र दलीय अस्तित्वको समाप्तितिरको यात्राको प्रमुख कारण सत्ता राजनीति नै हो ? हो भने, पक्कै पनि यो सामान्य नागरिकका लागि समेत सह्य हुनेछैन । किनभने कांग्रेस नेपाली जनताले स्थापना गरेको देशको पुरानो पार्टी हो । अझै पनि यो पार्टीमार्फत बीपीले नेपाली समाजलाई बाँडेका सपना पूरा भइसकेका छैनन् ।

प्रजातन्त्र आए पनि केही सीमित हुनेखाने वर्गका लागि मात्र आएको छ । सामान्य नागरिकले प्रजातान्त्रिक व्यवस्थाबाट प्राप्त हुने आधारभूत कुराहरू स्वतन्त्रता र समानता पनि प्राप्त गर्न सकेका छैनन् । जो बलियो छ उसले मात्र शासन गरेको छ । कमजोर वर्ग अझै पनि शासित नै छ । उपेक्षित छ । जनताको स्वार्थलाई केन्द्रमा राखेर शासकीय भूमिका निर्वाह गरिएको छैन । सत्तरी वर्षअघिदेखिका समस्या अझै समाधान हुनसकेका छैनन् । अशिक्षा, बेरोजगारी, गरिबी, असमानता आदिको दुश्चक्रभित्र नेपाली जनता पिरोलिइरहेकै छन् । नेतृत्व तहमा विपन्नतम नागरिकको प्रतिनिधित्व भएको पाइँदैन । राज्यसत्ता अझै पनि ठेकेदार, व्यापारी, उपल्लो वर्गका कर्मचारी, कालाबजारी, दलाल, गुण्डा आदिकै कब्जामा देखिन्छ । 

वर्तमान परिवेशमा सम्पन्न हुँदैगरेको नेपाली कांग्रेसको महाधिवेशनको सान्दर्भिकता राष्ट्रिय राजनीतिको यो वस्तुगत यथार्थसँग जोडिन नसक्नु र नेतृत्व हस्तान्तरणलाई मात्र प्रमुख विषय बनाइनु आफैँमा अनौठो एवम् अस्वाभाविक देखिएको छ । कांग्रेसलाई राष्ट्रनिर्माण एवम् परिवर्तनको संवाहकका रूपमा स्थापित गर्ने हो भने पार्टीका नेताहरुले गुटगत राजनीतिलाई निस्तेज पार्दै पार्टीभित्र सहकार्य, सहअस्तित्व र कार्यगत एकताको वातावरण सिर्जना गर्नु आवश्यक देखिन्छ ।

गुटलाई हैन पार्टीलाई बलियो बनाउनु उपयुक्त हुन्छ । अधिवेशनलाई नेतृत्व चयनका लागि मात्रै होइन सबै विचार समूहलाई दलीय संरचनाभित्र उपयुक्त स्थान दिँदै बहस र छलफलका माध्यमबाट राष्ट्रिय अतर्राष्ट्रिय मुद्दाहरूमा सामूहिक एवं सर्वस्वीकार्य दृष्टिकोण दिन सक्नुपर्छ । सत्तालाई केन्द्रमा राखेर बहस र छलफलको ढोका बन्द गरिएमा केही समय सत्ताभोग त गर्न सकिएला तर दल भने असान्दर्भिक संगठन अर्थात् जोसुकै शक्तिकेन्द्रले जति बेला पनि प्रयोग गर्न सक्ने व्यक्तिहरूको झुन्ड बन्ने निश्चित छ । नेपाली कांग्रेसले पटकपटक पाएको अपार जनमत र जनविश्वासलाई सम्मान गर्दै राष्ट्रलाई सकारात्मक योगदान गर्ने हो भने सबैभन्दा पहिला दलभित्रको गुटगत विकृति समाप्त गर्नु आवश्यक छ । 

‘सबै अट्ने देश, सबैलाई जोड्ने कांग्रेस’को मूल नारा विभिन्न उमेदवारहरूले आफ्ना पोस्टर पम्प्लेटहरूमा उल्लेख गरेको पाइन्छ । यो अत्यन्तै सान्दर्भिक पनि छ । त्यसलाई व्यवहारमा उतार्न पनि समग्र पार्टी रुपान्तरित एवम् बलियो हुनु आवश्यक हुन्छ । कांग्रेस एकजुट हुन सकेन अर्थात् गुटभन्दा दल बलियो हुन सकेन भने नारामा भने जस्तै ‘सबै अट्ने देश, सबैलाई जोड्ने कांग्रेस’ बन्नेछैन । बरु, ‘सबै अट्ने देश, आफ्नाबाहेक अरु कोही नअट्ने कांग्रेस’ बन्ने निश्चित प्रायः छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २२, २०७८  १०:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro