काठमाडौं । विवेकशील साझा पार्टी फेरि फुटको संघारमा पुगेको छ ।
अध्यक्ष रवीन्द्र मिश्रले एकताको भावना र विधानको व्यवस्थाविपरीत बैठक बोलाएको भन्दै मिलन पाण्डे पक्षले बैठक रोक्न र समझदारीमा बैठक डाक्न आग्रह गरेको थियो । तर, उनीहरूको आग्रहलाई बेवास्ता गर्दै मिश्रले बैठक बोलाएपछि बुधबार पत्र नै काटेर पाण्डेले छुट्टै बैठक डाकेका हुन् । समानान्तर बैठक सुरु भएसँगै विवेकशील साझा पार्टी पुनः फुटको नजिक पुगेको हो ।
विवेकशील साझा पार्टीका सञ्चार तथा सूचना प्रविधि विभाग प्रमुख प्रकाशचन्द्र परियार पार्टी फुट भन्न मिल्ने अवस्था नभए पनि यसले फुटलाई मलजल भने गर्ने बताउँछन् ।
“यस्ता गतिविधिले पार्टीको एकतालाई सहयोग पुर्याउँदैन, बरु फुटलाई मलजल गर्छ,” परियारले भने, “त्यसैले यो विषयलाई आन्तरिक रूपमा सम्बोधन गर्ने प्रयास भइरहेको छ ।” उनले पार्टी एकता जोगाउन केही नेताहरू लागिरहेको जानकारी दिए ।
तर, विवेकशील साझा पार्टीका संयोजक पाण्डेले भने मिश्रले विधान उल्लंघन गरेको र सच्याउने प्रयास गर्दा पनि अटेर गरेको भन्दै छुट्टै बैठक बोलाइसकेका छन् ।
“विधानको दफा २० (१०) अनुरूप यसअघि केन्द्रीय अध्यक्ष र केन्द्रीय संयोजकको सहमतिमा बैठक बोलाउने एवं एजेन्डा तय गरिने गरिएको व्यहोरा यहाँमा अवगत नै छ,” पाण्डेको बैठक आह्वानपत्रमा लेखिएको छ, “यसपटक पनि उक्त अभ्यासानुरूप एजेन्डामा सहमति कायम गर्न गरिएको हरसम्भव प्रयास सफल हुन नसकेको र पार्टीका अध्यक्षले उहाँकै शब्दमा ‘मार्ग परिवर्तन’ गर्नुभएको कारण पार्टीलाई लामो समयसम्म अनिर्णयको बन्दी बनाउन उचित नदेखिएको हुँदा पार्टी विधानकै दफा ६१ (३) ले केन्द्रीय संयोजकलाई दिएको अधिकार प्रयोग गरी देहायको मिति, समय र स्थानमा विवेकशील साझा पार्टीको केन्द्रीय समितिको बैठक आह्वान गरेको छु ।”
कोरोना महामारीको जोखिमका कारण भन्दै भर्चुअल बैठक आह्वान गरेका पाण्डेले बैठकका लागि ११ बुँदे एजेन्डा तय गरेका छन् । बैठक सञ्चालन कार्यविधि पारित गर्ने, विधान कार्यदलले पेस गरेको पार्टीको विधान मस्यौदामाथि छलफल गरी पारित गर्ने, न्याय तथा सुशासन आयोगको गठन, वैकल्पिक पाठशालाको स्थापनासहितका एजेन्डा बनाएका पाण्डेले पार्टीमा देखिएको वैचारिक विचलन र आगामी कार्यदिशाबारेको छलफललाई प्रम्ख मुद्दा बनाउन लागेका छन् ।
विवेकशील नेपाली र साझा पार्टी मिलेर विवेकशील साझा पार्टी बनेको हो । तर, विवेकशील साझा पार्टी बनेको केही समयमा फुटेर दुई टुक्रा भएको थियो । फुटपछि साझा पार्टीका केही व्यक्तिले विवेकशील नेपालीका संस्थापक उज्ज्वल थापाको चरित्र हत्या गर्ने प्रयास गरेको विवेकशील नेपाली पक्षका नेताहरू बताउँछन् । बीचमै फुटे पनि शुभेच्छुकहरूबाट तीव्र आलोचना भएपछि दुवै दलका नेताहरूले शुभेच्छुकसँग माफी माग्दै गत वर्ष पुनः एकता गरेका थिए । तर, त्यो पार्टी पुनः फुटको संघारमा पुगेको छ ।
स्व. उज्ज्वल थापाले राजनीतिमा वैकल्पिक शक्ति निर्माण गर्ने भन्दै विवेकशील नेपाली पार्टी बनाएका थिए । विवेकशील नेपाली नामको गैरसरकारी संस्थामार्फत अभियान थालेपछि सामाजिक सञ्जालमा एउटा सशक्त समुह बनाउन सफल भएका थापाले त्यही समूहलाई पछि पार्टीमा रूपान्तरण गरेका थिए ।
सामाजिक सुधारका काममा अभियान चलाउने र भ्रष्टाचार र अनियमिताविरुद्ध आवाज उठाउने कामले नागरिकमा विश्वास आर्जन गरेको विवेकशील पार्टी र बीबीसी नेपाली सेवाको जागिर छोडेपछि रवीन्द्र मिश्रले खोलेको साझा पार्टीबीच स्थानीय तहको निर्वाचनमा गठबन्धन भएको थियो । दुवै दल वैकल्पिक राजनीतिको बाटो समाउने हो भने एकता गर्नुस् भन्ने शुभचिन्ताको सुझाव र दुई दलका नेताहरूबीचको चाँडै शक्ति आर्जन गरी राजनीतिक प्रभाव देखाउने मोहका कारण दुई पार्टीबीच एकता भएको थियो । तर, एकता भएको छोटो समयमै उनीहरूबीच फुट आएको थियो ।
फुटपछि विवेकशील नेपालीतर्फकाले विवेकशील पार्टी गठन गरेका थिए भने मिश्रको साझा पार्टीले निरन्तरता पाएको थियो । तर, पछि फुटेर वैकल्पिक शक्ति निर्माण हुँदैन, वैकल्पिक राजनीति गर्छौँ भन्नेले परम्परागत दलकै प्रवृत्ति देखाएको भन्दै आलोचना भएपछि दुई दलबीच पुनः एकता भएको थियो । त्यो एकतामा सन्तुष्ट नभएका विवेकशील नेपालीका संस्थापक अध्यक्ष उज्ज्वल थापा भने एकता प्रक्रिया बहिष्कार गरेर बसेका थिए ।