काठमाडौं । सन् २०१६ को विश्वकप क्रिकेटमा पहिलो पटक प्रतिस्पर्धा गरेका अफगानिस्तान र स्कटल्यान्ड आज दोस्रो पटक विश्वकप क्रिकेटमा भेट गर्दैछन् ।
समूह चरणमा तीन खेल खेलिसकेको स्कटल्यान्डले आफ्नो सुपर–१२ को पहिलो प्रतिस्पर्धी पाउँदैछ ।
समूह चरणमा स्कटल्यान्डले तीनवटै खेलमा सहज जित निकालेको थियो । पहिलो खेलमा बंगलादेशलाई हराएर प्रतियोगिताको सुखद सुरुवात गरेको स्कटल्यान्डले दोस्रो खेलमा पपुवान्युगिनी (पीएनजी) र अन्तिम खेलमा ओमानलाई हराएको थियो ।
यता, बलियो टोली अफगानिस्तान आजको खेलमा स्कटल्यान्डलाई सहजै पराजित गर्ने योजनामा छ । हालसम्मको टी–ट्वान्टी क्रिकेटको इतिहास हेर्दा स्कटल्यान्डले अफगानिस्तानलाई हराउन सकेको छैन ।
टी–ट्वान्टी अन्तर्राष्ट्रियमा हालसम्म अफगानिस्तान र स्कटल्यान्डबीच ६ पटक प्रतिस्पर्धा भएको छ ।
जसमा अफगानिस्तानले सबै खेलमा सहज जित निकालेको छ । विश्वकप क्रिकेटमा भने दुई टोलीबीच एकपटक मात्र भेट भएको छ ।
जुन खेलमा अफगानिस्तानले १४ रनको जित निकालेको थियो । त्यसैले आजको खेलमा अफगानिस्तान सहज जितको खोजीमा हुनेछ । यता, स्कटल्यान्ड अफगानिस्तानविरुद्ध पहिलो जित निकाल्ने योजनामा हुनेछ ।