पोखरा । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पदबाट राजीनामा दिनुपर्ने न्यायाधीश र कानुन व्यवसायीको मागप्रति पोखरामा पनि ऐक्यबद्धता जनाइएको छ । आज उच्च अदालत पोखरा र जिल्ला अदालत कास्की परिसरमा कानुन व्यवसायीहरुले धर्ना दिएका हुन् ।
न्यायपालिकाको विकृति, विसंगति, भ्रष्टाचारविरुद्ध कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले पछिल्लो समय अभियान नै चलाएको छ । बारको उक्त आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै पोखरामा पनि बिहान ११ देखि मध्याह्न १२ बजेसम्म धर्ना दिइएको हो ।
न्यायपालिकाको गरिमा कायम राख्न नसक्ने विवादित प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने हातमा कालोपट्टी, मुखमा कालो मास्क लगाएर उनीहरूले जिल्ला अदालत र उच्च अदालत परिसरमा धर्ना दिएका हुन् । आइतबारदेखि आन्दोलनलाई देशव्यापी बनाउँदै जाने बारको निर्णयानुसार धर्ना थालिएको अधिवक्ता नारायण पौडेलले जानकारी दिए ।
गएको कात्तिक १४ गतेदेखि प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै बार आन्दोलनमा छ । प्रधानन्यायाधीश जबरामाथि विवादास्पद फैसला गरेको, संवैधानिक नियुक्ति र कार्यपालिकामा हिस्सा खोजेको, न्यायालयभित्र भ्रष्टाचारलाई प्रश्रय दिएको, बिचौलियासँग साँठगाँठ गरेकोलगायत गम्भीर आरोप लगाइएको छ ।