
काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निकट भविष्यमा हुने तीनै तहको निर्वाचनमा केन्द्रीत हुन नेता, कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । बिहीबार नेपाली कांग्रेसको प्रथम प्रदेश अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै देउवाले केही महिनाभित्रै स्थानीय तहको र एक वर्षभित्र संघ र प्रदेशको निर्वाचन हुने भन्दै पार्टीको अधिवेशन लगत्तै चुनावतर्फ केन्द्रित हुन निर्देशन दिएका हुन् ।
उनले पार्टीभित्रको आन्तरिक चुनावमा हार, जित स्वाभाविक प्रक्रिया र लोकतान्त्रिक अभ्यास भएको भन्दै आगामी दिनमा जनताको विश्वास जित्नेगरी चुनावमा केन्द्रित हुन आग्रह गरे ।
"हामी केही महिनाभित्रै स्थानीय तहको निर्वाचन, एक वर्ष भित्र संघ र प्रदेशको निर्वाचनमा जादैछौँ । त्यसैले पनि अधिवेशनलगत्तै हाम्रो ध्यान चुनावतर्फ केन्द्रीत हुनुपर्दछ । हाम्रा आन्तरिक चुनावमा हुने जित, हार एउटा स्वाभाविक प्रक्रिया हो । लोकतान्त्रिक अभ्यास हो । त्यसैले तपाईंहरूले आन्तरिक प्रतिस्पर्धालाई लोकतान्त्रिक अभ्यासको रूपमा लिएर आगामी दिनमा जनताको विश्वास जित्नेगरी चुनावमा केन्द्रित हुनुहुनेछ भन्ने मैले विश्वास लिएको छु," देउवाले भने ।
देउवाले प्रदेश अधिवेशनमा नेपाली कांग्रेसलाई थप सशक्त र बलियो बनाएर जनताको मन जित्ने रणनीति बनाउने विषयमा पनि छलफल गर्न आग्रह गरे । उनले लोकतन्त्र बलियो भएमात्रै मुलुक समृद्ध हुने भन्दै विकास र समृद्धिको नेतृत्व नेपाली कांग्रेसले मात्रै गर्नसक्ने दाबी गरे ।
