काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी बैठक सकिएको छ । बुधबार पार्टी कार्यालय बालकुमारीमा बसेको बैठकमा कार्यकारिणी सदस्यहरूले मन्त्रीको टुंगो लगाउने जिम्मा शीर्ष नेतृत्वलाई दिएका छन् ।
कार्यकारिणी सदस्य गंगानारायण श्रेष्ठका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा जाने मन्त्रीहरूको टुंगो लगाउने जिम्मा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईले पाएका छन् ।
आजको बैठकमा सदस्यहरूले मन्त्री बन्नका लागि आवश्यक मापदण्डको बारेमा नेतृत्वलाई सुझाव दिएका थिए । नेता श्रेष्ठका अनुसार मन्त्री पठाउँदा समावेशीतामा ध्यान दिन नेतृत्वको ध्यानाकर्षण गराइएको छ । “समावेशी बनाउन लैंगिक, उमेर, समुदाय आदि विषयहरू ध्यान दिन हामीले नेतृत्वलाई भनेका छौँ,” उनले बाह्रखरीसँग भने, “अब निर्णय गर्ने जिम्मा तीन नेताहरूको हो ।”
जसपाले चार मन्त्रालय पाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, कृषि, सहकारी तथा गरिबी निवारण, संघीय मामिला तथा सामान्य प्रशासन र वन तथा वातावरण मन्त्रालय जसपाको भागमा परेको हो ।
मन्त्री छान्न जसपाका तीन शीर्ष नेताको बैठक जारी छ ।